शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीलाई विज्ञको सुझाव– परीक्षणको दायरा बढाउनूस्, जथाभावी नबोल्नूस्

प्रधानमन्त्रीलाई विज्ञको सुझाव– परीक्षणको दायरा बढाउनूस्, जथाभावी नबोल्नूस्

  • बुधबार, जेष्ठ २१, २०७७
प्रधानमन्त्रीलाई विज्ञको सुझाव– परीक्षणको दायरा बढाउनूस्, जथाभावी नबोल्नूस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले विज्ञहरुसँग बालुवाटारमा पाँचघण्टा छलफल गरेका थिए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले प्रधानमन्त्री ओलीले विज्ञ समूहको टोली बनाउने आश्वासन दिएको बताए ।स्वास्थ्यविद् डा. समीरमणि दीक्षितले आफूले प्रधानमन्त्रीलाई परीक्षणको दायरा बढाउन सुझाव दिएको बताए ।

“मैले प्रधानमन्त्रीलाई तपाइँले कोरोनाका सम्बन्धमा बोसीय तत्वको विषयमा दिएको धारणामा अध्ययन पुगेन भनेर भनेँ,” डा. दीक्षितले पत्रकारहरूसँग  भने, “कोरोना सम्बन्धी तपाइँको अध्ययन पुगेन । सरकारले परीक्षणको दायरा बढाउनैपर्‍यो । सरकारी अस्पतालले नसके निजीलाई पनि परीक्षणको जिम्मा दिनुपर्छ ।”
अर्का जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिए ।

“लकडाउनलाई अनन्तकालसम्म लम्ब्याउन पनि सकिँदैन । पहिलो चरणमा खाद्यान्न पसलहरु, सेवामूलक क्षेत्रहरु खोल्नुपर्छ । आर्थिक क्रियाकलाप पनि गर्न दिनुपर्छ,” उनको सुझाव थियो, “स्कुल कलेजहरु केही पछि खोल्दा हुन्छ । तर लकडाउनको अहिलेको मोडालिटी परिवर्तन हुनैपर्छ । अहिलेको अवस्था नफेर्ने हो भने अवस्था डामाडोल हुन सक्छ ।”

उनले अस्पतालमा कोरोना देखिनासाथ अस्पताल नै सिल गर्ने काम बन्द गरिनुपर्ने सुझाव दिएका थिए । क्वारेन्टाइनमा मान्छे मर्नु भनेको अत्यन्तै नकारात्मक सन्देश जानु भएकाले पहिले क्वारेन्टाइनको सुधार गर्नुपर्ने सुझाव दिएका थिए । उनले पनि परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार