शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • चीनमा भयो एसियाकै महँगो डिभोर्स, अर्बपतिको रुपमा थपिइन् नयाँ महिला

चीनमा भयो एसियाकै महँगो डिभोर्स, अर्बपतिको रुपमा थपिइन् नयाँ महिला

  • सोमवार, जेष्ठ २६, २०७७
चीनमा भयो एसियाकै महँगो डिभोर्स, अर्बपतिको रुपमा थपिइन् नयाँ महिला

सामान्यतया वैवाहिक जीवनमा दरार आउनु अर्थात् डिभोर्स हुनु सुखद घटना पक्कै होइन । तर आधुनिक जीवनयापन तथा सामाजिक सम्बन्ध तथा मान्यतामा आइरहेको परिवर्तनसँगै दुनियाँमा दम्पतीहरुबीच पारापाचुकेका घटना बढिरहेका छन् ।

धेरै डिभोर्सहरु सम्बन्धित लोग्ने स्वास्नी र परिवारको जानकारीमा सिमित हुन्छन् । तर केही डिभोर्सहरु यस्ता हुन्छन् जसले दुनियाँभर चर्चा कमाउनुका साथै इतिहासको पानामा समेत दर्ज हुन्छन् ।

चीनमा एउटा यस्तै डिभोर्स भएको छ, जहाँ लोग्ने सँगको डिभोर्सपछि एक महिला अर्वपति बनेकी छिन् । भ्याक्सिन उत्पादन गर्ने चिनियाँ कम्पनी शेन्झेन कंगटाइ बायोलोजिकल प्रोडक्ट्सका अध्यक्ष डु वाइमिन र उनकी पत्नी युआन लिपिंगबीचको डिभोर्सलाई एसियाकै महँगो डिभोर्स मानिएको छ ।

डिभोर्ससँगै अर्वपति डुले अंशको रुपमा आफ्नी पूर्वपत्नीलाई कम्पनीको १६ करोड १३ लाख कित्ता शेयर नामसारी गरिदिए । त्यो सँगै युआन लिपिंग डलर अर्बपति बनिन् र विश्वका अर्बपतिहरुको सूचीमा आफ्नो नाम लेखाउन सफल भइन् ।

डिभोर्सपछि उनलाई प्राप्त शेयरको मूल्य गत सोमबार ३ अर्ब २० करोड डलर रहेको थियो । नयाँ अर्वपति युआनले डिभोर्सपछि अंशको रुपमा प्राप्त गरेको अर्बौँको शेयरको स्वामित्व आफ्नो भए पनि शेयर बापत कम्पनीमा प्राप्त हुने मताधिकार भने आफ्ना भूपुपति डुलाई नै प्रत्यायोजन गरेकी छिन् ।

युआनसँग क्यानेडाली नागरिकता पनि छ । उनी सन् २०११ देखि २०१८ सम्म उक्त कम्पनीको निर्देशक पदमा कार्यरत थिइन् । अहिले उनी सोही कम्पनीको भगिनी कम्पनीका रुपमा रहेको बेइजि मिन्हाइ बायोटेक कम्पनीको उपमहाप्रबन्धकको रुपमा रहेकी छिन् ।

डिभोर्सअघि कूल ६ अर्ब ५० करोड डलर सम्पत्ति रहेका डु को सम्पत्ति डिभोर्सपछि ३ अर्ब १० करोडमा झरेको छ । जसमा उनको धरौटीबापतको शेयर समावेश छैन ।

स्मरण रहोस् डिभोर्सका क्रममा आफ्नो अर्बौँको सम्पती बाँडचुँड गर्न बाध्य चिनियाँ अर्बपति डु मात्र एक्लो छैनन् । यसअघि सन् २०१२ मा चीनकी सबैभन्दा धनी महिला उ याजुनले डिभोर्ससँगै २ अर्ब ३० करोड डलर बराबरको सम्पति आफ्नो भुपु लोग्नेको नाममा दिनुपरेको थियो ।

त्यस्तै सन् २०१६ मा बेइजि कुन्लुन टेक कम्पनीका मालिक चिनियाँ अर्बपति झोउ याहुइले डिभोर्ससँगै १ अर्ब १० करोड डलर बराबरको कम्पनीको शेयर आफ्नी पूर्वपत्नीका नाममा नामसारी गरिदिएका थिए ।

चिनियाँ अर्बपति डु ले हालै आफ्नी पत्नीलाई ३ अर्ब डलर बराबरको शेयर दिएर गरेको डिभोर्स एसियाकै सबैभन्दा महँगो डिभोर्स हो । विश्वकै सबैभन्दा महँगो डिभोर्सचाहिँ अमेजन कम्पनीका मालिक जेफ बेजोस र उनकी पूर्वपत्नी म्याकेन्जी बेजोसबीचको डिभोर्स हो ।

डिभोर्सका क्रममा जेफले म्याकेन्जीलाई अमेजन कम्पनीको ४ प्रतिशत शेयर नामसारी गरिदिएका थिए । म्याकेन्जीको सम्पती अहिले ४८ अर्ब डलर छ । उनी विश्वकै चौथो सर्वाधिक धनी महिला हुन् । ब्लुम्बर्गबाट

चर्चामा

सम्बन्धित समाचार