बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • पहिरोले बिचल्ली पारेपछि पालमा बसेकालाई चिसोको समस्या

पहिरोले बिचल्ली पारेपछि पालमा बसेकालाई चिसोको समस्या

  • बुधबार, साउन २१, २०७७
पहिरोले बिचल्ली पारेपछि पालमा बसेकालाई चिसोको समस्या

लमजुङको दाेर्दी गाउँपालिका ८ दुवारका ५३ वर्षीय विष्णुमाया राना मगरका श्रीमान बोल्न सक्दैनन्। राम्रोसँग हिँडडुल गर्न पनि सक्दैनन्।

यी वृद्ध दम्पत्तीका ४ छोरा र ३ छोरी छन्। उनीहरु कोही पनि घरमा छैनन्, छोरीहरु विवाह गरिसकेका छन् भने छोराहरु कोही विदेश त कोही कामको शिलशिलामा शहरतिर। वृद्ध दम्पत्ती मात्र गाउँको घर धानेर बसेका थिए।

अहिले भने उनीहरु घरमा बस्दैनन्। असार २५ गते बिहान ५ बजेतिर अचानक गाउँमा पहिरो आयो, उनीहरुको घर पनि पहिरोमा पर्यो। पहिरो आएको थाहा पाएपछि विष्णुमायाले हात समातेर श्रीमानलाई घर बाहिर निकालिन्।

उनले भनिन् ‘अन्नपात केही निकाल्न पाइनँ, सबै पुर्‍यो।’ घर भएकै ठाउँमा अहिले पानीको नयाँ मुल फुटेको विष्णुमायाले बताइन्। त्यही दिनदेखि उनीहरु गाउँकै सामुदायिक भवनमा बास बसेका छन्।

पहिरोले अननपात, भाँडाकुडा र लत्ताकपडा पनि पुरेको उनले बताइन्। वडा सदस्य लालमाया मिजारका अनुसार सो क्षेत्रमा अहिले पनि जोखिम कायमै छ।

पहिरोका कारण दुवारस्थित मगरटोलमा रहेका सो दम्पत्तीसहित २९ घर परिवारले अन्यन्त्र पाल टाँगेर र काेही सामुदायिक भवनमा बास बसेका छन्।पहिरोमा नपरेका घरहरु समेत चर्किने र घरभित्रै पानीको मुल फुट्ने समस्याका कारण उनीहरु घर बाहिर बास बस्ने गरेका छन्।

असार अन्तिम सातायता दुवार गाउँमा मात्र ४७ घर विस्थापित भएका छन्। गाउँमा रहेका ९१ घर पहिरोको जोखिममा छन्। गाउँमा ठूलो पहिरो नगएपनि साना–साना पहिरो जाने र जमिन चर्किने, भासिने गरेको स्थानीयबासीले बताएका छन्।

दुवारका स्थानीय धनकुमार थापा मगर सहित उनका ७ जनाको परिवार पनि अहिले सामुदायिक भवनमा छन्। सामुदायिक भवनमा मात्र ५ जनाको परिवारले आश्रय लिएको उनले बताए। ‘बिहानै पहिरो जान थालेपछि भागाभाग भयो, हामी यहाँ आएर बस्यौँ,’ उनले भने, ‘मान्छेलाई त केही भएन, तर गाउँमा बस्न सक्ने अवस्था नै छैन।’

दुवार गाउँमा पहिरोका कारण ९१ घर जोखिममा छन्। जसमध्ये ४५ घर बस्नै नसकिने गरी जोखिममा परेको उनले बताए। दुवारकै पल्टे टोलका ३० घर परिवार पनि घरमा बस्न सक्ने अवस्था नभएपछि पाल टाँगेर बसेको दोर्दीका कार्यपालिका सदस्य समेत रहेकी वडा सदस्य मिजारले बताइन्।

पालमा बस्दा पनि अहिले समस्या देखिन थालेको छ। उनीहरुलाई चिसोको समस्या बढेको उनले बताइन्। ‘टिन भइदिएमा त्यसैले बारेर बस्थ्यौं’ धनकुमारले भने। पहिरोमा परेर बाहिर बस्नेहरु केही बालबालिका र अधिकांश वृद्ध–वृद्धा छन्। उनीहरुलाई चिसोको समस्या देखिन थालेको वडा सदस्य मिजारले बताइन्।

दोर्दी गाउँपालिकाको वडा नं. ८ दुवारमा ९६ घर र वडा नं. ६ ढोडेनीमा ६ घर बाढी र पहिरोले विस्थापित भएको गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताए। माथिबाट झरेको ढिस्कोले घर पुरिने, घरको आधा पाखा भत्किने, जमिन नै चिरा परेर भासिने र चर्किने समस्या परेको उनले बताए ।

पहिरोले अन्नपात नै पुरिएका परिवारलाई गाउँपालिका र समुदायिक संस्था मिलेर तत्कालका लागि राहत दिएर राखेको उनले बताए। पहिरो पीडितलाई नयाँ घर बनाउन र स्थानान्तरण गर्न प्रदेश र संघीय सरकारसँग गाउँपालिकाले सहयोग मागेको घलेको भनाई छ।

पहिरो प्रभावित क्षेत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बोलाएर देखाएको उनले बताए। ‘पहिरो पीडित क्षेत्रमा मुख्यमन्त्री आएर हेरेर जानुभएको छ, घलेले भने, भु–गर्भविद् पठाएर अध्ययन गरेर त्यहाँ बस्न हुने कि नहुने निक्र्यौल गरेर मात्र गाउँ स्थानान्तरण गर्ने कुरा गर्नुभएको छ।’

पहिरो पीडितलाई नयाँ घर बनाउन संघीय र प्रदेश सरकारले दिने अनुदानमा गाउँपालिकाले परिवारको अवस्था हेरेर ५० हजारदेखि १ लाखसम्म सहयोग गर्ने निर्णय गरेको उनले जानकारी दिए । पहिरोले घरबार विहिन बनेका नागरिकलाई सामुदायिक भवन, पाल र केही आफन्तको शरणमा गएको घलेले बताए ।

चर्चामा

सम्बन्धित समाचार