शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • समाज
  • दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी : दृढ सङ्कल्पका साथ सीतापुलबाट सीमा गस्ती

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी : दृढ सङ्कल्पका साथ सीतापुलबाट सीमा गस्ती

  • शुक्रबार, जेष्ठ २, २०७७
दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी : दृढ सङ्कल्पका साथ सीतापुलबाट सीमा गस्ती

दार्चुला : राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु ९गागा० मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ आजदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ।

सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मबाट बुधबार यहाँको सीमा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको हो । आफ्नो बन्दोबस्ती र गाँस, बास, कपासको जोहो गर्ने काम पूर्ण नहुँदै सशस्त्रले सीमा गस्तीलाई उच्च प्राथमिकता दिएर गस्ती नियमित गरेको हो। केही टोली दार्चुलाबाट आउँदै गर्दा अघिल्लो दिन आइपुगेका टोली सुरक्षामा खटिएको थियो।

टोलीले भारतसँग जोडिएको महत्वपूर्ण नाका सीतापुलबाट गस्ती थालेको हो। नेपाल र भारत आवागमनका लागि यहाँको सीमा क्षेत्रमा महाकाली नदीमाथि बनेको काठे कच्ची पुल छ। त्यही पुलबाट नेपालीहरु आवतजावत गर्ने गर्छन्। अहिले लकडाउनका कारण यहाँबाट आवतजावत ठप्प छ । यहाँको महत्वपूर्ण नाका मानिएको त्यही पुलबाट गस्ती थालिएको हो।

सीतापुलको नेपालतर्फको भूभागमा नियमित ड्यूटीमा टोली परिचालन हुने सीमा निगरानी चौकी ९बीओपी०का प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले बताए। उनका अनुसार उक्त बीओपीले यहाँको छाङरु, कौवा, तिङ्कर, बुदी, नितिकुण्डालगायतको क्षेत्रका सुरक्षा गर्नेछ।

गस्ती शुरु गर्नुअघि सीमा अवलोकनका क्रममा गृह मन्त्रीका सुरक्षा सल्लाहकार प्रा डा ईन्द्रजीत राई र सशस्त्र प्रहरी निरीक्षक चन्दसँग सीमा सुरक्षामा खटिएको भारतीय एसएसबीका भुपेन्द्रकुमारले भेट गरेका थिए। उक्त अवसरमा नेपालले आफ्नो सुरक्षाका लागि टोली ल्याएको जानकारी दिँदै डा राईले अन्य विषयहरु सरकारबीच नै छलफल हुने भएकाले आपसी समन्वयमा काम गर्नुपर्ने सुझाव दिए।

नेपाल सरकारको निर्णयमा बुधबार यहाँ सीमा निगरानी चौकी ९बीओपी० स्थापना गरिएको थियो। नेपाली सुरक्षा अधिकारीको झिनो उपस्थिति हुने गर्दथ्यो। दुई दिन हिँडेर पुग्ने हुम्लिङमा नेपाल प्रहरीको अस्थायी चौकी छ। तर छाङरु नजिकै नितिकुण्डामा रहेको प्रहरी चौकी भने गत मङ्सिरमा तल झरेपछि यहाँ सुरक्षाकर्मी शून्य थियो।

स्थानीय बासिन्दासमेत जाडोका कारण तल झरेपछि मानवीय उपस्थिति शून्य थियो । यहाँका स्थानीय चिसोका कारण छ महिना तल झर्ने गर्छन्। मङ्सिर १४ गते सदरमुकाम झरेको नेपाल प्रहरी पनि आजबाटै आफ्नो चौकीमा फर्किएका छन्।

सशस्त्र प्रहरीको बीओपी भने स्थानीय जीतबहादुर बोहराको घर मासिक रु २५ हजार तिर्ने गरी स्थापना गरिएको हो। नजिकै १५ रोपनी जग्गा व्यवस्थापन भएको छ। रु ११ करोड रकमसमेत सरकारले छुट्याइसकेको छ। भवन नबन्दासम्म सशस्त्र प्रहरी त्यही भाडाको घरमा बस्नेछ। चौकी स्थापनाका लागि गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा द्वन्द्व विशेषज्ञ प्रा डा राई, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापालगायत पुग्नुभएको थियो।

बुधबार त्यहाँ सात सशस्त्र प्रहरीलाई पु¥याइएको थियो। बाँकी १८ जना सशस्त्र प्रहरीको टोली र बन्दोबस्तीका सामान आज मात्रै पु¥याइएको हो। बुधबार सेनाको हेलिकोप्टरले केही मात्रै खाद्यान्न लगेकामा आज बाँकी खाद्यान्नसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पु¥याएको थियो। सशस्त्र प्रहरीका अनुसार यहाँ उनीहरुलाई छ महिना पुग्ने खाद्यान्न र बन्दोबस्तीका सामान लगिएको छ। केही लत्ताकपडा र बन्दोबस्तीका सामान सेनाको हेलिकोप्टरमा काठमाडौँबाटै ल्याइएको हो।

केही दिनअघि पिथौरागढबाट गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबर जाने लिपुभञ्याङसम्मको सडकको भारतले उद्घाटन गरेको थियो। त्यसैले सीमा रक्षाका लागि सरकारले तत्कालै यस क्षेत्रमा सशस्त्रको टोली पु¥याएको हो। गत मङ्सिरमा नै यहाँलगायत मुलुकका विभिन्न सीमा क्षेत्रमा ११४ बीओपी स्थापना गर्ने निर्णय भएको थियो। योसहित १४ स्थानमा मात्रै स्थापना भएको छ।

सकस छ छाङरु पुग्न

दार्चुला जिल्ला सदरमुकामबाट पारी भारतीय क्षेत्र धार्चुला पर्छ। पहिलेपहिले त्यही धार्चुलाबाट महाकाली नदी तिरैतिर भारतले बनाएको बाटो हुँदै नेपालीहरु यही सीतापुल तरेर छाङरु आउँथे। नेपालबाट यहाँ आउन बाटो छैन। खनीखोस्रो गरी र लहरा तथा डोरी समाउँदै हिँडेर आउन चारदेखि पाँच दिन लाग्छ।

लकडाउनका कारण भारतले प्रवेश नदिएपछि छाङरु गाउँका ११५ घरधुरी अझै फर्किएका छैनन्। उनीहरु गत कात्तिक मङ्सिरमा बेँसी झरेका थिए। उनीहरु सदरमुकाम आसपास नै बसिरहेका छन्। गाउँमा मान्छे नुहँुँदा जग्गा जमिन बाँझो छ। यतिबेला फापर गहुँ लहलह हुने बेला थियो। केही ठाउँमा लसुन लगाएको देखिन्छ भने यहाँ स्याउले फूल खेल्न थालेको देखिन्छ। सबै घरमा ताला झुण्ड्याइएको छ। गाउँले नभएको र प्रहरीसमेत नहुँदा यहाँ नेपालीको उपस्थिति छैन। भारतले जे गर्दा पनि प्रतिवाद गर्ने कोही छैनन्।

यहाँको व्यास–१ छाङरुमा ११५ घरधुरी छन्। दश किलोमिटर पर रहेको तिङकरमा ६८ घरधुरी छन्। यहाँ दुवै क्षेत्रमा गरेर एक हजार २२० जनसङ्ख्या रहेको प्रहरीको अभिलेखमा उल्लेख छ। यहाँबाट सुनसेरा ९गाउँपालिका सदरमुकाम० पुग्न झण्डै दुई दिन लाग्छ।

यहाँबाट माथि कालापानी झण्डै १५ किलोमिटरको दूरीमा पर्छ भने तिङ्कर १० किलोमिटरमा पर्छ। तिङ्करबाट लिपुलेक अन्दाजी त्यही १० किलोमिटरको दूरीमा रहेको स्थानीय जीतबहादुर बोहराले ताए। दार्चुलाबाट उत्तरपूर्वमा पर्ने छाङरुबाट लिपुलेक अन्दाजी २५ किलोमिटरको दूरीमा रहेको बताइन्छ। तर बाटो नभएकाले हिँडेर जान सकिने अवस्था छैन।

यस्तो छ भौगोलिक अवस्था 

छाङरुको पारी पट्टी अपिनाम्पा संरक्षण क्षेत्र छ। चारैतिर डाँडा सेताम्मे हिउँले भरिएका छन्, तल खोँच ९सानो उपत्यका जस्तो० स्थान गागा भन्ने ठाउँमा सशस्त्रको बीओपी स्थापना गरिएको छ। जीतबहादुरले रेष्टुरेन्ट बनाएको घरलाई भाडामा लिएर बसेको सशस्त्र प्रहरी नजिकै तिङ्कर नदी बग्छ।

अर्को कालापानी पट्टीबाट महाकाली नदी आउँछ। छाङरुस्थित सीतापुलमा दुई नदी मिसिन्छन् । त्यसैको दोभान क्षेत्र नै छाङरु हो। त्यो दोभानभन्दा ५०० मिटरमाथि छाङरु बस्ती छ।

भारतीय सीमा क्षेत्र सीतापुलबाट भने एक किलोमिटरको दूरीमा पर्छ सशस्त्रको निगरानी चौकी। यहाँ जाडोका बेला नदीको पानी नै जम्ने र हिउँ नै हिउँले ढाक्ने हुन्छ त्यसैले मानिसहरु जाडोमा तल झर्ने गर्छन्।

सबैभन्दा ठूलो समस्या सम्पर्क सञ्जाल र सडक 

यहाँको सूचना आदानप्रदानका लागि सबैभन्दा ठूलो समस्या सम्पर्क सञ्जाल कै हो। छाङरु पुगेका जो कोहीको अवस्था थाहा पाउन सकिँदैन। त्यहाँ के भइरहेको छ भन्ने जानकारी ल्याउन कि भारतीय क्षेत्रमा पुग्नुपर्छ नत्र भने दार्चुला नै फर्कनु पर्छ। सशस्त्र प्रहरीलाई पनि टेलिफोनको समस्या हुनेछ  जसका कारण महत्वपूर्ण सूचना आदानप्रदानमा समस्या पर्नेछ।

मलिन आवाजमा रेडियो बज्ने भएकाले मुलुकका केही खबर प्राप्त गर्न भने सकिन्छ। पहिले यहाँ स्काई फोन टिप्ने गरेको भए पनि अहिले पुरै बन्द भएको स्थानीय सुधा बोहराले बताए। उनले भने, “फोन र सडक भयो भने अरू हामीलाई केही चाहिँदैन।”

सीतापुलमा बस्छ एसएसबी 
सीमा क्षेत्र सीतापुलमा भारतीय एसएसबीको टोली तैनाथ छ। त्यससँगै अलि परको बस्ती गव्र्याङमा भारतको इन्डियन तिब्बत बोर्डर पुलिस फोर्स र एसएसबीको दुई टोली बस्छ। अलि पर रहेको छायाँलेकमा भारतीय सेना नै तैनाथ छ।

आज सीमा क्षेत्रमा भारतीय सेना, एसएसबीको टोली र उनीहरुका गाडी तथा अन्य गाडीहरु निर्बाध रुपमा हिँडिरहेका थिए। भारतको हेलिकप्टले दिनमै पाँच, सात पटक गस्ती गर्ने गरेको छ भने लिपुलेक क्षेत्रमा आवश्यक भौतिक निर्माणका लागि डोजर, स्काभेटरलगायतका सामग्रीसमेत ओसारपसार गर्दै आएको छ। तर नेपालतर्फ गतिविधि भने शून्य छ। महाकाली नदी किनारै किनार लिपुलेकसम्मै भारतले सडक बनाइसकेको छ। रासस

चर्चामा

सम्बन्धित समाचार