शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • बाँस्कोटाले भाँचेको ओलीको तुलो

बाँस्कोटाले भाँचेको ओलीको तुलो

  • मङ्लबार, फाल्गुन १३, २०७६
बाँस्कोटाले भाँचेको ओलीको तुलो

सत्तरी करोडको कमिसन डिलको अडियो सार्वजनिक भएपछि फागुन ८ मा पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले भोलिपल्ट बिहानै ट्वीटरमा महाशिवरात्रीको शुभकामना दिए। शुभकामना पोस्ट् हुनासाथ उनीमाथि यसरी गाली र आक्रोश बर्सियो, सम्भवतः उनले पनि अनुमान गरेका थिएनन्। उनलाई मेन्सन गरेर झन्डै एक हजारले कडा प्रतिक्रिया जनाएका छन्।

बाँस्कोटाले दिएको शुभकामना सामान्य छ। उनले नराम्रो लेखेका छैनन् तर केही अप्रिय र असभ्य शैलीमा पनि प्रहार भएको छ। प्रतिक्रिया पढ्दा व्यक्तिगत रूपमा उनलाई नमीठो पनि लाग्यो होला।

मन्त्री पदमा रहँदा बाँस्कोटाका बोली–व्यवहार निकै उत्ताउला र अस्वाभाविक थिए, उनले प्रदर्शन गरेको त्यही अहंकार, असभ्यता र असहष्णिुताका प्रतिक्रिया वा परिणामका रूपमा लिन सकिन्छ यसलाई। उनको बोली–व्यवहारबाट विरोधी मात्र होइन, आम नागरिक पनि कतिसम्म आजित र आक्रोशित रहेछन् भन्ने कुरा यसले देखाउँछ।

शुभकामना पोस्ट्मा बाँस्कोटामाथि भएको आम प्रहारले नागरिक कति सूचित र जागरुक छन् भन्ने पनि प्रमाण पनि दिएको छ। अहिले नागरिक स्मार्ट छन्। नागरिकलाई कसैले उल्लु वा भेंडा ठानेको छ भने त्यो भ्रम मात्र होइन, भयानक भूल हुनेछ। बाँस्कोटाका हकमा त्यो सावित भएको छ। नागरिकले सूक्ष्मरूपमा हरेक कुराको अवलोकन गरिरहेका हुन्छन्। पदमा रहँदा सार्वजनिक पात्रहरूले गरेका बद्मासी र हरेक बोली–व्यवहारका एकएक हिसाब नागरिकले राखेका हुन्छन्।

पदमा रहँदा बाँस्कोटाले कसैलाई टेरेनन्; मानेनन् र गनेनन्। हुँदाहुँदा उनले नागरिकलाई समेत हेप्ने कोसिस गरे। कतिसम्म मैमत्ता भए भने मानौं उनी कहिल्यै त्यो कुर्सीबाट ओर्लिनु पर्दैन। बेलाबेलामा प्रधामन्त्री केपी ओलीले दिएको धाप र स्याबासीले उनको खुट्टाले धरातल छाडिसकेको थियो। अन्ततः राजनीतिमा उनको अस्वाभाविक उदय र यात्रा दुर्घटनामा परेको छ।

सेक्युरिटी प्रेस खरिद प्रकरण ७० करोडको कमिसन अडियो सार्वजनिक भएपछि अहिले मुलुक त्यही प्रकरणले तरंगित छ। काठमाडौंको ‘एलिट क्लास’ देखि गाउँघरको ‘चिया गफ’ मा हटकेक भनेको छ बाँस्कोटाको कमिसन अडियो। नेकपाभित्रको आन्तरिक जीवनमा समेत यसले हलचलै ल्याइदिएको छ।

प्रधानमन्त्री केपी ओलीले विशेष रूपमा बचाउ र प्रशंसा गर्दै आएका सरकारका प्रभावशाली पात्रको बहिर्गमन र बद्नामीले समग्र सरकारको छविमाथि पनि धक्का लागेको छ। भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताका पक्षमा प्रधामन्त्रीले व्यक्त गर्दै आएका प्रतिबद्धतालाई नागरिकले पत्याउने आधार अब कमजोर भइसकेको छ। नागरिक स्तरबाट पनि सरकारको निष्ठा र नियतमाथि प्रश्नहरूको वर्षा भएको छ।

अडियो सार्वजनिक भएजस्तै कमिसन डिलको भएको हो कि होइन, कति आर्थिक चलखेल भयो, राज्यलाई कति नोक्सानी भयो ? यसको छानबिन र कारबाही सम्बन्धित निकायले भोलि गर्ला नै। तर त्योभन्दा डरलाग्दो पक्ष योसँग जोडिएको संगठित नियत हो। एउटा खरिद डिलमा ७० करोडको कमिसनको चक्कर हुन्छ भने अरू कति खरिद तथा कारोबारमा कुन हदसम्मको चलखेल हुन्छ ? अहिले आमस्तरबाट उठाइएको प्रश्न हो यो। अहिले एकजना मन्त्रीको कमिसन डिलको अडियो मात्र सार्वजनिक भयो। त्यो पनि सेटिङ र डिल नमिलेपछि बाहिर आएको हो। सेटिङ र डिल मिलेका कमिसन र घोटलाहरू अझै पनि रहस्यको गर्भमा छन् होला ? अब अनुसन्धानको जिम्मा लिएका निकायहरूले त्यतातिर खोतल्नुपर्ने र खन्नुपर्ने चुनौती छ।

अडियो प्रकरण सार्वजनिक भएपछि गोकुलले पदबाट राजीनामा दिएका छन्। छानबिनलाई सघाउन राजीनामा दिनु सकारात्मक नै हो। अहिले उनी छानबिनको घेरामा छन्। अख्तियार दुरुपयोग अनसुन्धान आयोगले पनि यसमा अध्ययन थालेको छ।

भोलिका दिन छानबिन गर्ने निकायले तथ्य प्रमाण पुगेन भनेर सफाइ देला वा चोख्याउला तर नागरिक कठघराबाट उम्किन सकस हुन्छ। नागरिक मनबाट एकपटक गिरेपछि कुनै शक्तिले चोख्याउन वा जोगाउन सक्दैन।
सबैतिरबाट गोकुलमाथि प्रहार भएको छ यतिबेला। तर यहाँ प्रश्न गोकुलको मात्र होइन। उनी एउटा पात्र वा माध्यम मात्र हुन्। उनको निजी चाहना र चलखेलले मात्र यस्तो योजना सम्भव हुन सक्दैन। उच्चस्तरको बलियो ब्याकअप र एउटा संगठित डिजाइनविना गोकुलले एक्लै यस्तो इच्छा र आँट पक्कै गरेका छैनन्। यो प्रकरणमा डरलाग्दो संस्थागत र संगठित संलग्नता हुन सक्ने आशंका गरिएको छ। नीतिगत निर्णयको आवरणमा केही सीमित पात्रहरू रातारात मालामाल हुने र राज्यलाई अर्बौं नोक्सानी पुर्‍याउने यस्तो खेलमा सम्बन्धित निकायले सघन अनुसन्धान गरेर तथ्य प्रमाण बाहिर ल्याउन आवश्यक छ। जसले गर्दा पाइपलाइनमा रहेका कैयन् कमिसन डिलहरू रोकिने छन् र गर्भमा रहेका घोटाला प्रकरण उत्खनन गर्ने ऊर्जा पनि प्राप्त हुनेछ। बाँस्कोटा राजनीतिका अनुभवी खेलाडी होइनन्। खासै राजनीतिक पृष्ठभूमि र योगदान नभएका उनी लो प्रोफाइलका पात्र थिए। उनीभन्दा योग्य र सक्षम अनि योगदान पनि भएका कयौं पात्र अहिले पनि नेकपाभित्र अवसरको पर्खाइमा छन्।

धेरैलाई पछाडि पार्दै गोकुल मन्‍त्री बन्‍न सफल भए। ओलीले महत्वपूर्ण जिम्मेवारीसहित एकैपटक विभागीय मन्‍त्री बनाएपछि उनी एकाएक सरकारकै प्रभावशाली पात्रका रूपमा उदाए। उनको दादागिरी देखेर बाहिर मात्र होइन, पार्टीभित्र पनि थुप्रै नेता–कार्यकर्ता दिक्क भएका थिए। उनका बोली–व्यवहारका कारण सरकार पटकपटक विवादमा पर्‍यो र नागरिक आलोचना पनि खेप्‍नुप‍र्‍यो। उनलाई हटाउन पार्टीभित्रैबाट पनि माग र दबाब नभएको होइन। तर ओलीले त्यो आवाजलाई कहिल्यै वास्ता गरेनन्।

संयोग नै भन्नुपर्छ– प्रधानमन्त्रीले सार्वजनिक समारोहमा गोकुलको उच्च प्रशंसा गरेको केही दिनमै यो प्रकरण बाहिर आएको छ। त्यसैले गोकुलमाथि बर्सिएको आक्रोशको छिटाले यतिबेला बालुवाटार पनि ओभानो रहन सकेन।

काभ्रेमा फागुन ६ गते आयोजित धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसको प्रमुख अतिथिका रूपमा आमन्त्रित प्रधानमन्त्रीले भनेका थिए– आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्कातिर अरू सबैजस्तो भएका छन्। ओलीले यसो भनेर गोकुलको प्रशंसा गरिरहँदा बाँस्कोटा मुस्कुराइरहेका थिए। तर प्रधानमन्त्रीले सार्वजनिक रूपमा दाबी गरेजस्तो राजनीतिक तुलोमा गोकुल केही दिन पनि टिक्न सकेनन् र उल्टो दुर्घटनामा परे। ओलीको राजनीतिक तुलो बाँस्कोटाले नै भाँचिदिए।बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ।

ओलीप्रति जुन आम आकर्षण र अपेक्षा थियो, यो प्रकरणले नराम्रो ठेस लागेको छ। आफूले पत्याएको, प्रशंसा गरेको निकटको सहयागीबाट यो हदसम्म बद्मासी हुँदा प्रधानमन्त्री बेखबर हुनुहुन्थ्यो कि मूकदर्शक बन्नुभयो ? अहिले सामाजिक सञ्जालमा यस्ता प्रश्न ओइरिएका छन्। यसको जवाफ प्रधानमन्त्रीले सिंगो मुलुकलाई दिनुपर्छ। गोकुलको व्यक्तिगत बद्नामीले मात्र यो प्रकरणको पटाक्षेप हुनेवाला छैन।

अडियो प्रकरणको छानबिन र कारबाही एउटा पक्ष हो। यो प्रकरणसँगै आमस्तरमा उर्लिएको आक्रोश र आलोचना महँगो सावित हुनेछ। यो बाँस्कोटाको व्यक्तिगत बद्नामी मात्र होइन; समग्र सरकारको चरित्र र संस्कार पनि उदांगिएको छ।

भोलिका दिन छानबिन गर्ने निकायले तथ्य प्रमाण पुगेन भनेर सफाइ देला वा चोख्याउला तर नागरिक कठघराबाट उम्किन सकस हुन्छ। नागरिक मनबाट एकपटक गिरेपछि कुनै शक्तिले चोख्याउन वा जोगाउन सक्दैन। सायद यतिबेला बाँस्कोटालाई हिजो प्रदर्शन गरेको अहंकार र असभ्यताप्रति पछुतो लागेको पनि होला तर अब धेरै ढिला भइसकेको छ। (साभार अन्नपूर्णपोष्ट)

चर्चामा

सम्बन्धित समाचार