शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • १५ किलो सुनकाण्डमा खुलेका नयाँ गुत्थीहरू

१५ किलो सुनकाण्डमा खुलेका नयाँ गुत्थीहरू

  • शनिबार, साउन १७, २०७७
१५ किलो सुनकाण्डमा खुलेका नयाँ गुत्थीहरू

मंगलबार बिहानै एउटा खबर आयो- काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भयो।

महानगरीय प्रहरी परिसरले यसबारे जानकारी दिन दिउँसो पत्रकार सम्मेलन गर्‍यो। तर, पत्रकार सम्मेलनमा कुरा फेरियो।

बिहान १५ किलो भनिएको सुनमध्ये साढे १४ किलो चाँदी भएको प्रहरीले बतायो। शंकास्पद व्यक्तिहरू बा६च ५५१९ नम्बरको स्कर्पियोबाट सुन भएको झोला फ्याँकेर भागे भन्ने प्रहरीको भनाइ थियो।

यसरी बिहान र दिउँसोको कुरा आनका तान फेरिएपछि प्रहरी विवादमा तानियो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यसमा अनुसन्धान गर्न एसएसपी सुशीलसिंह यादवको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो।

पन्ध्र किलो सुनकाण्डको यो अनुसन्धानबाट नयाँ-नयाँ गुत्थीहरू खुल्दै गएका छन्।

सबभन्दा पहिला त, प्रहरीले कमलादीबाट सुन बरामद गरेको भने पनि खासमा सुन्धाराको आकाशे पुलबाट बरामद भएको पत्ता लागेको छ।

दोस्रो, सुनकाण्डमा समातिएकाहरूले आफूलाई पक्रन आएका प्रहरीलाई नै सुन बुझाएर उनीहरूकै मिलेमतोमा फरार भएको बयान दिएका छन्। यही आधारमा दरबारमार्ग प्रहरी टोलीका जवान प्रसन्न श्रेष्ठको कोठामा शुक्रबार छापा मार्दा एक किलो भेटिएको छ। उनी सुन बरामद गर्ने टोलीमा संलग्न थिए। अहिले प्रहरी हिरासतमा छन्।

रोचक कुरा त, प्रसन्नको कोठामा फेला परेको एक किलोमा पनि बाहिर-बाहिर मात्र सुनजस्तो लेप लगाइएको र भित्र चाँदी भएको खुलेको छ।

कुरा यतिमै टुंगिन्न।

अनुसन्धानमा संलग्न स्रोतहरूका अनुसार, घटनाको सुरूआत सोमबार रातिबाट हुन्छ, जब महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी रञ्जन दाहाललाई सुनको सूचना आउँछ। उनलाई सूचना दिने व्यक्ति दरबारमार्गकै घुमुवा प्रहरी जवान प्रसन्न श्रेष्ठ थिए। प्रसन्नलाई पनि उनका ब्याची साथी प्रहरी जवान बहादुरसिंह कडायतले सूचना दिएका रहेछन्।

सुन बरामद गर्न डिएसपी दाहाल र उनको टोली मंगलबार कमलादीको एउटा बैंकअगाडि एम्बुस थापेर बसे। सुन बोकेका व्यक्तिहरू भने मेरियट होटल छेउको अपार्टमेन्टबाट स्कोर्पियो चढेर कमलपोखरीबाट सुन्धारातिर गए।

प्रसन्न र बहादुरसिंहले उनीहरू अर्कै बाटो गएको थाहा पाएपछि मोटरसाइकलमा पिछा गरे।

स्कोर्पियोमा चार जना थिए। तीमध्ये एक जनाले प्रहरी पछि लागेको थाहा पाए। प्रहरीबाट छुट्कारा पाउन सुन बुझाइदिने सल्लाह गरे। सुन्धारा पुगेपछि उनीहरूले गाडी रोके र सुन भएको झोला लिएर एक जना गाडीबाट ओर्ले।

त्यसपछि प्रसन्न र बहादुरसिंहले नै उनलाई सिसिटिभी पहुँच नभएको सुन्धाराको आकाशे पुलमा लगेको स्रोत बताउँछ।

‘त्यहाँ पुगेपछि उनीहरूले एक किलो सुन आफ्ना लागि छुट्याएछन्। अनि बाँकी सुन फ्याँकेर भागे भन्ने जानकारी डिएसपी दाहाललाई दिएछन्,’ स्रोतले भन्यो, ‘डिएसपी दाहाल सुन्धारा पुगुञ्जेल स्कोर्पियो सानेपा कटिसकेको थियो। त्यसपछि प्रसन्न र बहादुरसिंहले सुन बरामद गर्दा प्राप्त हुने ‘कमिसन’ को लोभ देखाएर घटनास्थल परिवर्तन गर्न डिएसपी दाहाललाई सुझाएछन्।’

स्रोतले अगाडि भन्यो, ‘सुन्धारा उनीहरूको कार्यक्षेत्रमा पर्दैन। त्यहाँ समातियो भनेर भन्दा सबै सुन सुन्धारा प्रहरीलाई बुझाउनुपर्ने हुन्छ। त्यही भएर उनीहरूले घटनास्थल परिवर्तन गरेको देखिन्छ।’

यी सबै योजना गर्दा गर्दै बिहान ९ बजे भएको भनिएको घटनाबारे प्रहरी परिसर वा कन्ट्रोलमा ढिला गरी जानकारी दिइएको स्रोतले बतायो।

यो घटनापछि डिएसपी दाहाललाई बिहीबार पुलिस एकेडेमी तानिएको छ। उनको सट्टा महानगरीय प्रहरी वृत्त प्रमुखको जिम्मेवारी डिएसपी रामशरण पौडेललाई दिइएको छ।

स्रोतका अनुसार प्रहरी जवान बहादुरसिंहलाई सुराकी दिने व्यक्ति कौशल पटेल हुन्। उनी लाजिम्पाटमा जेम एन्ड ज्वेलरी सञ्चालन गर्दै आएका छन्। बहादुरसिंहले लाजिम्पाट वृत्तमा हुँदा कौशललाई चिनेका थिए। कौशल पक्राउ परिसकेका छन्। उनले यो घटनामा दोहोरो भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ।

निलेश शाखिया लगायत अन्य दुई जना व्यापारीले कौशल र उनका दाइ देवानसिंह पटेलमार्फत् उक्त सुनमा लगानी गरेका थिए। भारतमा लगेर बढी मूल्यमा बेच्न उनीहरूले लगानी गरेको देखिन्छ।

तर, कौशल र देवानले यहाँनिर छल गरे। उनीहरूले चाँदीमा सुनको जलप लगाएर बेचे। न्यूरोडका एक कालिगढ मनिष मल्लिकलाई केही हजार रकम दिएर चाँदीमा सुनको जलप लगाइएको छानबिन समितिका एक अधिकृतको भनाइ छ।

‘कौशल र देवानले नै चाँदीमा सुनको जलप लगाएको देखिन्छ,’ ती अधिकृतले भने, ‘उनीहरूले एकातिर लगानीकर्तालाई ठग्न खोजेको देखिन्छ भने अर्कातिर प्रहरीलाई सुराकी दिएर सुन जफत गराउन खोजेको बुझिन्छ।’

घटनापछि देवानसिंह, निलेश र यसैमा संलग्न अर्का व्यक्ति विजय पटेल नागढुंगाबाट ट्याक्सी चढेर फरार भएका थिए। काठमाडौंमा बिरामी लिएर आएको ट्याक्सी खाली फर्केर जानुभन्दा ती तीन जनालाई लिएर गएको स्रोत बताउँछ। नवलपरासीको दुम्कीबासमा उनीहरू पक्राउ परे।

प्रहरीले यो घटनामा ९ जनालाई समातेको छ। पक्राउ पर्नेमा निलेश, कौशल, देवानसिंह, विजय, प्रहरी जवान प्रसन्न र उनका घरबेटी उमेश श्रेष्ठ, बहादुरसिंह, ट्याक्सी चालक र कालिगढ मनिष छन्।

प्रहरीले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार