शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • ‘सुसाइड नोट’ लेखेर एक जनाले गरे हिरासतमा आत्महत्या

‘सुसाइड नोट’ लेखेर एक जनाले गरे हिरासतमा आत्महत्या

  • बुधबार, असार १७, २०७७
‘सुसाइड नोट’  लेखेर एक जनाले गरे हिरासतमा आत्महत्या

बुधबार बिहान बलात्कारको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका सिराहको औराही गाउँपालिका –३ का २४ वर्षीय युवक दुर्गेस यादवले झुण्डिएर आत्महत्या गरेको प्रहरीले दावी गरेको छ ।

आत्महत्या गरेका यादवको साथबाट सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ । ललितपुर परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार यादवले अस्पतालको बिलमा सुसाइड नोट लेखेर छाडेका छन् ।
हिरासतभित्र रहेका यादवलाई सुसाइड नोट लेख्न कलम कसले दियो ? प्रश्न उब्जिएको छ । ‘हामीलाई पनि थाहा छैन,’ ललितपुर परिसरका एसएसपी टेकप्रसाद राई भन्छन् ।

परिवारका सदस्यका अनुसार सुसाइड नोटमा यादवले ‘म माथि जुन प्रकारको आरोप लगाइएको छ । मैले त्यो गरेको छैन । म त्यस्तो सोच्न पनि सक्दिनँ । मबाट हुनै सक्दैन । यस्तो आरोप लागेपछि मैले समाजमा कसरी मुख देखाउन सक्छु ? त्यसैले यो संसारबाट बिदा हुन चाहन्छु,’ उनले सुसाइड नोटमा लेखेका छन् ।

एसएसपी राईले भने, ‘यादवको शव पोष्टमार्टमको लागि पठाएका छौं । रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान हुनेछ ।’ सुसाइड नोटमा के लेखिएको भन्नेबारे प्रहरीले भने केही खुलाएको छैन ।
यादवमाथि एक महिलालाई मकैबारीमा बलात्कार गरेको आरोप लागेको थियो । यादव बलात्कारको मुद्दामा यही असार १४ गते ललितपुरको ग्वार्कोबाट पक्राउ परेका हुन् । पक्राउपछि उनलाई हिरासतभित्रै क्वारेन्टिनमा राखिएको थियो ।

यादवसँगै अन्य २ युवकले पनि महिलालाई बलात्कार गरेको खुलेको छ । ‘ती दुई युवाहरु को थिए ? तिनीहरुलाई प्रहरीले किन खोज्दैन ?’ यादवका आफन्तको प्रश्न छ । बलात्कार प्रयास भएकी महिलालाई समेत हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने यादवको परिवारको माग छ ।

बलात्कार भएको आरोप लगाएकी महिलाले अन्य दुई जना युवकलाई समेत चिनेको पाइएको छ । साथीको कोठाबाट घर फकिँदै गर्दा आफूमाथि बलात्कारको प्रयास भएको ती महिलाको भनाइ छ ।

एसपी कार्कीका अनुसार यादवले हिरासत कक्षमा रहेको तन्ना च्यातेर ट्वाइलेटको ‘भेन्टिलेसन’ मा झुण्डिएर आत्महत्या गरेका हुन् । झ्यालमा झुण्डिएको अवस्थामा फेला परेपछि यादवलाई प्रहरीले तत्काल पाटन अस्पताल लगेको थियो ।

अस्पतालले उनलाई केहीबेर अघि मृतक घोषणा गरेको हो । जिल्ला अदालत ललितपुरबाट असार १५ गते म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार