मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाचार
  • के हो वीर अस्पतालमा कोरोना संक्रमितको मृत्युपछिको विवाद? यस्तो छ अस्पतालको भनाइ

के हो वीर अस्पतालमा कोरोना संक्रमितको मृत्युपछिको विवाद? यस्तो छ अस्पतालको भनाइ

  • मङ्लबार, अशोज ६, २०७७
के हो वीर अस्पतालमा कोरोना संक्रमितको मृत्युपछिको विवाद? यस्तो छ अस्पतालको भनाइ

कल्पना पौडेल —  वीर अस्पतालले कोभिड १९ संक्रमितको मृत्युपछि शव व्यवस्थापन नगर्दा विवाद उत्पन्न भएको छ। केन्द्रीय कारागारमा रहेका ती संक्रमितको शनिबार राति मृत्यु भएको थियो।

संक्रमितको मृत्युपछि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि’ अनुसार शवको व्यवस्थापन गर्नुपर्ने थियो।
तर अस्पतालले शव व्यवस्थापनमा लापरबाही गर्दा आफन्तले अस्पतालमाथि गम्भीर आरोप लगाएका छन्।

मृतकका आफन्तले संक्रमितको आँखा निकालिएको, घाँटी काटिएको अवस्थामा रहेको, शरीरमा फोका आएको अवस्था रहेको भन्दै हत्याको आरोप लगाएका छन्।

के हो त वास्तविकता ?
वीर अस्पतालका कोभिड–१९ फोकल पर्सन डा अच्युतराज कार्कीले आफन्तले लगाएको हत्याको आरोप गलत भएको बताए। उनले शवलाई एक ठाउँमा राख्दा मृत शरीर सड्न लागेकोले शरीरबाट रगत बग्ने, निलो देखिने समस्या आएको जानकारी दिए।

कोरोना संक्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो।

डा कार्कीका अनुसार उनको आकस्मिक कक्षमा ल्याउँदा नै मृत्यु भइसकेको थियो।

उनले भने, ‘हामीले उहाँलाई जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको जानकारी परिवारलाई दिएका थियौं। सेन्टर जेलबाट आएकाले त्यहाँ कोभिडको धेरै केस भएकाले पिसिआर गर्नुपर्ने भएर असोज ४ गते पिसिआर जाँच गर्न नमुना पठाएका थियौं। ५ गते रिर्पोट पोजेटिभ आएको हो।’

उनले गर्मीका कारण शरीर छिटै बिग्रन लागेको बताए। कोभिड भएका व्यक्तिको शव अन्यले छुन नमिल्ने भएकाले अस्पतालले शव राख्ने स्थानमा राखेको उनले जानकारी दिए।

‘परिवारले बिग्रन लागेको शरीर देखेकाले हत्या गरिएको आंशका गरेको तर त्यस्तो होइन’, उनले भने।

सरकारको कार्यविधि अनुसार अनुसार कोभिड १९ भएको व्यक्तिको मृत्युपछि नेपाली सेनाले शव व्यवस्थापन गर्ने उल्लेख छ। शव व्यवस्थापनको प्रोटोकल पालना गरी सेनाले शव व्यवस्थापन गर्ने भएकाले अस्पतालले संक्रमितको मृत्युपछि सेनालाई जानकारी गराउनुपर्ने थियो।

कार्यविधि अनुसार पानी नछिर्ने एप्रोन, पञ्जा, सर्जिकल मास्क, चस्मा , गम बुट र सुज कभर लगाएको व्यक्तिले शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ।

साथै, आकस्मिक कक्षमा संक्रमितको मृत्यु भएमा मृत्यु प्रमाणपत्र दिने, परिवारका सदस्यहरुलाई शव चलाउन वा छुन नदिने, पिपिई लगाएर शवलाई बडी ब्यागमा राख्ने वा सेतो कपडाले बेर्ने र प्लाष्टिकमा बेर्नुपर्ने उल्लेख छ।

तर, वीर अस्पतालमा उनको शव प्रोटोकल अनुसार नभई लुंगीले मात्र छोपिएको अवस्था रहेको बताइएको छ।

कार्यविधि अनुसार परिवारका सदस्यले शव हेर्न चाहेमा १ मिटर टाढाबाट मात्र देखाउन सकिने उल्लेख छ। तर वीरले उक्त कार्यविधि अनुसार कुनै पनि काम नगर्दा विवाद उत्पन्न भएको हो।

डा कार्की अहिले प्रहरीको रोहबरमा परिवारलाई शव देखाउने कार्य भइरहेको र त्यसपछि सेनाले शव व्यवस्थापन गर्ने जानकारी दिए।

वीर अस्पतालले कोभिड १९ बाट मृत्यु भएका व्यक्तिको शव आकस्मिक कक्षबाट पुरानो आइसियु जाने बाटो रहेको एक कोठामा राख्ने गर्छ। उनको शव पनि त्यही कोठामा एक ट्रलीमा लुंगीले छोपिएको अवस्था रहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार