बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचित्र संसार
  • विश्वको अनौठो इतिहास : सेनाले हार्‍यो चरासँगको युद्ध !

विश्वको अनौठो इतिहास : सेनाले हार्‍यो चरासँगको युद्ध !

  • शुक्रबार, अशोज ९, २०७७
विश्वको अनौठो इतिहास : सेनाले हार्‍यो चरासँगको युद्ध !

विश्वको इतिहासमा विभिन्न देश, ठाउँ तथा समुदायका मानिस–मानिस भएका अनेक खालका युद्धहरुका बारेमा त हामीले सुनेकै छौँ । तर दुनियामा एउटा यस्तो युद्ध पनि भयो जहाँ मानिसहरु पक्षीसँग लडाइँ गरे । उक्त रोचक युद्ध सन् १९३२ मा भएको हो ।

प्रथम विश्वयुद्धपछि सेवा निवृत्त भएका केही सैनिकहरुलाई अष्ट्रेलिया सरकारले पुनर्वासका लागि जमिन दिएको थियो । त्यस्तो जमिन अधिकांस पश्चिमी अष्ट्रेलियामा पर्दथ्यो । सरकारले दिएको जमिन पाएसँगै युद्धवीर भुपु सैनिकहरु किसान बने र आ आफ्नो जमिनमा खेती गर्न थाले । तर केही समयपछि नै उनीहरुको बालीमाथि जंगली पंक्षी इमुको झुण्डले आक्रमण सुरु गर्यो । इमु भिमकाय जंगली चरा हो जुन लगभग इमु जस्तै हुन्छ । विनाशकारी इमुको संख्या २÷४ होइन करीब २० हजार थियो ।

इमुको झुण्ड आउने र किसानको बालीनाली सखाप पारेर जाने गर्न थाल्यो । खेती जोगाउनका लागि लगाइएको तारबार समेत इमुले भत्काइदियो ।

इमु आतंक बढेपछि किसानहरुको एक प्रतिनिधिमण्डलले सरकारका प्रतिनिधिलाई भेटेर सहयोगका लागि याचना गर्यो । समस्याको गम्भीरतालाई मध्यनजर गर्दै अष्ट्रेलियाका तत्कालीन रक्षामन्त्रीले इमु विरुद्ध युद्धको घोषणा गरे र युद्ध गर्नका लागि सेनालाई आदेश दिए । तत्कालै मेसिनगन सहित एक सैनिक टुकडी उक्त क्षेत्रमा पठाइयो ।

सन् १९९२ नोभेम्बर २ तारखेको दिन थियो त्यो । सरकारी सेनाले इमुको झुण्डमाथि धावा बोल्यो र सुरुमा इमु भगाउने प्रयास गर्यो तर असमर्थ भए । त्यसपछि उनीहरुले एकठाउँमा जम्मा भएका ५० वटा इमुको माथि मेसिन गनले आक्रमण गर्ने योजना बनाए । जब सेनाले आक्रमणका लागि बन्दुक तेर्साएका मात्र के थिए इमुको झुण्डले पत्तो पाइहाल्यो र तत्कालै कुँदेर जंगलभित्र अलप भयो ।

४ नोभेम्बरका दिनपनि यस्तै भयो । सैनिकहरुले झण्डै १ हजारको संख्यामा रहेका इमुको विशाल झुण्ड फेला पारे । उक्त झुण्डमाथि आक्रमणका लागि जब फायर खोल्न थालियो तब मेसिनगन जाम भयो । मेसिनगन मर्मत गरेर भ्याइसक्दा सम्म अधिकांश इमु त्यहाँबाट भागिसकेका थिए । तथापि सैनिकहरु १२ वटा इमु मार्न सफल भए । उक्त घटनापछि इमु निकै सतर्क भए । सैनिकको आक्रमणबाट बँच्नका लागि इमुहरु स साना समूहमा बाँडिए र आक्रमण हुनसक्ने तर्फ निकै सचेत भए । सैनिकको आक्रमणबाट बँच्दै र भाग्दै उनीहरुले बालीनाली खुब सखाप पारे । तर सैनिकहरु इमुलाई मेसिनगनबाट सोत्तर मार्ने अभियानमा असफल बने ।

६ दिनसम्म चलेको उक्त कारवाहीका क्रममा सैनिकहरुले करीब २५ सय राउण्ड फायर गरे । तर २० हजार इमुमध्ये केवल ५० वटा इमुमात्र मार्न सफल भए ।

त्यसैबीच इमु मार्नका लागि हतियारधारी सेना नै खटिएको उक्त समाचार अष्ट्रियामा देशव्यापी बन्यो । सञ्चारमाध्यमहरुमा निकै चर्चा भएसँगै सरकारको ठूलो आलोचना भयो । त्यसपछि सरकारले सेनालाई फिर्ता बोलायो ।

तर जब किसानका खेतमाथि इमुको आक्रमण तीव्र बन्यो तब एकपटक पुनः नोभेम्बर १३ मा सेनाले अर्को अपरेसन सुरु गर्यो । तर अघिल्लोपटक जस्तै यसपटक पनि इमुहरु सेनालाई छल्न सफल भए ।

इमु विरुद्धको लडाइँमा असफल भएसँगै उक्त सैनिक टुकडीका प्रमुखले त्यतिबेला निकै रोचक टिप्पणी गरेका थिए । यदि आफूसँग हतियार चलाउन जान्ने इमुको एउटा डफ्फा हुन्थ्यो भने आफू विश्वका कुनै पनि सैन्यबलको सामना गर्न सक्ने उनको भनाइ थियो । इमुविरुद्धको उक्त असफल युद्धलाई ‘द ग्रेम इमु वार’का नामले चिनिन्छ ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार