शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाँस्कोटा प्रकरण : अडियो लिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उजुरी

बाँस्कोटा प्रकरण : अडियो लिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उजुरी

  • आइतवार, फाल्गुन ११, २०७६
बाँस्कोटा प्रकरण : अडियो लिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उजुरी

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दर्ता गरेको छ ।

समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।  समितिका सचिव डा.रोजनाथ पाण्डेले आइतबार उजुरी दर्ता गरिएको पुष्टि गरे ।

मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएका थिए । समितिको बैठकले ३ दिन अघि नै प्रहरीको साइबर क्राइम ब्यूरोको नाममा छानविन गरेर कारवाहीका लागि पत्राचार गरेको थियो । तर प्रहरीको त्यस किसिमको छुट्टै ब्यूरो नभएका कारण प्रहरी मुख्यालयमा आइतबार अर्को उजुरी दर्ता गरिएको हो । प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता गरेको पाण्डेले बताए ।

बिहीबार रातोपाटी डटकमले विजयप्रकाश मिश्रसँग गरेको कुराकानीका क्रममा उनले सो दिन अडियो सार्वजनिक नगरेको भए लेखा समितिबाट जर्मन कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सहमति हुने बताएका थिए । साथै लेखा समितिका मान्छेहरुको पनि मिलेमतो रहेको आरोप लगाएका थिए । सोही आधारमा लेखा समितिले मिश्रमाथि साइबर क्राइमको उजुरी हालेको हो । साभार राताेपाटि

चर्चामा

सम्बन्धित समाचार