बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • विश्वभर डाक्टरी पढ्नेलाई उपयोगी बन्यो चितवनका विद्यार्थीले बनाएको एप

विश्वभर डाक्टरी पढ्नेलाई उपयोगी बन्यो चितवनका विद्यार्थीले बनाएको एप

  • बुधबार, भदौ १०, २०७७
विश्वभर डाक्टरी पढ्नेलाई उपयोगी बन्यो चितवनका विद्यार्थीले बनाएको एप

डाक्टर बन्ने अभिलाषा बोकेर चार वर्षअघि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए, नारायणगढका २२ वर्षीय सन्तोष रिजाल।त्यतिखेर उनले आफ्ना लागि १८ हजार रुपैयाँको त किताबै किने।

ठूला–ठूला किताबको ठेली बोकेर कलेज पुग्नु अनि साँझ त्यही बोकेर फर्कनु उनको दैनिकी बन्यो।कलेजमा पढिरहँदा उनी सोच्थेऽ ‘सधैं किताबको ठेली बाकेर हिँड्नु पर्ने बाध्यताको अन्त्य कसरी गर्ने होला!’

सानैदेखि प्राविधिक ज्ञानमा पनि ध्यान लगाउने सन्तोषले यस विषयमा साथी अंकित श्रेष्ठसँग पनि सल्लाह गर्थे। स्कुलदेखि सँगै पढेका अंकित र उनले एमबिबिएस पहिलो वर्ष पढ्दै गर्दा आफैंले एउटा वेबसाइट तयार पारे।अनि त्यसैमा सबै कुरा राखेर पढ्न मिल्ने बनाए। कलेजका अन्य साथीहरूलाई पनि डाउनलोड गरेर पढ्न सक्ने बनाइदिए।

त्यतिखेरका लागि त्यो वेबसाइट किताबको बोझ कम गराउने माध्यम बन्यो। केहीले शिक्षकले दिएका सामग्री पेनड्राइभमा हालेर काम चलाउने गरेका थिए, उनीहरूलाई पनि पेनड्राइभको झन्झट हरायो।

दुई युवाले सबैको वाहवाही बटुले।

जब यसको प्रयोग बढ्दै गयो, क्षमता विस्तार गर्नुपर्ने भयो। उनीहरूले लामो समयसम्म वेबसाइटको खर्च धान्न सकेनन्।छोरालाई डाक्टर बनाउन लाखौं खर्च गरेका बाबुआमालाई थप आर्थिक बोझ दिन पनि चाहेनन्। केही समयमा वेबसाइट बन्द भयो।

भरतपुरस्थित स्मल हेभन स्कुल र वाल्मिकी स्कुलबाट प्लस टु गरेका सन्तोष र अंकितको चाहना सानैदेखि डाक्टर बन्ने नै थियो।तर उनीहरू प्रविधिमा पनि अब्बल थिए। प्रविधिको ज्ञानलाई मेडिकल शिक्षामा जोड्ने हुटहुटी पनि उनीहरूमा थियो।  एमबिबिएसको कडा अध्ययनको बीचमा एप निर्माणको समय निकाल्नु कल्पनामात्र थियो। उनीहरू फुर्सदिलो समयको पर्खाइमा थिए।

गत वर्ष चितवन मेडिकल कलेजमा विद्यार्थीहरूको आन्दोलन चर्कियो। शुल्कको विषयमा विद्यार्थीहरूले हप्तौंसम्म आन्दोलन गरे। पढाइ अवरूद्ध भयो। उनीहरू भने त्यही मौका छोपेर डिजिटल काममा लागे।

सन्तोष रिजाल (बायाँ) र अंकित श्रेष्ठ (दायाँ)

स्तरीय एप निर्माणका लागि उनीहरूले आइटी इन्जिनियर क्षितिज ढकाल र अर्थशास्त्रमा एमबिएस गरेका अर्जुन भण्डारीलाई पनि समावेश गरेर चार जनाको समूह तयार पारे।

‘हामीसँग मेडिकल क्षेत्रलाई डिजिटलाइज गर्न के–के गर्नुपर्छ भन्ने सबै ज्ञान थियो तर समय थिएन,’ अंकितले भने, ‘जब आन्दोलनले कलेजमा पढाइ नै बन्द हुन थाल्यो हामी धमाधम एप निर्माणमा खट्यौं। अन्ततः त्यही समयमा हामीले एन्ड्रोएड मोबाइलको प्ले स्टोरमा हेर्न मिल्ने ‘मेडिकस पिडिएफ’ एप सञ्चालन मै ल्यायौं।’

उनीहरूले कलेजका अध्यापकहरूसँग परामर्श गरेरै एमबिबिएस, बिडिएस तथा स्वास्थ्य क्षेत्रका अन्य विषय र तहका पढाइका लागि आवश्यक शैक्षिक सामग्री यो एपमा राखेका छन्। साथै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण समाचार, खोजमूलक लेख, जर्नल तथा ब्लगहरू एपमा राखिएका छन्।

स्वास्थ्य क्षेत्रमा रूची राख्ने विश्वभरकाले हेर्न मिल्नेगरी तयार पारिएको एपले छोटो अवधिमै धेरैको माया पाएको अनुभूति सन्तोष र अंकितले गरेका छन्। उक्त एप अहिलेसम्म करिब डेढ लाख जनाले डाउनलोड गरिसकेका छन्। प्ले स्टोरको रेटिङमा यो एपले ४.७ स्टार पाएको छ।

‘सबैलाई चाहिएको रहेछ तर कसैले बनाएका रहेनछन्,’ अंकित भन्छन्, ‘हामीले पहिले गर्‍यौं, सफल पनि हुँदैछौंजस्तो लाग्छ।’ नेपाली विद्यार्थीहरूले तयार पारेको यो एप प्रयोग गर्ने विदेशी ९३ प्रतिशत छन्।

‘नेपालमा बिस्तारै बानी पर्दै गएको पनि होला, संख्या नै थोरै भएर पनि हुन सक्छ अहिलेसम्म यो एप प्रयोग गर्नेहरूमा नेपाली ७ प्रतिशतमात्रै छन्,’ सन्तोष भन्छन्, ‘विस्तारै बढ्दै जाला भन्ने अपेक्षा छ।’

यो एपमा सामग्री राख्न उनीहरूलाई कलेजका सह–प्राध्यापक डा.सविन रानाभाट र डा.ममता तिवारीलगायतले सहयोग गरे। ‘उहाँहरूलाई देखाएर ठीक छ भन्नु भएपछि हामीले एपमा राख्यौं,’ सन्तोषले भने। उनका अनुसार अहिले कलेजका धेरै विद्यार्थीहरूले यही एपबाट अध्ययन गर्ने, आवश्यक जानकारी लिने गरेका छन्।

उनीहरू यत्तिमै रोकिएनन्। यो समूहका लागि अर्को अवसर बनेर आयो, लकडाउन। एमबिबिएस तेस्रो वर्षको परीक्षा सुरू हुन तीन दिन बाँकी थियो देशमा लकडाउन भयो। लकडाउन बढ्दै जाने देखेपछि उनीहरूले सोचे ‘यो समयलाई पनि यसै खेर जान दिन हुँदैन।’ लगत्तै अर्को एप निर्माणको तयारी थाले। करिब तीन महिनाअघि उनीहरूले ‘मडिकस इसिजी’ एप पनि सञ्चालन ल्याए।

अघिल्लो एप विद्यार्थीका लागि मात्रै थियो भने यो एपमा उनीहरूले डाक्टरलाई पनि सहयोगी हुनेगरी सामग्री राखेका छन्। यो इसिजी एपले खासगरी मुटुका डाक्टरहरूलाई सहयोगी हुन्छ।

मुटुसम्बन्धी समस्या पत्ता लगाउन बिरामीको इसिजी गर्ने गरिन्छ। इसिजी मुटुको धड्कनको ग्राफ हो। कलेजका सह–प्राध्यापक डा.समिर तिमिल्सिनाका अनुसार इसिजी मेडिकल शिक्षामा अप्ठ्यारोमध्येको एक विषय हो। त्यसैले कम मेहेनत गर्ने विद्यार्थीहरूले इसिजीमा विज्ञता हासिल गर्न सक्दैनन्।

‘विद्यार्थीहरूले इसिजी बारेको सामान्य ज्ञानदेखि उपचारका क्रममा यसको अध्ययन कसरी गर्ने भन्नेसम्मको जानकारी राखेर एप बनाएका छन्, जुन असाध्यै उपयोगी छ’, डा.तिमिल्सिनाले भने, ‘इसिजीका विद्यार्थीहरूले पढ्ने इसिजी मेड इजी नामक पुस्तकभन्दा पनि यो एप पो बढी उपयोगी लाग्यो मलाई।’

विद्यार्थीहरूले यसबारे एप बनाउने जानकारी पाएपछि उत्साहित भएर सहयोग गरेको उनले बताए। विद्यार्थीहरूले तयार पारेर ल्याएका सामग्रीहरूको सम्पादन गरिदिएका थिए उनले।

‘मैले पनि पढाउने क्रममा इन्टरनेटबाट धेरै सामग्रीहरू लिने गर्थें,’ डा. तिमिल्सिनाले भने, ‘मैले पहिले लिने गरेका सूचना भन्दा यहाँ रहेका सूचनाहरु अझ विश्वसनीय छन्।’

इन्टरनेटमा पाइने सबै सामग्रीमा विश्वसनीयता नहुने भन्दै उनले अध्यापककै सहभागितामा बनेका कारण यो एप विश्वसनीय भएको बताए।

करिब तीन महिना अघिमात्रै नामको अगाडि डाक्टर थपेका अभिष काफ्लेलाई लाग्छ- आफ्नो पालामा यो एप भइदिएको भए पढ्दा कत्ति सहज हुन्थ्यो।

अहिले चितवन मेडिकल कलेजको मेडिसिन वार्डमा ‘इन्टर्न’ गर्दै गरेका डा.काफ्लेलाई यो एपको माध्यमबाट अबका विद्यार्थीहरूले धेरै ज्ञान हासिल गर्ने विश्वास छ।

‘भाइहरूको काम देख्दा मलाई पनि यो समूहमै बसेर काम गर्ने इच्छा जागेको छ’, उनले भने, ‘मेडिकल शिक्षालाई डिजिटलाइज गर्न सक्दा बिरामीहरूलाई पनि धेरै लाभ हुनेछ।’

यो एपमा सामग्री राख्न डा.सुशील श्रेष्ठले पनि सहयोग गरेका थिए। एमबीबीएसका विद्यार्थीहरूले अहिले दैनिक चार घन्टासम्म अनलाइन कक्षा पढ्ने गरेको अंकित बताउँछन्।

‘समय, परिस्थितिका कारण नेपालमा पनि भर्चुअल शिक्षा अनिवार्य नै भइसक्यो’, उनी भन्छन्, ‘अब किताबका लागि धेरै खर्च गरेरभन्दा पनि अनलाइन, एपबाट सामग्री छनोट गरेर अध्ययन गर्ने बानीको विकास हुँदै जान थालेको छ।’

करिब दुई महिना अघि सुरू भएको यो एप करिब १५ हजार डाउनलोड भइसकेको छ। यसमा दश प्रतिशत प्रयोगकर्ता नेपाली छन्। तत्कालका लागि एमबीबीएस र बिडिएसलाई लक्षित गरिए पनि छिट्टै स्तर बढाएर पारामेडिक्स सबैका लागि उपयुक्त बनाउने लक्ष्य रहेको सन्तोषले बताए। यही अवधिमा यो समूहले ‘मेडिकस हिस्टोलोजी’एप पनि सञ्चालनमा ल्याएको छ। यो एपले सूक्ष्मदर्शक यन्त्रको सहारामा गर्नुपर्ने उपचारका लागि सहयोग गर्छ।

‘हाम्रोजस्तो विकासोन्मुख देशका कलेजका ल्याबहरूमा धेरै सामग्री नहुने र सिक्नका लागि धेरै समय पालो कुर्नुपर्ने समस्या हुन्छ,’ सन्तोषले भने, ‘यो एपमा हामीले विज्ञहरूसँग सहयोग लिएर आवश्यक सबै सामग्रीहरू अपलोड गरेका छौं। घरमै बसेर पनि यसबारे अध्ययन गर्न सकिन्छ।’

यस एपमा राख्ने सामग्री तयार पार्दा उनीहरूले एनाटोमी डाक्टर गुलाम अनुवार खान, डा.समिर तिमिल्सिना, डा.सुभेच्छा शाक्य र बंगलादेशकी डाक्टर चन्द्रोना सोकारलगायतको सहयोग लिएका थिए।

यो समूहले छिट्टै बिरामीलाई समेत काम लाग्नेगरी ‘मेडिकस मडिसिन’, शल्यक्रियाका लागि उपयोगी हुने ‘मेडिकस सर्जरी’, बालरोगका लागि ‘मेडिकस प्याड्रियटिक’ र डाक्टरले लेख्ने प्रेस्किप्सनको बारेमा जानकारी दिने एप ‘मेडिकस एप्रिमेसन’ लन्च गर्दैछ।

‘यी मध्ये ‘मेडिकस मडिसिन’ हाम्रो सबै भन्दा महत्वाकांक्षी एप हुनेछ, यसमा पढ्ने विषयदेखि प्रयोगात्मक विषयसमेत समावेश गर्ने तयारी हाम्रो छ,’ सन्तोषले भने, ‘केही समयमै यो सञ्चालनमा आउँछ।’ ‘मेडिकस एप्रिमेसन’ एपका लागि डाक्टरहरूले लेख्ने कोड भाषाका ९ हजार शब्दहरूको पूर्ण भाषा र डाक्टरले प्रेस्किप्सनमा लेख्ने करिब १० हजार शब्दको अर्थहरू तयार पारिसकिएको उनले बताए।

अहिलेसम्म एप निर्माणका लागि उनीहरूले करिब डेढ लाख रूपैयाँ खर्च गरेका छन्। अब थप एप निर्माण गरेर यसलाई संस्थागत गर्न करिब १० लाख रूपैयाँ खर्च हुने संस्थापक सन्तोष रिजाल बताउँछन्।

कलेजले एप निर्माणका लागि प्रोत्साहन गर्दै आएको भए पनि आर्थिक रूपमा भने उनीहरुलाई सहयोग गरेको छैन। उनीहरूलाई यो कामका लागि अहिले परिवारले पनि साथ दिएका छन्। तर थप व्यवस्थित बन्दै जानुपर्ने भएकाले आर्थिक रूपमा सवल बन्न उनीहरूले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्ने योजना बनाएका छन्।

‘हामीले विश्वलाई अध्ययन गर्ने उपयुक्त विकल्प त दियौं तर यसलाई आगामी दिनमा कसरी थप सशक्त बनाउने भन्नेबारे छलफल गरिरहेका छौं,’ सन्तोषले भने, ‘आवश्यक प्रक्रियाहरू पुरा गरेर इच्छुक व्यक्तिहरूलाई सहभागिताका लागि आह्वान गर्नेबारे सोचिरहेका छौं।’ उनीहरूले छिट्टै आइफोनको एप स्टोरबाट पनि डाउनलोड गरेर यी एपहरू चलाउन मिल्नेगरी तयारी गरेका छन्। सेताेपाटी बाट 

चर्चामा

सम्बन्धित समाचार