बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • दैलेखमा समुदायस्तरमै फैलियो कोरोना, गाउँपालिकामा निशेधाज्ञा जारी

दैलेखमा समुदायस्तरमै फैलियो कोरोना, गाउँपालिकामा निशेधाज्ञा जारी

  • बिहिबार, साउन ८, २०७७
दैलेखमा समुदायस्तरमै फैलियो कोरोना, गाउँपालिकामा निशेधाज्ञा जारी

दैलेख — दैलेखमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण समुदायस्तरमै फैलिएको पाइएो छ । जिल्लाको ठाटीकाँध गाउँपालिकामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको हो । गाउँपालिकाका ७३ जना समुदायस्तरका नागरिकको स्वाब संकलन गरी परीक्षण गर्दा १६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

बुधबार १६ जनामा कोरोना पुष्टि भएको हो । दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

कोभिड -१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार दुईजना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ८ सय ३४ जना पुगेको छ ।

कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले उक्त गाउँपालिकामा निशेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलद्धारा जारी विज्ञप्तीमा बिहीबारदेखि अनिश्चितकालिन निशेधाज्ञा जारी गरिएको हो ।

गाउँपालिकामा प्रवेश गर्न सबै नाकाहरु पूर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कटेलले जानकारी दिए । जिल्लाभर संक्रमितमध्ये ५२ महिलासहित सात सय ८५ जना कोरोना जीतेर घर फर्किइसकेका छन् ।

दैलेख जिल्ला अस्पताल÷नारायण नगरपालिकाबाट दुई सय ५४ जना डिस्चार्ज भएका छन् । नारायण नगरपालिकामा मात्रै दुई सय ४६ जनामा कोरोना संक्रमण देखिएको थियो । दैलेख जिल्ला अस्पताल÷नारायण नगरपालिकाबाट डिस्चार्ज भएका मध्ये अन्य जिल्ला र स्थानीय तहका संक्रमित समेत रहेको रेग्मीले जानकारी दिए । त्यसैगरी दुल्लु नगरपालिकाका एक सय पाँचजना संक्रमितमध्ये ९३ डिस्चार्ज भइसकेका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिकाका ६ जना संक्रमित डिस्चार्ज भइसकेका छन् ।

यस्तै आठबीस नगरपालिकाका २४ मध्ये २३, ठाटीकाँध गाउँपालिकाका २० मध्ये चार, भैरबी गाउँपालिकाका १७ मध्ये सात, महाबु गाउँपालिकाका एक सय ६७ मध्ये एक सय ६५ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखको तथ्यांक अनुसार नौमूले गाउँपालिकाका एक सय ५१ मध्ये एक सय ४४, भगवतीमाई गाउँपालिकाका १५ मध्ये १४, डुङ्गेश्वर गाउँपालिकाका ७३ मध्ये ६६ र गुराँस गाउँपालिकाका १० मध्ये ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

हाल जिल्लाभर ४९ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । साभार

चर्चामा

सम्बन्धित समाचार