शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • पृथ्वीमा रित्तिँदैछ सुनको भण्डार ! के होला भविष्यमा ?

पृथ्वीमा रित्तिँदैछ सुनको भण्डार ! के होला भविष्यमा ?

  • मङ्लबार, अशोज १३, २०७७
पृथ्वीमा रित्तिँदैछ सुनको भण्डार ! के होला भविष्यमा ?

सुनका गहना किन्ने बेलामा के तपाईंले त्यो सुन कहाँबाट आउँछ होला ? भनेर कहिल्यै सोँच्नुभएको छ ? के दुनियामा सुनको आपूर्ति अनन्तकालसम्म होला ? वा यो कुनैबेला सकिएला ?

अघिल्लो महिना विश्व बजारमा सुनको मूल्यले कीर्तिमान कायम गर्यो । सुनको प्रति औँस झण्डै २ हजार डलर पुग्यो ।सुनको मूल्य बढ्नुका पछाडि सुन कारोबारीहरुको हात थियो । तर कारोबारीहरुको भूमिका मात्र होइन अब सुनको आपूर्तिलाई लिएर पनि चर्चा हुन थालेको छ । अहिले प्रश्न उठ्दैछ कि कतै भविष्यमा सुन पाइनै छाड्ने त होइन ?

पिक गोल्डको अवधारणा

सुनको व्यापक कारोबार गहना मात्र नभई खासगरी लगानीका लागि स्टेट्स सिम्बोलको रुपमा र कैयन् इलेक्ट्रोनिक्स प्रडक्टहरुमा समेत प्रयोग गरिन्छ ।

विज्ञहरु पिक गोल्डको अवधारणाका बारेमा पनि कुरा गर्दछन् । अघिल्लो एक वर्षमा विश्वमा मानिसहरुले आफ्नो पूर्ण क्षमतामा सुन उत्खनन गरेका छन् । अर्थात् पृथ्वीमा सुनको प्राप्तिको त्यो नै उच्चतम विन्दु हो ।

विश्व सुन परिषदका अनुसार सन् २०१९ मा सुनको कूल उत्पादन ३५३१ टन थियो, जुन सन् २०१८ को तुलनामा १ प्रतिशत कम हो । सन् २००८ पछि सन् २०१९ मै विश्वमा पहिलोपटक सुन उत्पादनमा कमी आएको हो ।

विश्व सुन परिषदका प्रवक्ता हेना ब्रेन्डेस्टर भन्छिन्, ‘खानीबाट हुने सुन उत्खननमा आइरहेको छ र आगामी केही वर्षमा अझै कम हुनसक्छ । किनकी अहिले जुन सुनखानीहरु छन् त्यसको पूर्णरुपमा प्रयोग भैरहेको छ र नयाँ खानीहरु अहिले कममात्रै भेटिएका छन् । तर सुनको उत्पादन अहिले नै सर्वोच्च विन्दुमा पुग्यो भनेर भनिहाल्नु हतार हुन सक्दछ ।’

जानकारहरुका अनुसार यदि सुन उत्पादनको उच्चतम विन्दु अर्थात् पिक गोल्डको अवस्था आइहालेमा पनि तत्कालै सुनको उत्पादन उल्लेख्य रुपमा कम हुने भन्ने हुँदैन । यस्तो गिरावट विस्तारै विस्तारै केही दशकमा देखा पर्नेछ ।

मेटल्सडेली डटकमका रोस नर्मन भन्छन्, ‘खानी उत्पादन स्थिर भएको छ । यसमा गिरावट देखिन थालेको छ, तर तीव्र ढंगले होइन ।’

आखिर सुन कति छ ?

विज्ञहरुका अनुसार सुनको उत्खनन महँगो र कठिन हुँदै गएको छ । सजिलो र किफायतीपूर्वक उत्खनन गर्न सकिने दक्षिण अफ्रिकी सुनखानीहरु चाहिँ रित्तिँदै गएका छन्
खानी कम्पनीहरुले जमिनमुनि रहेको सुनको दुई तरिकाबाट आँकलन गर्दछन्, त्यसमा पहिलो रिजर्भ सुन हो । यो त्यस्तो भूमिगत सुन हो, जसको उत्खनन गर्नु आर्थिक रुपमा सम्भाव्य हुन्छ । र दोश्रो स्रोत सुन हो । यस्तो सुन तत्कालै निकाल्नु आर्थिक रुपमा निकै महँगो पर्दछ र त्यो भविष्यका लागि साँच्नु नै श्रेयष्कर र किफायती हुन्छ ।

अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार पृथ्वीमा जमिनमुनि अझैपनि ५० हजार टन सुन बाँकी छ । अहिलेसम्म १ लाख ९० हजार टन सुन उत्खनन गरेर निकालिसकिएको छ ।

कतिपय तथ्यांक अनुसार पृथ्वीमा अझैपनि २० प्रतिशत सुन बाँकी नै छ । तर तथ्यांकहरु परिवर्तन भैरहेका छन् । नयाँ प्रविधिको सहयोगले केही नयाँ सुनका स्रोतहरु पनि फेला पर्न सक्दछन् । तर त्यो तत्कालै उत्खनन गर्नु महँगो पर्नेछ ।

आर्टिफिसियल इन्टेलिजेन्स, स्मार्ट माइनिङ तथा बिग डाटा जस्ता नयाँ तथ्यांकको मद्दतले सुन उत्खननको खर्च कम गर्ने प्रयास गरिँदैछ । कतिपय ठाउँमा रोबोट समेत प्रयोग गर्न थालिएको छ ।

दक्षिण अफ्रिकाको विटवाटर्सर्याण्ड विश्वमा सुनको सबैभन्दा ठूलो खानी हो । विश्व बजारमा आउने सुनमध्ये ३० प्रतिशत त्यहीँबाट आउँदछ ।

यद्यपि विश्वमा सबैभन्दा धेरै सुन उत्खनन गर्ने मुलुक चाहिँ चीन हो । त्यसबाहेक क्यानडा, रुस र पेरु पनि सुनका ठूला उत्पादक मुलुक हुन् ।

विश्वमा सुनका नयाँ खानीहरुको खोज जारी रहेको भएपनि फेला पर्ने क्रम निकै कम भएकाले भविष्यमा समेत पुराना खानीकै भर पर्नुपर्ने अवस्था रहेको छ । दुनियाँमा सुन पाइने सम्भावना रहेका तर अहिलेसम्म पनि उत्खनन नगरिएका ठाउँहरु निकै कममात्र छन् । त्यसमध्ये केही क्षेत्र व्यापाक अनिश्चितता व्याप्त रहने अफ्रिकाका पश्चिमी इलाकाहरु पर्दछन् ।

ठूलो मात्रामा उत्खनन गर्नु निकै महँगो पनि पर्दछ र धेरै मेसिन र कामदारको पनि आवश्यकता पर्दछ । विज्ञहरुका अनुसार सुनको उत्खनन महँगो र कठिन हुँदै गएको छ । सजिलो र किफायतीपूर्वक उत्खनन गर्न सकिने दक्षिण अफ्रिकी सुनखानीहरु चाहिँ रित्तिँदै गएका छन् । उता चीनको सुनका खानीहरु स–साना भएको हुँदा त्यहाँ उत्पादित सुन महँगो छ ।

अगष्ट महिनामा सुनको मूल्य उच्चतम स्तरमा पुगेको थियो । तर यसको अर्थ यो होइन कि बढ्दो मूल्यका कारण सुनको उत्खननमा अब तीव्रता आउनेछ । वास्तवमा सुनको उत्पादनको असर उसको मूल्यमा पर्दैन । सुन उत्खननको काम यति विशाल परिमाणमा हुन्छ कि उत्पादनमा हुने धेरथोर परिवर्तनले तत्कालै सुनको मूल्यमा असर पार्दैन ।

सुनको मूल्य बढ्नुमा कोरोना भाइरस महामारीको हात रहेको विज्ञहरुको भनाइ छ ।

धर्तीमा कति सुन बँचेको छ भन्ने कुराको एकिन अन्दाज गर्नु मुस्किल हुन्छ । तर सुन पृथ्वीमा मात्र होइन चन्द्रमामा पनि रहेको छ । तर चन्द्रमामा सुन निकाल्नु र त्यहाँबाट पृथ्वीमा ल्याउनु अति नै महँगो पर्दछ ।

अन्तरीक्षका जानकार सिनेड ओ सुलिभान भन्छन्, ‘चन्द्रमामा सुन त पाइन्छ, तर त्यहाँबाट पृथ्वीमा ल्याउने किफायती हुँदैन ।’

त्यसका अलावा पृथ्वीकै अन्टार्कटिका महादेशमा पनि ठूलो परिमाणमा सुन रहेको तथ्य छ । समुद्रको पिँधको जमिनमुनि पनि सुन पाइन्छ । तर त्यहाँबाट सुन उत्खनन गर्नुपनि आर्थिक रुपमा निकै महँगो पर्दछ ।

पृथ्वीमा सुनको भण्डार रित्तिँदै गएपनि चिन्ता मानिहाल्नुपर्ने अवस्था चाहिँ नहुन सक्दछ । किनकी पहेँलो धातु सुनलाई पुनः प्रयोग तथा पुनचक्रण गर्न सकिन्छ ।

अहिले बिजुलीका उपकरणदेखि लिएर स्मार्टफोनसम्ममा धेरथोर सुनको प्रयोग हुन्छ । भविष्यमा सुन खानीबाट सुन निस्किन कम हुँदै जाँदा यस्ता सामानहरुमा भएको सुनसमेत निकालिनेछ वा आगामी दिनमा त्यस्ता सामानमा सुनको साटो अरु धातुको प्रयोग गरिनेछ । यसले संसारमा सुनको अत्यावश्यकीय आपूर्तिलाई सहज बनाउनेछ ।

–बीबीसीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार