शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • स्थानीय उत्पादन बारीमै सड्यो

स्थानीय उत्पादन बारीमै सड्यो

  • शनिबार, साउन २४, २०७७
स्थानीय उत्पादन बारीमै सड्यो

लकडाउनको एक सय २० दिन अर्थात चार महिनामा सुदूरपश्चिमका किसानले उत्पादन गरेको तरकारी बारीमा सुक्यो र सड्यो पनि। स्थानीय प्रशासन र पालिकाहरुको निर्देशनमा स्थानीय तरकारी संकलन केन्द्र तथा हाट बजार बन्द गरिए।

तर, भारतबाट निर्वाध आएको तरकारी सीधै भान्सामा पुग्यो।  लकडाउनमा भारतबाट तरकारीको धमाधम आयात भएकोमा स्थानीय उत्पादनलाई भने प्रहरी प्रशासनले नै कोरोनाको जोखिम बढ्ने भन्दै बजार सम्म पुगाउन दिएन्। किसानहरु बारीको तरकारी कुहिएको हेर्न बाध्य भए भने व्यापारीहरूले नेपाली किसानको उत्पादन किन्नुभन्दा भारतबाट आयात गर्नु सजिलो माने।

सोही कारणले लकडाउनमा पनि दैनिक १७ लाख ५० हजारको तरकारी त्रिनगर नाका हुँदै  कैलाली भित्रिएको छ। भन्सार कार्यालय कैलालीका सूचना अधिकारी डिल्लु प्रशाद शर्माले चार महिनाको अवधिमा २१ करोडको तरकारी आएको बताएको बताए। ‘आलु, प्याज, टमाटर र कागती मात्रै २१ करोडको भित्रिएको छ,’ सूचना अधिकारी शर्माले दिनेश खवरलाई भने, ‘यो अवधिमा हरियो तरकारी भने आयात भएको छैन्।’

लकडाउनमा पनि सामान्य समय जस्तै तरकारी आयात भएको भन्सार कार्यालयको ठहर छ। कोरोना भाईरसको जोखिम र नाका बन्द भएपनि भारतबाट तरकारीको आयात नरोकिएपछि चार महिनामै २१ करोडको तरकारी आयात भएको हो।

लकडाउनमा सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको दावी गरिएको छ। यस्तो अवस्थामा सुदूरपश्चिममै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो। तर, तरकारीको उपभोग घटे पनि आयात नघटेपछि मागको सबैजसो हिस्सा आयातीत तरकारीले कब्जा गरेको आशंका पनि गरिएको छ।

यता प्रदेशको भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले भने तरकारीको उपभोग धेरै नघटेको बताए। ‘लकडाउनमा पनि तरकारीको उपभोग त भईरहेकै थियो,’ उनले भने, ‘आयातित तरकारीको भर परेर हुँदैन् भन्ने सिकाई लकडाउनबाट भएको छ।’

लकडाउनपछि स्थानीय स्तरमा तरकारी खेती प्रति आकर्षण बढेको दावी पनि उनको छ। तीन तहकै सरकारले समेत तरकारी खेतीलाई प्राथमिकतामा राखेको बताउँदै उनले दिनेश खवरलाई भने, ‘कौशी खेती पनि बढेको छ। आगामी बर्षमा तरकारीको आयात घट्ने विश्वास छ।’

चर्चामा

सम्बन्धित समाचार