शुक्रबार, अशोज ९, २०७७
  • होमपेज
  • समाज
  • उपचार नपाएर ज्यान गुमाउँदै सर्वसाधारण

उपचार नपाएर ज्यान गुमाउँदै सर्वसाधारण

  • शनिबार, भदौ ६, २०७७
उपचार नपाएर ज्यान गुमाउँदै सर्वसाधारण

यति बेला धनुषाको नगराइन नगरपालिका–३ फुलगामाका ७० वर्षीय रामचन्द्र साह रुँदैछन्। बुढेसकालको सहारा जवान छोरा गुमाउनुको पीडाले वृद्धा सोनावत्ती अर्धमूर्छित छिन्। पति गुमाएको पीडाले गीतादेवी छटपटाइरहेकी छिन्। दुई छोरा र एक छोरी ‘मेरो पापालाई ल्याइदेऊ’ भन्दै चिच्याइरहेका छन्। अस्पतालले भर्ना नलिँदा फुलगामाका श्याम साहले ज्यान गुमाउनुप¥यो। प्रादेशिक अस्पतालले भर्ना नलिएपछि एम्बुलेन्समा काठमाडौं लैजाँदै गर्दा बाटोमै श्यामको जीवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीं रोकिएको छ।

श्यामले बिबिए पढ्दै गरेकी छोरीको धुमधामसँग विवाह गर्ने सपना सजाएका थिए। छोरीको पढाइ सकिएपछि राम्रो बेहुला खोजेर धुमधामसँग बिहे गर्ने सोच उनले पत्नी गीतासँग साझा गरेका थिए। ‘आब कोना होतै सपना पूरा हो राजा’ भन्दै गीता चिच्याइरहेकी छन्। पाँचजनाको परिवारलाई सहारा दिने श्याम एक्ला थिए। उनको गाउँमै स्कुल तथा मनी ट्रान्सफरको व्यवसाय छ।

श्यामको मृत्युको खबर पाएदेखि पत्नी गीता मूर्छित छिन्। आफन्तले खुवाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्। बेलाबेला होस खुल्नेबित्तिकै उनी ‘हमर सुगाके लाइबदू’ भन्दै चिच्याउँछिन्, एक छिनपछि मूर्छा परिहाल्छिन्।

पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमण बढेसँगै ज्वरो, खोकी र श्वासप्रश्वास, झाडापाखालाका बिरामीले अस्पतालमा भर्ना पाउँदैनन्। भर्ना पाए पनि उपचार पाउँदैनन्। उपचारका लागि आउने बिरामीलाई जाँच नै नगरी फिर्ता पठाउने क्रम बढेको छ।

बुधबार श्वासप्रश्वासमा समस्या भएपछि भान्जा विजयले श्यामलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएका थिए। बिहान करिब ८ बजे अस्पताल पुगेका श्यामलाई आकस्मिक कक्षमा राखियो। तर डाक्टर हेर्नसमेत आएनन्। स्वास्थ्यकर्मीले टाढैबाट पिसिआर परीक्षण गराएर आउन सल्लाह दिए। ‘दुई घण्टा आकस्मिक कक्षमा बसेपछि बल्ल पिसिआर परीक्षण गराउन खबर आयो’, विजयले भने। उपचार सुरु गर्न पिसिआर परीक्षणको अनिवार्यताले ढिलाइ भइरहेकै थियो। स्ट्रेचरमा राखेर पिसिआरका लागि पु¥याउँदा समय घर्किंदै गइरहेको थियो। ‘उपचारबिनाको पर्खाइ र परीक्षणका लागि दौडाहाले मामालाई सास फेर्न सकस भइरहेको थियो’, उनले भने, ‘जति प्रयत्न गर्दा पनि डाक्टर उपचारका लागि तयार भएनन्। ’

क्षमताले भ्याएसम्मको ताकत लगाउँदा पनि उपचारका लागि चाहिने आइसियू कक्ष उपलब्ध हुन नसकेको विजयले बताए। ‘कतैबाट आशलाग्दो जवाफ पाएनौं। समय घर्किदै गएसँगै मामालाई सास फेर्न गाह्रो हुँदै गएको थियो’, उनले भने, ‘सबैतिरबाट निराश जवाफले लाचार बन्नुबाहेक मसँग विकल्प थिएन। ’ हेलिकोप्टरबाट काठमाडौं लैजाने विकल्पमा प्रयास गर्दा समेत सफल नभएको उनले बताए। ‘सुरुमा हुन्छ भने तर पछि पिसिआर रिपोर्ट चाहिन्छ भन्दै इन्कार गरे। हवाईजहाज चार्टर गर्न पनि तयार भयौं तर पिसिआर रिपोर्ट चाहिन्छ भन्दै त्यो पनि सम्भव भएन’, उनले भने।

त्यसपछि एम्बुलेन्सबाट काठमाडौं लैजाने सोच बनाएको उनले बताए। त्यो पनि सहज भएन। बिरामीलाई सास फेर्न गाह्रो छ भन्नेबित्तिकै एम्बुलेन्सवालाहरु समेत फोन काटिदिन्थे। अन्तमा एउटा एम्बुलेन्स तयार भयो। त्यतिन्जेल घाम अस्ताइसकेको थियो। आफैं स्वास्थ्यकर्मीसमेत रहेका विजय मामालाई एम्बुलेन्समा राखेर काठमाडौं हुइँकिए। सिन्धुलीगढीको उकालो चढ्दै गर्दा श्यामको सास ओरालो झर्दै गयो। उकालो उक्लिएसँगै उनको सास बन्द भयो। घटना सम्झिँदै विजय भक्कानिए, ‘प्रादेशिक अस्पतालले भर्ना लिएको भए उहाँको प्राण जोगिन्थ्यो। १० घण्टा बिनाउपचार झुलाइदिएकै कारण मामालाई बचाउन सकिएन। ’

उता वीरगन्जमा पनि उपचार नपाएर वीरगन्ज ११ श्रीपुरका चलित्तर महतोले ज्यान गुमाए। घटना हो साउन २२ को। सोही दिन जिल्ला प्रशासन कार्यालय पर्साले सबै निजी अस्पताललाई पत्राचार गर्दै बिरामीलाई उपचार नगरी फिर्ता नपठाउन निर्देशन दिएको थियो। ६४ वर्षीय महतो नेसनल मेडिकल कलेजमा दोस्रो पटक पुगेको दिन थियो त्यो। १० दिनअगाडि उनी भर्ना हुन जाँदा पिसिआर जाँच गराएर मात्र आउनू भनी अस्पतालले फर्काएको थियो। नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालाको जाँचको रिपोर्ट यसपटक उनी हातमा लिएरै त्यहाँ पुगेका थिए। जसमा उनलाई कोरोना संक्रमण नरहेको पुष्टि गरिएको थियो। ‘हामी यसपालि त फिर्ता पठाउँदैनन् भनी नेसनल मेडिकल कलेज पुगेका थियौं। दाजुलाई बिसन्चो थियो तर त्यहाँ डाक्टरहरुले भर्ना लिन नमानेर उहाँको कलेजकै गेटमा ज्यान गयो’, मृतकका भाइ शम्भु महतोले भने, ‘हामी निरीह थियौं, आँखाअगाडि नै मेरो दाजुको अवस्था खराब हुँदै गएको थियो। उहाँलाई बचाउन सकेनौं। ’

परीक्षणका लागि १५ गते स्वाब दिएको तर रिपोर्ट साता दिनसम्म पनि नपाएकोमा समेत महतो परिवारको आपत्ति छ। बेलैमा रिपोर्ट पाएको भए दाइलाई बचाउन सकिन्थ्यो कि भनेर शम्भुलाई लागेको छ। ‘वडाध्यक्ष प्रद्युम्न सेढाईंलाई नारायणी अस्पतालमा रिपोर्टका लागि भन्न लगायौं, १८ गते मिति उल्लेख भएको रिपोर्ट १९ गते हामीले पायौं,’ उनले भने, ‘यसपछि साउन २२ गते बिहीबार बिहान जाँदा अस्पतालले भर्ना लिएन। ’ एक दिनअगाडिदेखि चलितर महतोको दिसामा रगत देखिएको र श्वासप्रश्वासमा पनि समस्या भएपछि परिवारजनले मेडिकल कलेज लिएर गएका थिए।

बिरामी लिएर मेडिकल कलेजमा जाँदा गेटमा खटिएका कर्मचारीले भित्र जानबाट रोके। बिरामीलाई टेम्पुमै छोडेर शम्भुसहितका आफन्त आकस्मिक कक्षतिर लागे। त्यहाँ दुईजना डाक्टर र केही पारा मेडिकल स्टाफ ड्युटीमा थिए। ‘उनीहरुले एमडी साहेब (बसरुद्दिन अन्सारी) ले भनेपछि मात्रै बिरामीलाई भर्ना लिने बताए। हामीले पिसिआर रिपोर्ट देखायौं तर पनि उनीहरुले भर्ना गर्न मानेनन्’, शम्भुले भने, ‘यता दाजुको अवस्था टेम्पुभित्र बिग्रिँदै थियो। हामीले आधा घण्टासम्म हारगुहार गरिरह्यौं, उता एमडीको फोन नलागेको र कुरा गरेपछि मात्र आफुहरुले बिरामीलाई लिने वा नलिने बताउने भनेर डाक्टरहरुले भनिरहेका थिए। हाम्रो केही सीप लागेन, टेम्पुभित्रै अस्पतालको गेटमा दाइको मृत्यु भयो। ’

अस्पताल चहार्दै गयो बालकको ज्यान
घटना हो साउन २७ गतेको। बारागढी गाउँपालिका–२ सुखीपत्रा घर भएका ९ वर्षीय सुशीलकुमार साहले वीरगन्जका पाँच अस्पतालमा चहार्दा पनि उपचार नपाउँदा ज्यान गुमाए। त्यो दिन बिहान १० बजे वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बालकको मृत्यु भयो। गाउँकै स्थानीय स्वास्थ्यचौकीमा उपचार गराएर झाडापखाला र बान्ता ठीक नभएपछि राति करिब २ बजे सुशीललाई परिवारले वीरगन्ज ल्याएका थिए। उनीहरुका अनुसार वीरगन्जका पाँचवटा अस्पतालमा जाँदा कोरोना लागेको शंकामा कसैले भर्ना लिएनन्। उनको मृत्यु्पछि आएको पिसिआर परीक्षण रिपोर्ट भने नेगेटिभ निस्कियो।

परिवारले सुशीललाई पहिले नेसनल मेडिकल कलेज नै लिएर आएका थिए। आइसियू खाली नभएका भन्दै त्यहाँका कर्मचारीले तराई अस्पताल लैजान सुझाव दिए। बिरामीलाई त्यहीं छोडेर उनका भिनाजु उपेन्द्र मोटरसाइकलमा तराई अस्पताल पुग्दा त्यहाँ पनि बेड नभएको बताइयो। यता सुशीलको स्वास्थ्य बिग्रिँदै थियो। पानीट्यांकी चोकमा रहेको एलएस न्युरो अस्पतालमा लिएर गए। त्यहाँ बालकका अभिभावकसँग १० हजार रुपैयाँ अग्रिम जम्मा गर्न लगाएर पनि आइसीयुमा भर्ना गर्ने बेला इन्कार गरी अन्यत्र लैजान भने। ‘त्यसपछि भवानी हस्पिटल पनि गयौं, त्यहाँ पनि ठाउँ खाली छैन भनेर फर्काए,’ उपेन्द्रले भने।

परिवारजनले बिहान करिब ७ बजे वीरगन्जको घन्टाघर चोकमा तैनाथ प्रहरीको मद्दत मागे। प्रहरीले नारायणी अस्पताल लैजान सुझाए। नारायणीको आकास्मिक कक्षमा रहेका स्वास्थ्यकर्मीले बालकको अवस्था गम्भीर भइसकेकाले आइसियूमा भर्ना गर्नुपर्ने भन्दै फिर्ता गरिदिएको उपेन्द्रले बताए। उनले पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको नम्बरमा फोन गरेर समस्या सुनाए। ‘नेसनल मेडिकल जानुस्, तपाईंको बच्चाको उपचार हुन्छ, त्यहाँ ड्युटीमा रहेको प्रहरीलाई भनिदिन्छुु भनेपछि परिवारले बिहान ९ बजेतिर सुशीललाई लिएर फेरि मेडिकल कलेज पुगे। दोस्रो पटक जाँदा भर्ना लिए पनि आकस्मिक वा आइसियू कक्षमा उनलाई राखिएन।

परिवारले बताएअनुसार बेग्लै कोठामा आइसोलेट गरेर नाकमा अक्सिजनको पाइप लगाएर राखिदिए। दिउँसो बच्चाको कोरोना परीक्षण गराउनुपर्छ भनेपछि एम्बुलेन्समा राखी नारायणी अस्पताल लगेर स्वाब दिन लगाएको उपेन्द्रले बताए। उपेन्द्रका अनुसार बिरामी बालकका परिवारले किनिदिएको पिपिई लगाएर राति करिब ९ बजे मात्र स्वास्थ्यकर्मी सुशीललाई हेर्न आएका थिए। उनी मंगलबार बिहान कोरोनाको परीक्षण रिपोर्ट लिन नारायणी प्रयोगशाला पुग्दा मोबाइल फोनमा सुशीलको मृत्यु भएको खबर आयो। यता पिसिआर रिपोर्ट नेगेटिभ थियो।

वीरगन्जमा अस्पताललाई बिरामीको उपचार अस्वीकार नगर्न अन्तरिम आदेश जारी गरिएकै दिन यो घटना भएको हो। साउन २७ मै उच्च अदालतले ‘स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामीलाई उपचार सेवा दिन र दिलाउन कुनै पनि बहानामा इन्कार नगर्नू र नगराउनू भनी वीरगन्जका सम्पूर्ण सरकारी तथा निजी अस्पतालको नाममा अन्तरिम आदेश जारी गरेको थियो।

नेसनल मेडिकल कलेजले भने कलेजलाई बदनाम गराउन आरोप लगाउने गरिएको दाबी गरेको छ। आफूलाई यी कुनै पनि घटनाका सन्दर्भमा जानकारी नभएको मेडिकल कलेजका प्रबन्धनिर्देशक बसरुद्दिन अन्सारीले दाबी गरे। तर पनि अस्पतालले बिरामीलाई भर्ना नगरेका कारण बिरामी र उनीहरुका परिवारजनले समस्या भोगेका दर्जनौं घटना यहाँ भएका छन्। वीरगन्ज महानगरपालिका–२ छपकैयाका चार वर्षीय बालक पनि यति बेला बिलौना गर्दैछन्। उनी १३ दिनदेखि टोलाएर बसिरहेका छन्। बेलाबेलामा आमा खोज्दै बर्बराउँछन्। श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि भौतारिँदै अस्पतालको गेटमै २० वर्षीया विष्णु लामाले दम तोडेपछि उनका एक्ला छोराको बिच्चली भएको छ। छोरासहित छपकैयास्थित माइतीमा डेरामा बस्दै आएकी उनलाई दुई साताअघि सास फेर्न गाह्रो भयो। आफन्तले रिक्सामा राखेर आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल पु¥याए। तर अस्पतालले भर्ना लिन मानेन। ‘त्यहाँ भर्ना लिन नमानेपछि नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लग्यौं,’ विष्णुकी भाउजू अञ्जु तामाङले भनिन्, ‘यहाँ पनि भर्ना नलिएपछि रिक्सामा नारायणी बयोधा अस्पताल पु¥यायौं । तर बयोधाले पनि भर्ना लिन मानेन ।’

बयोधामा भर्ना नलिएपछि तराई हस्पिटल हुँदै नेसनल मेडिकल कलेजसम्म पुगेको अञ्जुले बताइन्। सुरुमा नेसनलका स्वास्थ्यकर्मीले बेड खाली छ भने तर बिरामीमा ज्वरो र श्वासप्रश्वासको समस्या भएको थाहा पाएपछि ठाउँ खाली नभएको भन्दै फर्काएको उनले बताइन्। त्यसपछि फर्काएर नारायणी अस्पताल लग्दा आकस्मिक कक्षमा कार्यरत्त स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दो लक्षण देखिएकाले कोरोना अस्पताल लैजान भन्यो। त्यसपछि नारायणी अस्थायी कोरोना अस्पतालका रूपमा सञ्चालित वीरगन्ज हेल्थ केयर पु¥याउँदा त्यहाँ पनि भर्ना लिएनन् । कोरोना अस्पतालमा संक्रमण पुष्टि भएकालाई मात्र भर्ना लिने बताउँदै फर्काइदिए। फेरि नारायणी अस्थायी कोरोना (गण्डक) अस्पतालअगाडि रिक्साबाट विष्णुलाई ओराल्न लाग्दा उनको सास गइसकेको थियो। रातभर उपचारका लागि वीरगन्जका सबै अस्पताल भौतारिँदा भौतारिँदै विष्णुले प्राण त्यागिन्। अञ्जु भन्छिन्, ‘उपचारै नपाई विष्णुले प्राण त्यागिन्। ’

वीरगन्ज महानगरपालिका–१३ राधेमाईकी ६२ वर्षीया शारदादेवी रौनियारको पनि उपचारका लागि भौतारिँदै ज्यान गयो। श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारका सदस्य वीरगन्जका अधिकांश अस्पताल चहारे। तर कुनैले पनि भर्ना लिन मानेनन् । तराई हस्पिटलदेखि नेसनल मेकिडल कलेजसम्म चहार्दा पनि कसैले भर्ना नलिएको आफन्त बताउँछन्। फर्केर नारायणी अस्पताल ल्याइपु¥याउँदा शारदाले गेटमै अन्तिम सास फेरिन्। अस्पतालले मानवता देखाइदिएको भए उनको ज्यान जोगिने परिवारजनको कथन छ।

धनुषाको हंशपुर नगरपालिका प्रसाहीका–१६ वर्षीय राजु सदा प्रादेशिक अस्पतालको आइसोलेसन बेडमै तडपेर मृत्युको मुखमा पुगे। असह्य पीडाले घण्टौं छटपटिँदा पनि कोही चिकित्सक हेर्न गएनन्। पीडाले छटपटाउँदै बेडबाट भुइँमा लडे। भुइँमा छटपटाए। सिरानी च्यापे। आइसोलेसन सेन्टरमा घण्टौंसम्म छटपटाउँदा पनि उपचार नपाएर प्राण त्यागे।

भारतको अहमदावादबाट फर्केका सदा धनुषाको प्रसाही क्वारेन्टिनमा बसेका थिए। खाना, सरसफाइ राम्रो नभएका कारण क्वारेटिन बसेको १७ औं दिनमा उनलाई पखाला सुरु भयो। तर उनले राम्रो उपचार पाएनन्। क्वारेन्टिनबाट टिपरमा राखेर जनकपुरधामस्थित प्रादेशिक अस्पतालको गेटमा पु¥याई छाडियो। अस्पतालले आइसोलेसनमा भर्ना त ग¥यो, तर उपचारमा ध्यान दिइएन। आइसोलेसन अस्पतालमा उनलाई खाना त दिइन्थ्यो तर कोरोना परीक्षणको रिपोर्ट नआएका कारण चिकित्सक हेर्नसमेत नआएको परिवारजनको गुनासो छ।

सदा यसबीचमा निरन्तर झाडापखाला भएका कारण थलिँदै गए। आइसोलेसनमा जीवनजलसमेत नपाएर उनले दम तोडे। ‘मेरो छोराले यसरी तडपेर प्राण त्याग्ने थिएन’, राजुका पिता असे सदा भन्छन्, ‘कोरोना जाँचको नाममा हदैसम्मको पीडा दिएर मारिदिए। ’

धनुषाको सहिदनगर नगरपालिका–८ डुमरियाका ३८ वर्षीय अजय साहलाई सास फेर्न अप्ठ्यारो भएपछि आफैं मोटरसाइकल चलाएर प्रादेशिक अस्पताल जनकपुर पुगे। अस्पतालले उनको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर भेन्टिलेटरसहितको उपचार आवश्यक भएको भन्दै रेफर गरिदियो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा उनले बाटोमै दम तोडे। प्रादेशिक अस्पतालको भेन्टिलेटर खाली नभएको भन्दै उनलाई रेफर गरिएको थियो।

धनुषाको सहिदनगर–९ गोठकैलपुरका रामजतन छोराको सन्तापले थलिएका छन्। छोराको अनुहार हेर्न नपाउँदै मृत्युको खबरले विक्षीप्त उनी अझै तंग्रिन सकेका छैनन्। कोरानाबाट बच्न घर फर्किएका उनका छोरा उपचार अभावमा सीमामै दम तोड्न बाध्य भए। ज्वरो र कमजोरीले थलिएका उनले धनुषाको जटही बोर्डरमा अन्तिम पटक सास फेरेका थिए। रामजतन भन्छन्, ‘छोराले उपचार पाएको भए म बेसहारा हुँदैनथें। ’

सिरहा गोगलबजार नगरपालिका–१२ बेतौनाका २२ वर्षीय प्रमोद महतोले पनि अस्पताल चहार्दाचहार्दै ज्यान गुमाए। महतो प्रादेशिक अस्पताल जनकपुरमा नियमित मिर्गौलाको डायलासिस गराउँदै आएका थिए। तर डायलासिसका लागि पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गरिएपछि डायलासिस अनियमित हुन पुग्यो। यसैबीचमा उनको पिसिआर रिपोर्ट समेत पोजेटिभ आयो। प्रादेशिक अस्पतालमा गराउँदै आएको डायलासिस पोजेटिभ रिपोर्ट आएसँगै रोकियो। डायलासिसका लागि बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान लैजाँदा उनको त्यहीं मृत्यु भयो। ‘जनकपुरमा नियमित डायलासिस हुँदा सम्म ठीक थियो’, महतो परिवार भन्छन्, ‘तालिका बिथोलिँदा उनले ज्यान गुमाउनुप¥यो। ’ किड्नीका बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि जनकपुरमा डायलासिस सेवा उपलब्ध छैन।

अस्पताल डुलाउँदाडुलाउँदै उपचार नपाएर ज्यान गुमाउने यी केही उदाहरणमात्र हुन। पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमण बढेसँगै ज्वरो, खोकी र श्वासप्रश्वास, झाडापाखालाका बिरामीले अस्पतालमा भर्ना पाउँदैनन्। भर्ना पाएपनि उपचार पाउँदैनन्। उपचारका लागि आउने बिरामीलाई जाँच नै नगरी फिर्ता पठाउने क्रम बढेको छ।

प्रदेश २ का मुख्यमन्त्रीको अध्यक्षतामा बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने मेडिकल कलेज तथा स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने निर्णय गरेको भोलिपल्टै धनुषाका दुईजनाले ज्यान गुमाएको घटना सार्वजनिक भयो। प्रदेशको अस्थायी मुकामस्थित प्रदेश सरकारअन्तर्गतको प्रादेशिक अस्पतालले बिरामीको उपचार नगर्दा ज्यान गुमाएको घटनाले सरकारलाई गिज्याएको छ।

कोरोनाको नाममा अस्पतालहरुले बिरामी भर्ना लिन नमान्नु विडम्बना भएको सर्लाहीका बुद्धिजीवी रजनिकान्त झा बताउँछन्। ‘कोरोनाभन्दा पनि उपचार नपाएर अकालमै मानिस मृत्युवरण गर्न बाध्य बनिरहेका छन्’, उनले भने, ‘बिरामीको उपचारलाई पहिलो प्राथमिकतामा नराख्दा मृत्युवरणको शृंखला सुरु हुने खतरा व्याप्त छ। यसले डरलाग्दो अवस्थाको संकेत गरेको छ। ’

भक्तपुर क्यान्सर अस्पतालका डा. अजय झाका अनुसार बिरामी अस्पताल आइसकेपछि उपचार गर्नु चिकित्सकीय दायित्व हो। बिरामी आइसकेपछि परीक्षण तथा उपचार दुवै अस्पतालकै दायित्वभित्र पर्ने डा. झाले बताए। ‘अस्पतालमा आएका बिरामीलाई घण्टौं राखेर सामान्य क्यानुलासमेत नचढाइनु दुःखद हो’, डा. झाले भने, ‘कागज खोजेर समय खेर फाल्नु तमासाबाहेक केही होइन। ’ प्रादेशिक अस्पतालमा एकपछि अर्को घटना भइरहँदा पनि सरकार गम्भीर भएर सुधार्न नसक्नु दुःखद भएको उनले बताए। उनले भने, ‘जनताको स्वास्थ्यसँग खेलबाड गर्ने छुट न सरकारलाई छ न डाक्टरलाई। ’ याे समाचार अाजकाे नागरिक दैनिकमा मिथिलेश यादव र रितेश त्रिपाठीले लेखेका छन ।

चर्चामा

सम्बन्धित समाचार