शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोभिड–१९ को कारण गर्भवती तथा सुत्केरी मारमा

कोभिड–१९ को कारण गर्भवती तथा सुत्केरी मारमा

स्थानीय तह र प्रदेश सरकार तात्नुपर्ने विज्ञको सुझाव

  • बुधबार, जेष्ठ १४, २०७७
कोभिड–१९ को कारण गर्भवती तथा सुत्केरी मारमा

घटना १ः संखुवासभाकी गंगा कार्कीलाई बच्चा जन्माउन समस्या भएपछि हेलिकप्टर मार्फत शुक्रबार काठमाडौं ल्याइयो । उनलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा त ल्याइपुर्याइयो तर सोही साँझ उनको निधन भयो । संखुवासभाबाट प्रसूतिका लागि ल्याइएकी कार्कीलाई न्यूरो सम्बन्धी समस्या थियो । उनलाई न्यूरो सम्बन्धी उपचार आवश्यक भएपनि भेन्टिलेटरसहितको आईसीयूको सेवा तत्कालै उपलब्ध हुन नसक्दा उनको दुःखद मृत्यु भयो ।

घटना २ः कोरोना संक्रमणको कारण काठमाडौंको टोखामा अस्थायी बसोवास गर्दै आएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको निधन भयो । त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर सिन्धुपाल्चोक घर गएकी ती महिलालाई सास फेर्नमा समस्या हुन थालेपछि शुरुमा बाह्रबिसेको प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । तर त्यहाँ उपचार गर्न असम्भव भएपछि धुलिखेल अस्पतालमा रिफर गरिएको थियो । आखिरमा सुत्केरी भएको ९ दिनको दिन उनको निधन भयो । मृत्युपछि कोरोना संक्रमित थिइन् भनेर मृत्युका कारण कोरोनालाई जिम्मेवार ठहर्याइयो । तर विज्ञहरुको भनाइलाई हेर्ने र विश्लेषण गर्ने हो भने स्वास्थ्य चौकीमा आधारभूत स्वास्थ्य सेवा समयमै पाएको भएको सम्भवतः उनको त्यसरी दुःखद निधन हुने थिएन, उनी बाँच्ने सम्भावना बढी नै रहन्थ्यो ।

कोरोनाको महामारीका कारण अरु आधारभूत स्वास्थ्यसेवाहरु उपलब्ध हुन नसक्दा वा ढिलाइ हुँदा त्यसको मारमा आम सर्वसाधारणहरू कसरी पिसिइरहेका छन् भन्ने कुरालाई झल्काउने माथिका दुई घटना प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । कोरोना भाइरस कोभिड (१९) को संक्रमण पहिचान र नियन्त्रणका लागि सरकारले विगत दुई महिनादेखि गर्दै आएको लकडाउनका कारण गर्भवती, सुत्केरी आमा, नवजात शिशु स्वास्थ्य उपचारमा गम्भीर स्थिति पैदा भइरहेको बेलैमा उपचार पाउन नसक्ने गरी सिर्जना भएको स्थितिको कारण उनीहरु मारमा परिरहेको खतरनाक स्थितिलाई यसले देखाइरहेको छ ।

‘गर्भवती, सुत्केरी र नवजात शिशु स्वास्थ सेवाको पहुँचबाट टाढा भएमा भविष्यमा जटिल समस्या आउनुका साथै मृत्युको मुखसम्म पुग्नसक्ने’ स्त्रीरोग विशेषज्ञ डाक्टर सुशीला वैद्य बताउँछिन् ।

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा महिला रोग अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतम पनि ‘गर्भवती, सुत्केरी आमा पुर्णरुपमा मानसिक, शारीरिक र सामाजिक रुपमा स्वस्थ नभएमा आमा र बच्चामा भविष्यमा विभिन्न खालका स्वास्थ्य समस्या आउन सक्ने’ बताउँछन् ।

अघिल्लो वर्षको तथ्यांक हेर्दा गर्भवती तथा सुत्केरी महिलाहरु खतरनाक जोखिममा रहेको देखिन्छ । गत वर्ष अर्थात् ०७५ सालको चैत्र महिनामा मृत्यु हुने सुत्केरीको संख्या शुन्य थियो । तर ०७६ को चैत्रमा महिनामा ५३ जना गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको तथ्यांकहरुले देखाउँछन् । लकडाउनको कारण एक महिनाको अवधिमा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कमा पुग्न नसकेको तथ्यांक छ । स्मरण रहोस्, कोरोना संक्रमण पहिचान र नियन्त्रणका लागि नेपालमा लकडाउन गरेको दुई महिना भन्दा बढी भइसकेको छ ।

गर्भवती र सुत्केरीलाई सवारीको समस्या

लकडाउनको दुई महिनाको अवधिमा नेपालमा करीब ६० हजार सुत्केरी महिला स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेको आँकलन गरिएको छ । ‘लकडाउनका कारण र सवारी साधनको समस्या लगायतका कारणले गर्भवती महिलाले प्रसूति सेवा प्राप्त गर्न कठिनाइ भइरहेको र समस्या भोगिरहेको’ थापाथली प्रसूति गृहका निर्देशक डाक्टर गौतम बताउँछन् । उनका अनुसार कोरोना संक्रमणबाट बँच्ने नाममा अन्य रोगका बिरामी जस्तै गर्भवती, सुत्केरी तथा नवजात शिशु बढी मारमा परेका छन् ।

अहिलेको अवस्थामा ‘स्वास्थ्य संस्थामा सुत्केरी तथा जाँच गराउन आउने महिलालाई स्वास्थ्य संस्थाले सवारी उपलब्ध गराउन नसकिरहेको’ उनको भनाइ छ । ‘लकडाउनका कारण सवारी संचालनमा नआएको कारण गाउँ–गाउँका सुत्केरी तथा गर्भवती महिला समेत प्रभावित भएको उनी बताउँछन् ।

गर्भवतीमा मनोवैज्ञानिक समस्या

कोरोना भाइरस कोभिड–१९ का कारण लामो समय घरभित्रै थुनिनुपर्दा जो कोहीमा मनोवैज्ञानिक समस्या आउन सक्छ । अझ गर्भवती तथा सुत्केरी महिलामा त त्यो समस्याले झनै बढी सताउन सक्छ । ‘गर्भावस्था र सुत्केरी अवस्था अत्यन्तै महत्वपूर्ण समय भएकाले घरपरिवारले विशेष ख्याल गर्नुपर्ने’ डाक्टर वैद्य बताउँछिन् । लकडाउनको समयमा अस्पताल जान आउन समस्या भएका गर्भवती महिलाले घर नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने डा. वैद्यको सल्लाह छ । ‘स्वास्थ्यमा समस्या तथा गर्भ अवस्था गर्नुपर्ने जाँच तथा खानुपर्ने औषधिको बारेमा फोन मार्फत् स्वास्थ्यकर्मीसँग परामर्श गरेर जानकारी लिनुपर्ने’ उनी बताउँछिन् ।

डा. जागेश्वर गौतम पनि अहिलेको परिस्थितिले गर्दा ‘घरभित्र सीमित भएपनि गर्भावस्थामा नियमित रुपमा स्वास्थ्यकर्मीले दिएको औषधि सेवन गर्ने, घरबाहिर ननिस्कने, भिटामिन, आइरन, क्याल्सियमयुक्त खाने खानेकुरा जोड दिनुपर्ने’ बताउँछन् ।

प्रदेश स्थानीय तह संवेदनशील बन्नुपर्छ

लकडाउनको कारण टाढा सुदुर क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई झनै कठिनाई उत्पन्न भएको छ । उनीहरु स्वास्थ्य सेवाको पहुँचमा पुर्ण रुपमा पुग्न सकेका छैनन् । सहज अवस्थामा त निक्कै कठिनाई भोग्नुपर्ने उनीहरुले अहिलेको लकडाउनका कारण झनै जटिलता भोग्नु परिरहेको छ । अहिलेको परिस्थितिमा ‘स्वास्थ्य जाँच गर्न समस्या भएका गर्भवती तथा सुत्केरी महिलाको विषयमा गम्भीर भएर स्थानीय तथा प्रादेशिक सरकारले सवारी तथा स्वास्थ्य सेवा दिने समुह बनाएर सेवा दिएमा अकालमा सुत्केरी तथा नवजात शिशुले ज्यान गुमाउन नपर्ने’ डाक्टर वैद्य बताउँछिन् । ‘प्रदेश र स्थानिय तहले समन्वय गरेर गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा औषधि उपचार, सवारीको व्यवस्था गर्नुपर्ने’ उनको सुझाव छ ।।

‘गर्भवस्था डाक्टरको निगरानीमा रहेर स्वास्थ्य उपचार तथा औषधिको सेवन गर्दागर्दै पनि आमा र नवजातको अवस्था कहिलेकाहीँ असामान्य बन्न सक्छ,’ उनी भन्छिन्, लकडाउनको समयमा गर्भवती तथा सुत्केरी महिला स्वास्थ्य सेवा पहुँच भन्दा बाहिर भए झनै कस्तो स्थिति पैदा होला ? अनुमान मात्रै गर्न सकिन्छ ।’

‘गर्भवती महिलालाई स्वास्थ्यमा समस्या आएमा तत्काल सम्पर्क गर्नका लागि स्थानीय तह प्रदेशिक तहका स्वास्थ्य संस्था तथा वार्ड तहमा समेत आपतकालीन टेलिफोन सेवाको व्यवस्था गर्नुपर्ने’ डा. वैद्यको सल्लाह छ ।

लकडाउनको समयमा घरबाट बाहिर निस्कन नपाएको अवस्थामा गर्भवती, सुत्केरी र नवजात शिशुको जीवनरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह तथा प्रदेशिक तहले ध्यान दिएर काम गर्नुपर्ने सम्बन्धित विज्ञहरुको सुझाव छ । त्यसो गरेमा गर्भवती, सुत्केरी र नवजात शिशुको अकाल ज्यान जानबाट रोकिने उनीहरुको कथन छ ।

चर्चामा

सम्बन्धित समाचार