शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाले यस वर्ष हिमालमै बिलायो ‘हिमाली हिरा’

कोरोनाले यस वर्ष हिमालमै बिलायो ‘हिमाली हिरा’

  • बिहिबार, साउन २२, २०७७
कोरोनाले यस वर्ष हिमालमै बिलायो ‘हिमाली हिरा’

हिमाली हिराको नामले चिनिने यार्सागुम्बा संकलन गर्न नपाउँदा कर्णली र सुदूरपश्चिमका हिमाली जिल्लाका स्थानीय आर्थिक संकटमा परेका छन्। वर्षेनी यार्सा संकलनबाट मनग्ये आम्दानी गरी वर्षभरी जोहो गर्ने सुदूरपश्चिमको बझाङ, दार्चुलालगायतका जिल्लाका स्थानीय मारमा परेका छन्। कोरोना भाइरसको कारण लकडाउनपछि यार्सा संकलन हुन नसक्दा हिमाली हिराको नामले चिनिने यार्सागुम्बा हिमालमै बिलाएको छ। यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च जुट्थ्यो।

‘यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएपछि न पाटनमा यार्सा टिप्न पाइएको छ, न त जिल्ला भित्रै सहज आवतजावत नै छ,’ बझाङ साइपालगाउँपालिका– ४ का दीपकबोहराले भने, ‘यार्सा संकलन गर्न नपाउँदा रोजीरोटी खोसियो। छोराछोरीको पढाइ प्रभावित हुने भयो।’ उत्तरी क्षेत्रका खाद्यान्न कम उत्पादन हुने आय स्रोतका अन्य माध्यम नहुँदा जडीबुटी संकलन नै मुख्य आयस्रोतको आधार भए पनि यो वर्ष कोरोना कहरले सबैलाई समस्यामा पारेको छ। कोरोना प्रकोपको कारण यसपाली यार्सा टिप्न स्थानीय प्रशासनले रोक लगाएपछि यार्सा संकलन हुन नसकेको हो।

हिमाली जिल्लाको मुख्य आम्दानीको स्रोत नै यार्सालगायत अन्य जडीबुटी हुन्। समुन्द्र सतहको ३ हजारदेखि ४ हजार मिटरसम्मको उचाइँमा पाइने यार्सागुम्बा टिप्न जेठको पहिलो सातादेखि संकलन कार्य सुरु हुने गरेको थियो। यो पटक भने संकलन गर्न नपाउँदा कोरोनाकै कारण हिमाली क्षेत्रकावासिन्दा आर्थिक संकट झेल्दै आएका छन्। यार्सा संकलन गरेर वर्षभरीको खाना जोहो गरौंला भन्ने यहाँका स्थानीयकोे आसा निराशामा बदलिएको छ। कोरोनाको जोखिम भन्दा पनि घर खर्च र बालबालिकाको पठनपाठन कसरी धान्ने भन्ने चिन्ताले पिरोल्न थालेको उनीहरू बताउँछन्।

एउटै घरका ३÷४ जनासम्म यार्सा संकलन गर्न जाने गरेकोमा यस वर्ष सबैले आम्दानी गुमाएको दार्चुलाको व्यास गाउँपालिका–४ का स्थानीय हरिश बोहराले बताए। गतवर्ष यार्साबाट ३ लाख रुपैयाँ आम्दानी गरेका अपिहिमाल गाउँपालिका–६ का विशनसिंह बुढाथोकीले यसवर्ष यार्सा संकलन गर्न नपाएको गुनासो गरे। पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको भन्दै यार्सागुम्बा संकलनमा स्थानीय प्रशासनले रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दा होइन यार्सा संकलनको लागि जाने अन्य क्षेत्रका स्थानीय पनि मारमा परेका छन्। स्थानीय मात्र होइन यार्सा संकलनबाट प्राप्त हुने राजश्व समेत गुमेको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र दार्चुलाले यार्सागुम्बा पाइने पाटनहरूमा संकलकको बढी भिडभाड हुने भन्दै कोरोना संक्रमणलाई न्युनीकरण गर्न यसवर्ष वनहरू बन्द गर्ने तथा संकलन कार्यलाई पूूर्णरूपमा रोक लगाउने यसअघि नै निर्णय गरेको थियो।

यार्सागुम्बा संकलन हुन नसक्दा सरकारलाई यार्सागुम्बा संकलन र निकासी वापत प्राप्तहुने ठूूलो रकम गुमेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूूचना अधिकारी सन्तबहादुर मगरले जानकारी दिए। गत वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई विभागबाट ४ सय ४५ किलो संकलन तथा निकासीका लागि अनुमति पाइएको थियो। विभागबाट प्राप्त अनुमतिका आधारमा जिल्लाबाट गत आर्थिक वर्ष ४ सय ४५ किलो यार्सागुम्बा निकासी भएको थियो। यार्सागुम्बा निकासी वापत सरकारलाई एक करोड २८ लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको सूूचना अधिकारी मगरले बताए।

यार्साबाट जिल्लामा झण्डै एक अर्ब जतिको आम्दानी हुने गरेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादु धामीले बताए। ‘यो वर्ष हिउँदतिर धेरै वर्षा र हिमपात भएकाले लेक तिर यार्सा बढी पाइने सम्भावना थियो,’ सुर्मा गाउँपालिका–२ अन्नाकी कमला बोहराले भनिन् ‘यार्सा टिप्न नपाएपछि दाउँरा बेचेर घरपरिवार पाल्नुपरेको छ।’ देशमा लकडाउन भएका बेला यार्सा संकलन कार्यमा रोक लगाएको सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले बताए। हिमाली क्षेत्रसँग जोडिएका साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकाले सार्वजनिक सूूचना मार्फत हिमाली क्षेत्रमा यार्सा टिप्न रोक लगाएको थियो।नागरीक दैनीकबाट 

चर्चामा

सम्बन्धित समाचार