बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • अस्पतालकै संलग्नतामा यसरी गरियो मिर्गौलाको किनबेचदेखि प्रत्यारोपणसम्म

अस्पतालकै संलग्नतामा यसरी गरियो मिर्गौलाको किनबेचदेखि प्रत्यारोपणसम्म

  • बिहिबार, साउन १, २०७७
अस्पतालकै संलग्नतामा यसरी गरियो मिर्गौलाको किनबेचदेखि प्रत्यारोपणसम्म

गत शनिवार अर्थात् असार २७ गते मानव बेचविखन नियन्त्रण ब्यूरोको एक टोली चितवनस्थित सिएमएस अर्थात् कलेज अफ मेडिकल साइन्सेजको हातामा पुग्यो । डिएसपीको कमाण्डमा गएको टोलीले चितवनबाट कलेजका सिइओ डाक्टर सुप्रभात श्रेष्ठ, कलेजमै कार्यरत अर्का डाक्टर बालकृष्ण कालाखेती, कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई ब्यूरोको टोलीले चितवनबाट पक्राउ गर्यो ।

यता शनिवार नै काठमाडौँबाट डिएसपीकै नेतृत्वमा गएको अर्को टोलीले वरिष्ठ नेफ्रोलोजी सर्जन डाक्टर राकेश कुमार वर्मा सहित ८ जनालाई पक्राउ गरी ब्यूरोको कार्यालयमा ल्यायो ।

एकैदिन १२ जना व्यक्तिलाई पक्राउ गर्नुको कारण थियो – जालसाजी गरी मिर्गौलाको किनबेच र प्रत्यारोपण गरिएको । कलेज अफ मेडिकल साइन्सेज सिएमएसमा २०७६ साल जेठ २७ गते गरिएको मिर्गौला प्रत्यारोपणमा गडबडी पाइएपछि मानव वेचविखन नियन्त्रण ब्यूरोको टोलीले त्यसबारे छानबिन थालेको थियो । गएको कात्तिक महिनामा आएको एउटा उजुरीबाट थालिएको छानबिन ८ महिनापछि निचोडमा पुग्यो कि मिर्गौला प्रत्यारोपणमा खेलबाड भएको छ । त्यसै आधारमा प्रहरीको उक्त ब्यूरोले एकैदिन १२ जनालाई पक्राउ गर्यो ।

यसरी गरियो मिर्गौलाको किनबेचदेखि प्रत्यारोपणसम्मको सेटिङ

ललितपुरका ५४ वर्षीय (तत्कालीन समयमा) एक पुरुष लामो समयदेखि मिर्गौलाको रोगी थिए । उनले लामो समयदेखि डाइलोसिस गराइरहेका थिए । उनीसँग प्रसस्त सम्पत्ति त थियो नै तैपनि उनका लागि मिर्गौला प्रत्यारोपण गर्न दाता भने पाइरहेको थिएनन् ।

भक्तपुर घर भएकी उनकी बहिनी जमुना राज भण्डारीले दाजुका लागि मिर्गौला दिन चाहेकी थिइन् । तर उनको मिर्गौला दिन नमिल्ने भयो । दाजुको बिग्रदो अवस्था देखेर जमुना चिन्तित थिइन् र उनले मिर्गौला दिने आफन्तको खोजी गरिरहेकी थिइन् । तर पनि उनका आफन्तहरु बिरामीलाई मिर्गौला दिन तयार थिएनन् ।

दाजुलाई उपचारका लागि (डाइलोसिस) गर्न अस्पताल लैजाने क्रममा जमुनाको चिनजान निलम्वित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलियासँग हुन्छ । थपलिया आफै पनि मिर्गौलाको बिरामी थिए र डाइलोसिस गराउँथे । एएटै प्रवृत्तिको बिरामी र उपचार भएको कारण उनीहरुबीच चिनजान भयो । थपलियाले नै जमुनालाई मिर्गौला किन्न सकिनेबारे सुझाए ।

कुनै गरीब व्यक्ति खोजेर मिर्गौला किन्न सकिने र उक्त मिर्गौला प्रत्यारोपण गर्न सकिने सुनेपछि जमुना आफन्तको मिर्गौला खोज्न छाडेर मिर्गौला बेच्ने व्यक्ति खोज्न थालिन् । यसै सिलसिलामा जमुनाको भेटघाट भयो भोजपुर स्थायी घर भई भक्तपुरको जगाती बस्ने रेश्मा राईसँग ।

जमुनाले रेश्मासँग दाजुका लागि मिर्गौला चाहिएको र दिने मान्छे भएमा राम्रो पैसा दिने कुरा बताइन् । त्यसका लागि जमुनाले रेश्मालाई जिम्मेवारी दिइन् । मिर्गौला दिने मान्छे भेटेमा अप्रेसन गर्ने डाक्टर खोज्ने, कागजात मिलाउने सबै काम गर्ने जिम्मेवारी निलम्वित सई योगेन्द्रराज थपलियाले लिएका थिए ।

आफन्त बनेर मिर्गौला दिन तयार भए खोटाङका २७ वर्षीय युवक

अन्ततः ५५ वर्षीय पुरुषका लागि मिर्गौला दिन तयार भए खोटाङका २७ वर्षीय युवक । ती युवकको खोजी गर्ने काम रेश्माले नै गरेकी थिइन् ।

खोटाङका ती युवक काठमाडौँमा सवारी मजदुरी गर्थे । विवाहीत ती युवकको आर्थिक श्रोत सवारी मजदुरीबाट आएको पैसाबाहेक अरु केही थिएन । सवारी मजदुरीबाट आएको पैसाले श्रीमती तथा एक सन्तानलाई हुर्काउन, बढाउन र पढाउन नै धौधौ पर्दथ्यो । गरिबीले गाँजेका उनलाई रेश्माले राम्रो रकम आउने प्रलोभन देखाइन् । एउटा मिर्गौलाले मात्रै काम गर्न सक्ने र एउटा मिर्गौला दिँदा १० लाख रकम आउने प्रलोभन दिएपछि ती युवक आफ्नो मिर्गौला दिन तयार भए ।

रेश्माले मिर्गौला दिने व्यक्ति तयार भएको बारे जमुनालाई जानकारी गराइन् । त्यसपछि जमुनाले अन्य चाँजोपाँजो मिलाउन थालिन् । मिर्गौला दिने व्यक्ति तयार भएपनि कानुनले तोकेका आफन्त बाहेक अन्य व्यक्तिबाट अङ्गदान लिन दिन नहुने कुरा उल्लेख गरेको छ । कानुनले मानव अङ्गको किनबेचमा प्रतिबन्ध लगाएको छ भने निश्चित आफन्तबाहेक अन्य व्यक्तिको अङ्ग प्रत्यारोपण गर्न प्रतिबन्ध लगाएको छ । त्यसकारण अब मिर्गौला दिने खोटाङका २७ वर्षीय युवक र ललितपुरका ५५ वर्षीय पुरुषबीच सम्बन्ध देखाउनतिर लागियो । अनि सम्बन्ध बन्यो मामा र भाञ्जा ।

कलेज अफ मेडिकल साइन्सेज

सक्कली भाञ्जा अष्ट्रेलियामा, नक्कली भाञ्जाको मिर्गौला प्रत्यारोपण

मिर्गौला रोगी ती व्यक्तिको एक भाञ्जा अष्ट्रेलियामा थिए । मिर्गौला दिने व्यक्ति र अष्ट्रेलियामा भएका भाञ्जाको उमेर लगभग मिल्थ्यो । त्यसपछि अष्ट्रेलियामै रहेका भाञ्जाको नाम र कागजात प्रयोग गरेर खोटाङ घर भएका नक्कली भाञ्जाको नाता प्रमाणित गर्नतिर लागियो ।

नाता प्रमाणित बनाउनका लागि साक्षी बस्ने लगायतका काम जमुना राजभण्डारीले गरिन् । ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयबाट जमुनाले नाता प्रमाणित गराइन् । नाता प्रमाणित गर्दा अष्ट्रेलियामै रहेका सक्कली भाञ्जाको नाम र फोटो प्रयोग गरियो र वडा कार्यालयबाट सिफारिस बनाइयो । अनि त्यो सक्कली नाता प्रमाणितको कागजात निलम्बित सई योगेन्द्रराज थपलियाको हातमा थमाइयो ।

