शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका सबै अस्पतालमा ओपिडी सेवा पुनः सुचारु

सुदूरपश्चिमका सबै अस्पतालमा ओपिडी सेवा पुनः सुचारु

  • मङ्लबार, बैशाख ३०, २०७७
सुदूरपश्चिमका सबै अस्पतालमा ओपिडी सेवा पुनः सुचारु

सुदूरपश्चिमका अस्पतालमा आजदेखि ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारु हुने भएको छ। लकडाउनसंगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालहरुले आजदेखि ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारु गर्ने भएका हुन्।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै अस्पतालहरुलाई ओपीडी सेवा सुचारु गर्न निर्देशन गरेपछि अस्पतालमा बन्द रहेका सेवाहरु सुचारु हुन लागेको हो।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले संघीय मन्त्रालय अन्तर्गत सञ्चालित, प्रदेश सरकार मातहत सञ्चालित, स्थानीय तह अन्तर्गत सञ्चालित स्वास्थ्य संस्था र अस्पताल तथा निजी र गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पतालहरुलाई आइतबार ओपीडी सेवा सञ्चालन गर्न लिखित निर्देशन गरेको थियो।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालले पनि कोरोना भाईरसको संक्रमणपछि बन्द रहेका बहिरंग (ओपिडी) सेवा आजदेखि सञ्चालन गर्ने जनाएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले कोरोना संक्रमणपछि बन्द रहेका सम्पूर्ण सेवाहरु आजदेखि सुचारु हुने बताए।

यसअघि सेती अस्पतालमा कोरोना भाईरसको महामारीलाई लिएर चैत ११ गतेदेखि ज्वरो र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो। उता डडेल्धुरा अस्पतालले पनि आजदेखि ओपिडी सेवा सुचारु गर्ने जनाएको छ।

डडेल्धुरा अस्पतालका मेसु डाक्टर जगदिश विष्टले आजदेखि ओपिडी लगायतका बन्द रहेका सेवाहरु सुचारु हुने दिनेश खवरलाई जानकारी दिए। महाकाली अस्पतालमा भने यसअघि नै ओपिडी सेवा सुचारु भईसकेको छ।

यस्तै प्रदेशमा रहेका विभिन्न जिल्ला अस्पतालहरुले पनि आजदेखि ओपिडी सेवा सुचारु गर्ने जानकारी दिएका छन्। जिल्ला अस्पताल बझाङले पनि ओपिडी सेवा पुनः सुचारु गरेको छ।

सुदूरपश्चिमका सबै संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका र नयाँ संक्रमितसमेत नदेखिएपछि अस्पतालले सेवा पुनः सञ्चालन गरेको जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए। उनका अनुसार ओपिडी मात्रै नभएर अस्पतालबाट प्रदान हुने नियमित सेवा सावधानी पु¥याएर सञ्चालन गरिएको छ। #दिनेश खवर

चर्चामा

सम्बन्धित समाचार