बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • आइटीका मास्टरमाइन्ड : तर, चरित्रहत्या र ब्ल्याकमेलका ‘पसल’

आइटीका मास्टरमाइन्ड : तर, चरित्रहत्या र ब्ल्याकमेलका ‘पसल’

  • सोमवार, अशोज १९, २०७७
आइटीका मास्टरमाइन्ड : तर, चरित्रहत्या र ब्ल्याकमेलका ‘पसल’

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई पत्नीलाई ‘डेढ लाख घुस दिनुपर्ने’ भन्दै कुरा भएको म्यासेज च्याटले निकै ठुलो हलचल मच्चियो । भट्टराई पत्नी बिन्दा घिमिरे नर्सिङ काउन्सिलकी रजिष्टार हुन् । बिन्दा घिमिरेलाई घुस दिनुपर्ने भन्दै नर्सिङ काउन्सिलकी सदस्य जिता बराल र परिक्षार्थी नर्ससँगको कुराकानीको स्क्रिनसट नै बाहिरियो । अनि, मन्त्री भट्टराईले मुख खोले । भट्टराईले त्यतिवेला भनेका थिए–‘कुनै गल्ती गरिएको छैन्, कोही भ्रममा नपर्नुहोला ।’

०७६ फागुनमा भाइरल सो च्याटको वास्तविकता बल्ल खुलेको छ । सो च्याट न जिताले गरेकी थिइन् । बिन्दाले ‘घुस’ डिल गर्न मान्छे खटाएकी पनि होइनन् । आइटी (इन्फर्मेसन्ट टेक्नोलोजी) मा मास्टर्स गरेका जुम्ला कनकासुन्दरी–७ घर भएका पसल रोकायाले आफ्नो विज्ञताको दुरुपयोग गरेपछि सो समस्या सिर्जना भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २६ वर्षीय रोकायालाई दार्जिलिङबाट पक्रेर काठमाडौं ल्याएसँगै पूरानो ‘भाइरल च्याट’को वास्तविकता खुलेको हो । बैंगलोर युनिभर्सिटीबाट आइटीमा स्नातकसम्मको पढाई पुरा गरेका पसलले दुई जनाको च्याट आफैं बनाएर सो कुराकानी समाचारको रुपमा प्रकाशन गर्थे ।

‘फरक व्यक्तिको च्याट आफैं बनाएर कर्णाली अवाज डटकममा प्रकाशन गर्ने र बद्नाम गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले भने– ‘कर्णाली एचडी नामको फेसबुक पेज र युट्युव च्यानलबाट गलत भिडियो प्रशासन गरेर चरित्र हत्या गरेर ब्ल्याकमेलिङ गरेको देखिन्छ ।’

निशानामा नर्स

आईटीका मास्टरमाईन्ड पसलले आफ्नो विज्ञताको दुरुपयोग गरेर ठगी धन्दा चलाएका थिए । उनको निशानामा सवैभन्दा धेरै नर्सिङ पढेकाहरु पर्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । सिटिइभिटी तथा नर्सिङमा नाम निकाल्दिन्छु भनेर उनले धेरै नर्सलाई यौन दुर्व्यहार समेत गरेको खुलेको छ । यौन दुर्ब्यवहार गर्ने अनि, सो भिडियो बनाएर फेरि ब्ल्याकमेलिङ गर्थे पसल रोकाया ।

बर्दिया घर भएकी रिया (नाम परिर्वन) लाई नर्सिङ काउन्सिलको परीक्षामा ‘पास गराइदिन्छु’ भनेर उनले ७० हजार मागे । ‘कन्फर्मेशन’ बिना पैसा नदिने भनेपछि उनले रियाको फोटो राखेर नक्कली फेसवबुक आइडी बनाए । उनको फोटो सम्पादन गरेर चरित्र हत्या गर्न थाले । रियाले पसल बिरुद्ध काठमाडौं प्रहरीमा उजूर गरिन् । प्रहरीले साइबर अपराध शीर्षकमा सो मुद्धा दर्ता गरेपछि उनी लुक्न थालेका थिए ।

सिटिइभिटीको परीक्षा पास गराइदिन्छु भनेर पसलले अर्का एक जनासँग ७० हजार ठगेका छन् । जागिरको लोभ देखाएर नर्सिङ पढेकाहरुलाई ‘फिसिङ’ गर्थे, अनि ब्ल्याकमेल । उनी पुरुषसँगचाहिं चरित्रहत्या गरेर पैसाको बार्गेनिङ गर्थे । ‘जिल्ला विकास समिति कालिकोटमा ईन्जिनियरले भ्रष्टाचार गरेपछि कालोमोसो’ शीर्षकमा आफ्नो युट्युव च्यानलमा पोष्ट गरे । चरित्रहत्या गर्नकै लागि त्यसरी पोष्ट गरिएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

कत्तिपय पुरुषलाई ‘तिम्रो श्रीमतीसँग बिहेअघि मेरो सम्बन्ध थियो, भगाइदिन्छु’ भनेर प्रताडित बनाउने गरेका थिए । काठमाडौं प्रहरीले उनलाई यसअघि पनि दुईपटक पक्रेर मुद्धा चलाएको थियो । विद्युतिय माध्यमबाट गलत पोष्ट गरेर मानसिक यातना दिएको र चरित्र हत्या गरेको मुद्दामा पसल धरौटीमा छुटेका थिए ।

सुर्खेतस्थित शुभलक्ष्मी अस्पतालका अध्यक्ष पनि हुन् पसल । पसलले सो अस्पतालमा १० प्रतिशत लगानी पनि गरेका छन् । सो अस्पतालको अध्यक्षको आवरणमा उनले नर्सलाई आफ्नो सम्पर्कमा ल्याउँथे । नर्सिङ काउन्सिलका पदाधिकारी र जाँच दिएकी नर्सको नक्कली आइडी बनाएर दुवैतर्फबाट ‘म्यासेज कुराकानी’ गरेको फोटो उनले कर्णाली आवाज डटकममा छापेका थिए । काउन्सिलकी रजिष्टार बिन्दा घिमिरेको नाम जोडिएपछि सो ‘च्याट कुराकानी’ ले हलचल मच्चायो ।

नर्सिङ क्षेत्रमा पैसा ठग्न सकिने देखेपछि पसलले भर्खरै ‘संविधान’ नामको कलेज दर्ता गरेका छन् । त्यहाँ नर्सिङ, हेल्थ असिस्टेन्ट र फार्मेसीको पढाई हुने भन्दै विज्ञापन गर्न थालेको महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत एक अधिकृतले रातोपाटीलाई बताए ।

हाइलेभल टच गर्न थालेपछि पक्राउ

दुई पटकसम्म साइबर मुद्धा खेपेर धरौटीमा छुटेका पसलले पछिल्लो समय उच्च पदस्थ सरकारी कर्मचारीसँगको ‘नक्कली च्याट’ सार्वजनिक गर्न थाले । सो च्याटको दुरुपयोग गरेर ठगी गर्न थालेपछि प्रहरीका लागि उनी चुनौति बन्दै थिए । निजामती कर्मचारी संगठनका अध्यक्ष जीवन भण्डारीले ‘सरुवाको लागि ब्ल्याकमेल गरेको प्रमाण, भिडियो हेरौं’ भन्दै कर्णाली एचडीमा पोष्ट गरे । भण्डारीलाई ‘बलात्कारी’ जस्तो गम्भिर आरोप लगाएको उजुरी परेपछि प्रहरीले उनको खोजी गर्न थाल्यो ।

आफुलाई खोजेको थाहा पाएपछि पसल दार्जिलिङतिर लागे । तर, पुलिसलाई झुक्याउन उनले पोखराबाट काठमाडौं आउने बुद्ध एयरको टिकट अपलोड गरे । बिन्दावासिनी दर्शन गरेको फोटो र सक्कली टिकट फेसबुकमा पोष्ट गरे । अनुसन्धानमा संलग्न प्रहरीलाई झुक्याउन पसलले ‘बुद्धको टिकट क्यान्सिल गरेर यति एयरमा काठमाडौं आएँ’ भनेर पनि पोष्ट गरेका थिए । ‘प्रहरीलाई झुक्याउन उनले त्यसो गरेका थिए’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने–‘आईटीमा उनी एकदमै सार्प छन् ।’

सिटिइभिटीले निकाल्ने रिजल्ट उनी पहिल्यै हेर्थे । चरित्रहत्या गरेको र ब्याकमेल गरेको भन्दै उनीबिरुद्ध अहिलेसम्म ७ जनाले जाहेरी दर्ता गराएको प्रहरी उपरीक्षक राठौरले बताए । ठगी र ब्ल्याकमेलको पसल नै चलाएका रोकाया जिल्ला प्रहरी कार्यालय सुर्खेतका पनि फरार आरोपी हुन् ।

चार महिनादेखि भारत बस्न थालेका उनले ‘भारतीय आधारकार्ड’ लिइसकेको उनीबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले बताए । फेसबुकमा फेक एकाउण्ट बनाएर पीडित र हाइप्रोफाईल दुवै पक्षको च्याट सार्वजनिक गर्ने अनि, ब्ल्याकमेलको धन्दा चलाउने ‘सार्प माइन्डर’ पसल अहिले प्रहरीको खोरमा छन् ।राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार