शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • मान्छे किन झुटो नबोली बस्न सक्दैन ?

मान्छे किन झुटो नबोली बस्न सक्दैन ?

  • आइतवार, फाल्गुन ११, २०७६
मान्छे किन झुटो नबोली बस्न सक्दैन ?

बीबीसी । हामीले दिनमा कतिपटक झुटो बोल्छौँ र त्यस्तै झुट अरुले हामीसँग कत्तिको महसुस गरिरहेका हुन्छन् ? वास्तवमा दैनिक जीवनमा मान्छेले हामीले सोचेभन्दा धेरै झुटो बोल्ने गरेका छन् । हामी किन यस्तो गर्छौँ ? यसका पछाडि थुप्रै कारणहरु रहेको पल सिगर बताउँछन् जो ‘वुड आइ लाइ टु यु’ का लेखक हुन् । विशेषगरी मान्छेले व्यक्तिगत स्वार्थका, सजायँबाट पन्छिन, छल गर्न, रिवार्ड पाउनका लागि झुट बोलिरहेका हुन्छन् ।

उनका अनुसार ‘ह्वाइट लाइ’ अर्थात कसैको भावनालाई चोट नपुग्ने हानिरहित झुट वास्तवमा हाम्रो जीवनलाई सहज बनाउने माध्यम बनिसकेको छ । किनकी हामी हरेक समय साँचो मात्र बोलिरह्यौँ भने यो समाजमा धेरै समय टिक्नै सक्दैनौँ । त्यस्तै हामीसँग २४ घण्टा भन्दा लामो समयका लागि कुनै साथी हुँदैनथिए होला । यसबीच बेलायतको तथ्याङ्क हेर्दा त्यहाँका ६१ प्रतिशत पुरुष र ६० प्रतिशत महिलाले कसैको भावनालाई ठेस नपुर्याउने किसिमका झुट स्वीकार्य हुने बताएका छन् । त्यस्तै २५ प्रतिशत महिला र २२ प्रतिशत पुरुषले चाहिँ आफ्नो गलती लुकाउन बोलिने झुट पनि ठीकै रहेको बताएका हुन् ।

यसरी मान्छेहरुले कुनैपनि सम्भावित हानिबाट बच्न र प्रतिफल पाउनका लागि पनि अत्याधिक धेरै झुट बोलिरहेका हुन्छन् । जस्तै कि राम्रो जागिर पाउन आफ्नो सीभीमा झुट लेखिरहेका हुन सक्छन् । प्रायःले अरुलाई आफ्नो पक्षमा पार्न र प्रभावित गर्नका लागि एकदम धेरै झुट बोलिरहेका हुन्छन् । यसरी ३९ प्रतिशत पुरुष र ४० प्रतिशत महिलाको धारणामा कामबाट समय निकाल्नका लागि झुट बोल्नु स्वीकार्य हुनुपर्छ । यसमा १६ देखि ३४ वर्षका आधा भन्दा धेरै युवाहरुले सो प्रकारको झुटमा कुनै हानि नभएको बताएका हाुन् ।

त्यस्तै हामी किन ठुल्ठुला झुटहरु चाँडै विश्वास गर्छौँ भन्ने अर्को प्रश्न पनि आउँछ । युनिभर्सिटी अफ क्यालिफोर्नियाकी जर्ज लेकफका अनुसार हामी सामाजिक मेलमिलापकै लागि व्यक्तिगत विश्वासका आधारमा प्रमाणलाई भिन्दै तरिकाले व्याख्यागरि अरुसँग समान धारणा राख्ने निरन्तर प्रयास गरिरहेका हुन्छौँ । किनकी समाजको सोचभन्दा फरक कुरा गरेमा आफू बेवास्ता भइने वा अरुको विरोधको शिकार हुने डर हुन्छ । यसकारण पनि हाम्रो समाज एकै दिशामा अगाडि बढ्न सकिरहेको छ ।

त्यस्तै आफ्ना पत्नी , पति वा प्रेमीलाई भने भिन्दै किसिमले झुट बोलिने गरेको  अनुसन्धानबाट पत्ता लागेको छ । अध्ययनका अनुसार विवाहपछि हामीले आफ्नो पार्टनरसँग गर्ने १० मध्ये एउटा अन्र्तक्रिया झुट हुने गरेको छ । अझ पहिलोपटक चिनजान गर्ने क्रममा नयाँ मानिससँग बोल्दा त हामीबीच हुने कुराकानीमा आधा भन्दा धेरै सत्य नहुने गरेको पत्ता लागेको हो । यसरी मान्छेले सबैभन्दा धेरै ‘ह्वाइट लाइज’ अर्थात अर्काको चित्त नदुखाउन झुट बोल्ने गरेका छन् । जस्तै कसैले भर्खर खरिद गरेको लुगा वा आफूले कोरेको सबैभन्दा राम्रो चित्र देखाउँदै गर्दा हामीले केही नसोची सकारात्मक प्रतिक्रिया दिइरहेका हुन्छौँ ।

यसरी हामीले बाल्यकालमा झुट बोल्न सिक्दा ‘थेउरी अफ माइन्ड’ भन्ने मानसिकताको प्रयोग गरिरहेका हुन्छौँ । जसले हाम्रो उद्देश्य, अरुप्रतिको हाम्रो विश्वास र हाम्रो आफ्नो बुझाइलाई दर्शाउँछ । त्यसै क्रममा हामीले योजना बनाउने र आत्म नियन्त्रण जस्ता शीप पनि सिक्दै गइरहेका हुन्छौँ । जसले हामीलाई पत्यारिलो झुट बोल्न सिकाउँछ । युनिभर्सिटी अफ मेसेचुसेट्सका अनुसन्धानकर्ता रोबर्ट फेल्डम्यानका अनुसार हामीले यति धेरै झुट बोलिरहेका हुन्छौँ कि हामी आफैँलाई त्यसको गन्ति र गति थाहा हुँदैन । उनले गरेको सर्वेक्षणमा सहभागी मानिसहरुले पहिलोपटक भेट गर्दा प्रत्येक १० मिनेटको कुराकानीमा तीनपटक सम्म झुट बोलेका हुन् । यसमा उनीहरु पछि त्यो भिडियो नहेरेसम्म आफूले त्यति धेरै झुट बोलिरहेकाबारे आफैँ सचेत नरहेको पाइएको हो ।

यसबारेमा उनले भनेका छन्, “हामीले आफूले आफूलाई अत्यन्तै इमान्दार , सच्चा र विश्वसनीय मान्छे सोचिरहेका हुन्छौँ । यही कारणले पनि हामीले आफू कतिपटकसम्म झुट बोलिरहेका हुन्छौँ भन्ने ट्रयाक राख्न सक्दैनौँ । ”

आफ्नो बारेमा आफूलाई राम्रो महसुस गराउन लागि नै मान्छेले यस्तो गरिरहेको हुन्छ । तर कुनै कुनै समयमा झुट हाम्रो नियन्त्रण भन्दा बाहिर जान सक्छ । जस्तै कि हामीलाई कुनै सामाजिक अवस्थामा झुट बोल्नाले केही फरक पर्दैन जस्तो लाग्छ । कसैलाई आज तपाईँ राम्रो देखिनुभएको छ भन्नमा कुनै हानि छैन भन्ने सबैको मान्यता हुन्छ । तर हाम्रो त्यही झुट सोचेजस्तो हानिरहित नहुन पनि सक्छ ।

किनकी ससानो कुरामा पनि झुट बोल्न थाल्नुले हामीमा खराब बानी विकसित गराउन सक्छ । उदाहरणका लागि धेरै झुटहरु सानोबाट सुरु भएर पछि ठूलो बन्दै जान्छन् अनि नियन्त्रण भन्दा बाहिरको अवस्थामा पुग्छन् । त्यसैगरी झुट बोलिसकेपछि कतिपय मानिसहरुलाई नराम्रो पनि लाग्ने गरेको छ किनभने झुटलाई हामीले अनैतिक ठान्छौँ ।

तर पटकपटक त्यही अनुभूति भइरहनुले हाम्रो पछुतोको भावनालाई कम गर्दै लैजान्छ जसपछि हामी निश्चिन्त भएर जस्तोसुकै झुट बोल्न अफ्ठ्यारो मान्दैनौँ । त्यसैले कसैको सानो झुटलाई हामीले बेवास्ता गर्यौँ भने समयसँगै उनीहरु झन बेइमान बन्दै जाने सम्भावना बढी हुन्छ र ठूलो अपराधमा समेत संलग्न हुन सक्छन् । जस्तै बालबालिकाहरुले ससानो झुट बोल्दा उनीहरुलाई पहिले रोक्यौँ भने मात्र समयसँगै नकारात्मक प्रभावको जोखिम कम हुँदै जानेछ । बाह्रखरी बाट साभार

चर्चामा

सम्बन्धित समाचार