मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीका ५ संक्रमितलाई अस्पतालले भर्ना गरेन

कैलालीका ५ संक्रमितलाई अस्पतालले भर्ना गरेन

  • बुधबार, जेष्ठ २१, २०७७
कैलालीका ५ संक्रमितलाई अस्पतालले भर्ना गरेन

कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको छ । मंगलबार राति अस्पताल पुर्याइएका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरिगंगा नगरपालिकाका प्रमुख भिम देउवाले बताए ।

अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ । ‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरुलाई मन्दिरको हलमा व्यवस्थापन गरेका छौँ,’ नगर प्रमुख देउवाले भने, ‘अब के गर्ने भन्ने विषयमा छलफल हुँदै छ ।’
मंगलबार नै गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये २ जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य ३ जना सामान्य रहेको देउवाले बताए । कोरोना संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले भर्ना नलिएपछि समस्यामा परेको उनी बताउँछन् ।

स्थानीय तहले नै आइसोलेसन वार्ड बनाएर उनीहरुलाई राख्ने तयारीमा जुटेको मेयर देउवाले बताए ।सेती प्रादेशिक अस्पतालले भने शय्या अभावका कारण संक्रमितलाई राख्न नसकेको बताएको छ । ‘अस्पतालमा २४ शय्याको आइसोलेसन छ । हामीकहाँ २५ जना बिरामी भइसके । त्यसैले थप ५ जनालाई राख्न नसकेर फर्काएका हौँ,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने । उनले स्थानीय तहले अस्पतालसँग समन्वय नगरेर संक्रमितलाई ल्याएको बताए ।

चर्चामा

सम्बन्धित समाचार