बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • फिचर
  • ‘कर्णाली नदीको स्रोत राक्षस ताल होइन’

‘कर्णाली नदीको स्रोत राक्षस ताल होइन’

  • सोमवार, चैत्र ११, २०७५
‘कर्णाली नदीको स्रोत राक्षस ताल होइन’

कर्णालीको शिर (कैलाश) देखि पुछार (गंगा) सम्म यात्रा गर्दा एक हजार ८० किलोमिटर दुरी पार गर्नुपर्छ। यो यात्रामा तीन देश पुगिन्छ – चीनको तिब्बत, भारतका सीमावर्ती प्रान्त उत्तरप्रदेश र विहार, र नेपाल।

फोटोग्राफर नवीन बराल, वातावरण पत्रकार रमेश भुषाल, केही वैज्ञानिक, माछा विज्ञ लगायत ११ जनाको टोलीले ४४ दिन लगाएर कर्णाली यात्रा गरेका थिए। त्यही यात्राको कोसेली कर्णालीका फोटालाई बराल र भुषालले ‘द कर्णाली’ शीर्षकमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन गरेका छन्।

प्रदर्शनीको सुरूमै कर्णालीको नक्सा छ। त्यसपछि कर्णालीको शिर कैलाशबाट पुछारसम्मका क्रमबद्ध तस्बिरहरू।

फोटोग्राफर बरालले हामीलाई यही तस्बिर माध्यमबाट कर्णालीको शिरदेखि पुछारसम्मको यात्रा वर्णन गरे। उनका अनुसार कर्णालीको शिर कैलाशबाट सतलज, इन्डस नदी, कर्णाली र ब्रह्मपुत्र निस्किन्छ। कर्णालीलाई तिब्बतमा ‘माप्चा खम्बाब’ भनिन्छ। डेढ महिनाको उनीहरूको यात्रा माप्चा चुंगु ‘स्प्रिङ’ भन्ने ठाउँबाट सुरु भएको हो।

‘एक्काइस दिन लगाएर हामी माथिल्लो कर्णाली जलविद्युत आयोजनाले बनाउने भनेको दैलेखस्थित डाब गाउँको ड्याम साइटसम्म हिडेर आयौं। नौ दिन भारतको बोर्डरसम्म राफ्टिङ गर्यौं। बाँकी दिन गाडीमा,’ उनले भने, ‘सबै बन्दोबस्त रिभर कन्जर्भेसन ट्रष्टले गरेको थियो। जसको मुख्य उद्देश्य कर्णालीलाई कसरी दिगो विकास गर्न सकिन्छ भन्ने अध्ययन गर्नु हो।’

कर्णालीको शिर मानिने कैलाशस्थित मानसरोवरछेउ राक्षस ताल छ। स्थानीयहरू राक्षस तालबाट कर्णाली नदी सुरू हुने भएकाले यस क्षेत्रको विकास र समृद्धि नभएको विश्वास गर्छन्।

बरालसँगैका वैज्ञानिक टोलीले यात्रा क्रममा नयाँ कुरा पुष्टि गरे।

‘उहाँहरूको अध्ययनअनुसार कर्णाली नदीको स्रोत राक्षस ताल होइन। बरु मयुरको मुखबाट निस्किएको बताइने माप्चा चुंगु (माप्चा खम्बाब) बाट यहाँ पानी आएको रहेछ,’ बरालले भने।

बरालका अनुसार कर्णाली हिमालभन्दा पुरानो हो। यसको पानीको स्रोत विभिन्न भए पनि धार्मिक आस्थामा माप्चा खम्बालाई नै मानिन्छ।

‘धेरैलाई कर्णाली नदीको उद्गम राक्षस ताल हो भन्ने रहेछ,’ पत्रकार रमेश भुषालले भने, ‘स्थानीयमा त विश्वास छँदै छ, केही लेखमा पनि यही लेखेको पाइयो। तर त्यो होइन। हेर्दा राक्षस तालदेखि नै आएको देखिए पनि त्यस्तो होइन।’

कैलाशबाट सुरु भएको कर्णाली गंगामा गएर मिसिन्छ। कति पानी अयोध्या पुग्छ, जसलाई सरेयू भनिन्छ।

विश्वकै उत्कृष्ट नदीहरूको सूचीमा पर्ने कर्णाली विकास क्रममा विगतमा अन्य नदीमा गरिएका गल्ती दोहोर्याउन नहुने बरालको सुझाव छ। दिगो रूपमा कर्णालीको विकास गर्न सके त्यहाँ सम्भावना र अवसर धेरै छन्।

फोटो यात्रामा हामी हिल्साको एउटा तस्बिरमा अडियौं। वातावरण पत्रकार रमेश भुषालले खिचेको यो फोटोमा बियरका बोतल नदी किनारभरि थुप्रिएका देखिन्छन्।

‘हिल्सामा पछिल्लो समय धेरै भारतीय पर्यटक ओहोरदोहोर गर्ने भएकाले फोहोर बढेको छ। सस्तोमा पाइने चिनियाँ बियरका बोतल धेरै फालिएको छन्,’ बरालले फोटो अर्थाए।

भौगोलिक रूपले विकट हुम्लामा तिब्बत क्षेत्रबाट सडकले जोडेको छ। यही कर्णालीबीच लालिबगर भन्ने ठाउँ छ। त्यहाँ पाइनका रूख धेरै पाइन्छन्। धेरैले त्यहाँको फोटो देखाउँदा ‘के यो स्विट्जरल्यान्डको फोटो हो?’ भन्ने गरेको उनले स्मरण गरे।

कर्णालीका फोटा हेर्दै गर्दा केही ‘पोट्रेट’ पनि छन्। मौलिक पोसाकमा सजिएका यी पोट्रेटले त्यहाँको जनजीवन झल्काउँछ। तीमध्ये एक बालक टुकीबत्तिछेउ बसेको फोटो नवीनले खिचेका छन्।

‘यो बालकलाई तुम्कोट भन्ने ठाउँमा भेटेको थिएँ। बत्ति नभएकाले दियो बालेर बसेको रहेछ,’ उनले भने, ‘त्यहीँछेउ खोला बगेको छ तर हाइड्रोपावर छैन। कर्णालीको नियति यस्तै छ।’

बरालका अनुसार कर्णालीको माथिल्लो भागमा शेर्पा, भोटेहरुको बस्ती छ। बीचमा खस, शाहीदेखि तल राजी र थारूको। विशेषगरी त्यहाँका राजीहरूको मुख्य पेसा माछा मारेर जीविकोपार्जन गर्नु हो। केही समययता भने खेतीपाती पनि गर्न थालेको उनले बताए।

कैलाली क्षेत्रमा ‘सोना’ समुदायले खोलाको बालुवाबाट सुनचाँदी निकालिरहेको फोटो पनि प्रदर्शनीमा छ।

हामी केही ‘वाइल्ड लाइफ’ दृश्य पनि देख्न सक्छौं। ती कुनै पोस्टरजस्तै लाग्छन्, जसलाई वर्णन गर्दै बराल भन्छन्, ‘कर्णाली आफैंमा एउटा सुन्दर पोस्टरजस्तै छ।’ त्यसलाई खिच्न त्यति सजिलो नभएको अनुभव सुनाए।

‘हामी प्रत्येक दिन यहाँ पुग्ने भनेर समय तालिका मिलाएर हिँडेका थियौं। त्यसैले प्वाइन्टमा पुग्नु जरुरी भएकाले साथीहरू हिँडिसकेका थिए। म भने श्रीनगर गाउँबाट देखिएको खोलासहितको दृश्यले मन्त्रमुग्ध भएँ। खिचौं-नखिचौं अलमलमा परेँ,’ उनले भने, ‘जेसुकै होस्, ढिलै पुगौंला भनेर खिचेँ। अहिले कर्णालीको सबैभन्दा राम्रो फोटो खिचेँ भन्ने लाग्छ।’

त्यसैगरी, हिमालसहितको तारामण्डलको तस्बिर खिच्न उनले चन्द्रमालाई राति अबेरसम्म कुर्नुपरेको रहेछ। प्रदर्शनीमा कर्णालीका परम्परागत बाली, वन्यजन्तु त्यहाँका अक्करे भीर, असहज बाटामा गरिएका यात्रा, सिमकोट एयरपोर्ट लगायतका फोटा पनि अटाएका छन्।

बराललाई कर्णालीको रेड रक क्यानन ‘वर्ल्ड क्यासल’ जस्तै लाग्छ। त्यसको उचित प्रचारप्रसार नभएको उनी बताउँछन्।

तस्बिरमा सुन्दर देखिने कर्णालीप्रति त्यहीँ बस्ने मानिसको धारणा भने कस्तो होला? बराल यात्रा क्रममा एक स्थानीयले भनेको झल्झल्ती सम्झन्छन्, ‘यो कर्णालीको केही मूल्य छैन सर। काशी भ्याइसक्नु छैन (काशी म जान सक्दिनँ)। मरेपछि मेरो लाश यहीँ जलाइन्छ। मेरो शरीरको रस भने कर्णालीले काशीसम्म पुर्याउछ। त्यसको लागि भने ठिकै छ।’ वातावरण पत्रकार भुषालको सात फोटा र बरालको ४३ फोटाले भने त्यहाँ मूल्य र महत्व झल्काउँछन्सेताेपाटीबाट साभार

चर्चामा

सम्बन्धित समाचार