नक्कली कागजात बनाउने काम गर्थे सई

हाल निलम्बनमा रहेका सई योगेन्द्रराज थपलिया यसअघि पनि मिर्गौलाको तस्करी प्रकरणमै पक्राउ परेका थिए । महाराजगञ्जको एक व्यक्तिका लागि मिर्गौला दिनका लागि नक्कली नाता बनाएर भारत पठाइएका पीडितका आफन्तले प्रहरीलाई खबर गरेपछि थपलिया पक्राउ परेका थिए । अनुसन्धानका क्रममा थपलियाले नक्कली कागजात बनाउने र सेटिङ गरी भारतमा मिर्गौलाको तस्करी गराएको पाइएको थियो । थपलिया पक्राउ पर्दा प्रहरीले उनको साथबाट विभिन्न सरकारी संस्थाको छाप, कागजात आदि बरामद गरेको थियो ।

यो घटनामा पनि थपलियाले नै नक्कली कागजातको काम गरेको पाइएको थियो । मिर्गौला दिने व्यक्ति भेटिएपछि अब काम बाँकी रह्यो डाक्टर र अस्पताल । कुन अस्पतालमा कसरी अप्रेसन गर्ने र कुन डाक्टर वा सञ्चालकसँग सेटिङ गर्ने भन्ने कामको जिम्मा भने अर्का जुनियर प्रहरी अधिकृतको हातमा पुग्यो ।

रेसुङ्गा ५ स्थायी घर भएका भीमप्रसाद खनाल नेपाल प्रहरीका असई हुन् । उनी आँफै पनि मिर्गौलाका रोगी हुन् र नियमित डाइलोसिस गराइरहेका छन् ।

हाल नेपाल प्रहरी अस्पतालमा काजमा रहेका असई खनालको चिनजान तत्कालीन शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका वरिष्ठ सर्जन डाक्टर राकेश कुमार वर्मासँग थियो । असई खनालले नै डाक्टर वर्मासँग अनधिकृत व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नेबारे कुरा गरे ।

तत्कालीन मानव अङ्ग प्रत्यारोपण केन्द्रका सर्जन डाक्टर राकेश कुमार वर्मा त्यतिबेला भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (सिएमएस) कलेजमा काम गर्न थालिसकेका थिए । मानव अङ्ग प्रत्यारोपण गर्नु परेमा वा अन्य जटिल अप्रेसन गर्नु परेमा डाक्टर वर्मा चितवन पुग्दथे ।

काठमाडौँमा प्रत्यारोपण गर्दा हल्लाखल्ला हुन सक्ने भएपछि तिनै डाक्टर वर्माले असई खनाललाई चितवनमा गएर प्रत्यारोपण गराउने कुरा गरे । त्यसका लागि अस्पतालमा आफूले पनि कुरा गर्ने कुरा बताए ।

सबैतिर माहोल सकारात्मक बनेपछि सक्कली नाता प्रमाणित र सिफारिसलाई निलम्बित सई योगेन्द्रराज थपलियाले रङ्गीन फोटोकपी गराए । तर रङ्गीन फोटोकपी गराउनुअघि मिर्गौला दिने भनिएका वास्तविक भाञ्जाको फोटो उप्काएर नक्कली भाञ्जा अर्थात् खोटाङका २७ वर्षीय युवकको फोटो टाँसियो । अनि रङ्गीन फोटोकपी गरेर नक्कली हस्ताक्षरसमेत गरी उक्त नाता प्रमाणित र सिफारिसको कागज सिएमएस अस्पतालमा बुझाइयो ।

कानुनले फोटोकपीलाई मान्यता नै दिँदैन

मानव अङ्ग प्रत्यारोपण सम्बन्धि कार्याविधिले कुनै व्यक्तिको अङ्ग अर्को व्यक्तिका शरीरमा प्रत्यारोपण गर्न वा गराउनका लागि नाता प्रमाणित र सिफारिस आवश्यक रहने भनेको छ । तर उक्त नाता प्रमाणित वा सिफारिस सक्कल नै प्रत्यारोपण गराउने अस्पताल र समितिमा उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरिएको छ ।

मिर्गौला तस्करीमा अस्पताल प्रशासनकै यस्तो संलग्नता

मानव अङ्ग प्रत्यारोपणका लागि सक्कली नाता प्रमाणित र सिफारिस आवश्यक हुने भएपनियो प्रकरणमा भने परिवारले सक्कली नाता प्रमाणित नै अस्पतालमा बुझाएन । अस्पतालले पनि रङ्गीन फोटोकपीलाई नै स्वीकार गर्यो, जुन गैरकानुनी थियो ।

कानुनले सक्कली नाता प्रमाणितको कागजात नै पेश गर्नुपर्ने भनेको भएपनि कलेज अफ मेडिकल साइन्सेज (सिएमएस) ले फोटोकपीलाई स्वीकार गरेको छ । कारण, त्यो सबै सर्जन राकेश कुमार वर्माले सेटिङमा मिलाएका थिए । राकेशकै सेटिङमा फोटोकपीस्वीकार गरिएको थियो ।

पहिले भर्ना अनि स्वास्थ्य सोधपुछ !

मानव अङ्ग प्रत्यारोपणको प्रोटोकलअनुसार अङ्गग्रहण गर्ने र लिनेको सबै स्वास्थ्य परीक्षण सकिएपछि मात्रै अस्पतालमा भर्ना गर्न मिल्छ । त्यो भन्दा पहिले अस्पताल प्रशासनले प्राप्त कागजातको अध्ययन गर्नुपर्छ र अङ्ग प्रत्यारोपण स्वीकृति समितिसमक्ष पेश गर्दछ । जुन अस्पतालमा मानव अङ्ग प्रत्यारोपण गरिने हो, सो अस्पतालमा एउटा अङ्ग प्रत्यारोपण स्वीकृति समिति हुन्छ । उक्त समितिमा संस्थाका सिइओ वा प्रशासन प्रमुख, प्रत्यारोपणसँग असम्बन्धित तर सोही अस्पतालमा कार्यरत एक चिकित्सक, कानुनी सल्लाहकार र जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका प्रतिनिधि रहन्छन् । यो समतिलिे पहिले अङ्ग लिने र दिनेको कागजातको अध्ययन तथा सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ तथा जाँच पड्ताल गरिसकेपछि मात्रै स्वीकृति दिन मिल्छ ।

तर २७ जेठ, २०७६ मा सिएमएस कलेज एण्ड हस्पिटलमा भएको मिर्गौला प्रत्यारोपणको घटनामा भने प्रोटोकल नै उल्टो भएको छ । मिर्गौला लिने र दिने व्यक्तिलाई जेठ २० गते नै अस्पतालमा भर्ना गरिएको छ । तर जेठ २३ गते मात्रै सिएमएस अर्थात् अस्पतालले कागजात प्रमाणिकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर र ललितपुर महानगरपालिका वडा नम्बर ३ मा लेखी पठाएको छ ।

अनि सोही दिन वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरले कागजात सही भएको व्यहोराको विवरण लेखी अस्पतालमा पठाएको पाइएको छ । तर जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयमा सिएमएसले पठाएको कागजातको प्रतिलिपि वा पत्र भने पाइएको छैन ।

जिल्ला प्रशासनमा कागजात नै छैन

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत दीपक न्यौपानेका अनुसार जिल्ला प्रशासन कार्यालयमा चितवनको सिएमएस अस्पतालबाट पत्र आएको रेकर्ड नै छैन । उनी भन्छन्, ‘हाम्रो अभिलेखमा हेर्दा त्यो अस्पतालबाट कुनै पत्र आएको देखिँदैन र हामीले कुनै पत्र दिएको पनि देखिएन ।’

यद्यपि प्रशासकीय अधिकृत न्यौपानेले कार्यालयका खरिदारले ‘रेकर्ड भिड्छ’ भनी लेखिदिएको र छाप लगाएको पाइएको बताएका छन् ।

यता ललितपुर महानगरपालिका वडा नम्बर ३ को कार्यालयले पनि नाता प्रमाणित सककली नै भएको भन्दै सिफारिस दिएको छ । तर वडा कार्यालयमा पनि हालसम्म सिएमएस अस्पतालले पठाएको पत्र भने पाइएको छैन ।

कसले ल्याएको थियो सिएमएसबाट पत्र ?

मानव अङ्ग प्रत्यारोपणको प्रोटोकल अनुसार अस्पताल प्रशासनले नै कागजातको प्रमाणिकरणका लागि मान्छे खटाउने वा सोध्ने गर्नुपर्छ । पछिल्लो समय इमेल वा अनलाइनबाट पनि प्रमाणिकरण गर्न थालिएको छ ।

तर एक व्यक्तिको मिर्गौला झिकेर अर्को व्यक्तिको शरीरमा राख्नेजस्तो महत्त्वपूर्ण कामका लागि कागजात प्रमाणिकरण गर्ने क्रममा पनि अस्पतालले चरम लापरवाही गरेको देखिन्छ । सक्कल कागजात नलिई फोटोकपीलाई नै मान्यता दिनु, कागजातको प्रमाणिकरण आँफै नगर्नुले यो घटनामा अस्पताल प्रशासनको मिलेमतोको आशंका गरिएको छ । मिर्गौला लिने र दिनेसँग समितिले कुनै सोधपुछ नगर्नुले पनि यो र्याकेटमा अस्पतालको पनि प्रतक्ष मिलेमतो भएको बुझ्न कठिन छैन ।

१० लाख दिन्छु भनेर २ लाख मात्रै दिएपछि पोल खुल्यो

एउटा मिर्गौला दिएबापत १० लाख रुपैयाँ पाइने भनेपनि मिर्गौला दिने पीडितले भने करिब २ लाख रुपैयाँमात्रै पाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । २०७६ कात्तिक महिनामा अख्तियार हुँदै आएको बेनामे उजुरीमा मिर्गौला दिने व्यक्तिको नामसहित सामान्य घटना विवरण आएको थियो । त्यसको थप अनुसन्धान गर्ने क्रममा पीडितले कोही आफन्तमार्फत् आफूले पाउनुपर्ने रकम नपाएको गुनासो गरेका थिए । त्यही गुनासो पछि अख्तियार र मानव वेचविखन नियन्त्रण ब्यूरोमा आएपछि घटनाको थप छानबिन हुँदा मिर्गौला तस्करीको रहस्य खुलेको हो ।

४ वर्षपछिको त्यो प्रत्यारोपण …

त्यसो त सिएमएसमा २०७२ सालपछि कुनै प्रत्यारोपण नै भएको थिएन । २०७२ सालमा भूकम्पको समयमा एउटा मिर्गौला प्रत्यारोपण भएको थियो । त्यसपछि २०७६ जेठ अर्थात् ४ वर्षपछि मात्रै अर्को प्रत्यारोपण भयो । ४ वर्षपछि एकाएक काठमाडौँका बिरामी र डाक्टर चितवन गएर मिर्गौला प्रत्यारोपण गराउनुले पनि शंका उब्जाएको थियो । र, उक्त प्रत्यारोपण सेटिङमै गरिएको त्यसले पुष्टी गरेको छ ।

अस्पतालले लिएको थियो १४ लाख रुपैयाँ

अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गराउँदा औसतमा ५ लाख रुपैयाँ मात्रै खर्च हुन्छ । उक्त रकम पनि सरकारले सोधभर्ना दिने गरेको छ । तर नक्कली काम गर्नकै लागि निजी अस्पताल गएर मिर्गौला लिने परिवारले करिब २८ लाख खर्च गरेको थियो । २८ लाख रकममध्ये १४ लाख रुपैयाँ अस्पताल, १० लाख रुपैयाँ दलाल तथा डोनरलाई दिएको बुझिएको छ । बााकी ४ लाख रुपैयाँ प्रशासनिक काम र अन्य कुरामा खर्च भएको बताएका छन् ।

सैयौँ प्रत्यारोपणमाथि ब्यूरोको छानबिन सुरु

मिर्गौला प्रत्यारोपणका क्रममा नक्कली नाता बनाएर नक्कली व्यक्तिकै मिर्गौला किनबेच गरी प्रत्यारोपण गरिएको २ वटा घटना प्रमाणित भएपछि यतिबेला नेपाल प्रहरीको मानव वेचविखन नियन्त्रण ब्यूरोले मिर्गौला प्रत्यारोपणका सैयौं घटनालाई सुक्ष्मरुपमा अध्ययन गर्न थालेको छ । समाजका धनी र उच्चपदस्थ व्यक्तिहरुले गरीबहरुको मिर्गौला किनेर प्रयोग गरेको आरोप तथा गुनासाहरु आउन थालेपछि अहिले नेपालमा प्रत्यारोपण भएका सबैजसो घटना र भारतमा भएका प्रत्यारोपणका घटनामा पनि लिने र दिने व्यक्ति सही हो वा होइन भनी छानबिन सुरु गरिएको ब्यूरोको दाबी छ । ब्यूरोका एक अधिकारी भन्छन्, ‘हामीले मिर्गौला प्रत्यारोपणका थप केशहरु पनि अध्ययन गरिरहेका छौँ । यो झन्झन् जटिल बन्दै गएको छ । मिर्गौला प्रत्यारोपणमा गडबड भएको थप घटनाहरु बाहिर आउनेछन् ।’राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार