शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • कोशी अस्पतालमा कोरोना शंकास्पद बिरामीको मृत्यु

कोशी अस्पतालमा कोरोना शंकास्पद बिरामीको मृत्यु

  • शुक्रबार, साउन २३, २०७७
कोशी अस्पतालमा कोरोना शंकास्पद बिरामीको मृत्यु

कोरोना भाइरसको आशंकामा विराटनगरको कोशी अस्पतालमा उपचारका लागि ल्याइएका एक मारवाडी समुदायका पुरुषको शुक्रबार मृत्यु भएको छ ।  विराटनगर महानगरपालिका -९ का ५८ वर्षीय जयप्रकाश अग्रवालको बिहान ९ :१५ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए ।

उनकाअनुसार मृतकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कोरोना शंकास्पद पुरुषको शव अहिले अस्पतालकै आइसोलेसनमा राखिएको छ । ‘अग्रवाललाई एक सातादेखि ज्वरो र खोकीको समस्या रहेछ,’ डा. दासले भने, ‘परिवारका सदस्यले निमोनिया हो भन्दै बाहिरकै निजी स्वास्थ्य संस्थामा उपचार गराइरहेको पाइएको छ ।’

स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि भने बिहान उपचारका लागि कोशी ल्याइएको जानकारी उनले दिए । उनले भने, ‘अस्पतालको बेडमा पुर्‍याउँदा बिरामीको मृत्यु भइसकेको थियो ।’

मृतकमा लामो समयदेखि उच्च रक्तचापको पनि समस्या रहेको पाइएको डा. दासको भनाइ छ । कोशी अस्पताल ल्याउनुअघि बिरामीको उपचार गर्ने निजी स्वास्थ्य संस्थाको पहिचान भइनसकेका कारण पत्ता लगाउने काम भइरहेको जानकारी उनले दिए ।

मृतकमा कोरोनाको आशंका गरिएका कारण स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको उनको भनाइ छ । रिपोर्ट आइसकेपछि मृतकमा कोरोना भए÷नभएको पत्ता लाग्ने डा. दासले बताए । उनले रिपोर्ट नेगेटिभ आएमा दाहसंस्कारका लागि परिवारका सदस्यको जिम्मा लगाइने र पोजेटिभ आएमा व्यवस्थापनका लागि नेपाली सेनालाई बुझाइने जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार