बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्टक
  • दुई महिनामा नौ करोडको आलु प्याज

दुई महिनामा नौ करोडको आलु प्याज

  • शुक्रबार, अशोज १७, २०७६
दुई महिनामा नौ करोडको आलु प्याज

वीरगञ्ज, असोज १७ गते । वीरगञ्ज भन्सार कार्यालय भएर आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महिनामा करिब साढे नौ करोडको आलु र प्याज भित्रिएको छ । भारतका विभिन्न सहरबाट वीरगञ्ज नाका भएर साउन र भदौ महिनामामात्र साढे नौ करोड रुपियाँको आलु र प्याज भित्रिएको हो । गत आर्थिक वर्ष २०७५/७६ को पहिलो दुई महिनामा सात करोड ३५ लाख २३ हजार ५८५ रुपिया मूल्य बराबरको आलु प्याज भित्रिएकोमा यस आर्थिक २०७६/७७ वर्षमा दुई करोड दुई लाख ९३ हजार रुपियाँले बढेर नौ करोड ३८ लाख १७ हजार ४०३ रुपियाँ बराबरको आलु प्याज भित्रिएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोका अनुसार आर्थिक वर्ष २०७६÷७७ को साउन र भदौ महिनामा तीन करोड चार लाख ८३ हजार ३७३ रुपिया बराबरको १३ लाख ९३ हजार ९०० किलो आलु वीरगञ्ज भन्सार नाका भएर भित्रिएको छ ।
त्यस्तैगरी आर्थिक वर्ष २०७६÷७७ को साउन र भदौ महिनामा छ करोड ३३ लाख ३४ हजार २९ रुपियाँ बराबरको २२ लाख १६ हजार ३५० किलो प्याज वीरगञ्ज भन्सार नाका भएर भित्रिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष २०७५÷७६ को साउन र भदौ महिनामा दुई करोड आठ लाख ३६ हजार ९८ रुपियाँ बराबरको नौ लाख ८४ हजार तीन सय किलो आलु र पाँच करोड २६ लाख ८७ हजार ४८७ रुपियाँ बराबरको १६ लाख ८५ हजार तीन सय किलो प्याज वीरगञ्ज भन्सार नाका भएर भित्रिएको थियो ।
यसरी एक वर्षकै अन्तरालमा आलु प्याज आयातमा दुई करोड दुई लाख ९३ हजार रुपियाँको आलु र पाँच लाख ३१ हजार ५० किलो प्याज बढी आयात हुनुले आलु प्याजमा देश परनिर्भरतातर्फ बढ्दैगएको देखिन्छ । बारा र पर्सा जिल्लामा आलु प्याज खेती राम्रो हुने गरे पनि व्यावसायिक तरकारी खेतीमा आलु र प्याजको पर्याप्त खेती नगरिँदा आवश्यक पर्ने आलु र प्याजका लागि भारतको नै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
भारतमा यस वर्ष बाढी र डुबानका कारण आलु एवं प्याजको राम्रो उत्पादन हुन नसकेकाले पछिल्लो समयमा यसको मूल्य आकासिएको व्यापारी बताउँछन् ।
वीरगञ्ज बजारमा आलु ५० देखि ६० रुपियाँ र प्याज १२० देखि १३० रुपियाँमा खुद्रा दरमा बिक्री भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार