बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पर्यटन
  • अनुदानका ‘स्काई ट्रक’ नेपाल आउँदै

अनुदानका ‘स्काई ट्रक’ नेपाल आउँदै

  • सोमवार, फाल्गुन २०, २०७५
अनुदानका ‘स्काई ट्रक’ नेपाल आउँदै

काठमाडौं : संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउन लागेको दुईवटा स्काई ट्रक (कार्गो विमान) सन् २०१९ को अन्त्यमा नेपाल आइपुग्ने भएको छ। अमेरिकाले डेढ दशकअघि नै नेपाली सेनालाई चारवटा स्काई ट्रक अनुदान दिने प्रतिबद्धता जनाएको थियो।

नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता दरबार हत्याकाण्डपछि अमेकिारले रोकेको थियो। डेढ दशक रोक्का गरेर अमेरिकाले नेपाललाई सैन्य सहायता पुनः उपलब्ध गराउन थालेको हो।

चारमध्ये दुईवटा स्काई ट्रक निर्माणका लागि पोल्यान्डस्थित कम्पनीसँग समझदारी गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कम्पनीसँग उक्त स्काई ट्रक तत्काल निर्माण गर्ने समझदारी गरेपछि नेपाल ल्याउने निश्चित भएको हो। पोल्यान्डस्थित कम्पनीसँग पेन्टागनले गरेको सम्झौताअनुसार आगामी डिसेम्बरभित्र उक्त जहाज नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ।

अमेरिकी रक्षा मन्त्रालयले नयाँ एम–२८ स्काई ट्रक निर्माणको सम्झौता पोलिस एयरक्राफ्ट उत्पादन कम्पनी पोल्स्की जाकेल्डी लोटनिक्ज कम्पनी (पिजेडएल) सँग गरेको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अमेरिकी डिफेन्स ब्लग म्यागेजिनले लखेको छ। उक्त सम्झौता गत शुक्रबार भएको हो।

दुई इन्जिन रहने ट्रक अत्याधुनिक कार्गो ट्रकले प्रतिकूल मौसम र विकट भौगोलिक क्षेत्रमा सहज रूपमा उडान भर्न सक्नेछ।

स्काई ट्रक निर्माणका लागि विदेशी सैन्य व्यापार (एमएमएस) सम्झौता भएको पनि समाचारमा जनाइएको छ। उक्त स्काई ट्रकको निर्माण कार्य सन् २०१९ को डिसेम्बरअघि नै पोल्यान्डको मिलिकमा पूरा हुनेछ। दुई इन्जिन रहने उक्त ट्रक अत्याधुनिक कार्गो ट्रकमध्येको हो। प्रतिकूल मौसम र विकट भौगोलिक क्षेत्रमा पनि ट्रकले सहज रूपमा उडान भर्न सक्नेछ।

सम्झौतामा पोल्यान्डबाट काठमाडौंसम्मको उडान कम्पनीले नै गर्ने उल्लेख छ। दुईवटा जहाज बनेपछि पोलिस कम्पनीले नेपाल ल्याइदिनेछ। कम्पनीले नेपाली सेनाका प्राविधिक र पाइलटलाई स्काई ट्रक सञ्चालन र प्राविधिक पक्षबारे प्रशिक्षण दिनेछ। एम–२८ सम्बन्धी जानकारी दिन र मर्मतसम्भारको प्रशिक्षण गर्न कम्पनीका प्राविधिक नेपाल आउनेछन्। आवश्यक परेमा नेपाली सेनाका अधिकृतलाई उतै बोलाउन सकिने कम्पनीले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालका अनुसार अमेरिकाले सन् २०१७ मा जतिसक्दो छिटो दुई स्काई ट्रक र बिस्तारै थप दुई स्काई ट्रक उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। २०१७ पछि नेपाली सैनिक नेतृत्वको भ्रमणमा अमेरिकाले यस विषयमा प्रतिबद्धता दोहो¥याउँदै आएको जानकारी ढकालले दिए। उनले भने, ‘पछिल्लो सहमतिबारे नेपाली सेना जानकारी छैन। स्काई ट्रक छिट्टै आएमा हामी खुसी हुनेछौं।’

हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै अमेरिका ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत चारवटा ‘फिक्स विङ’ स्काई ट्रक अनुदान सहायतास्वरूप उपलब्ध गराउन सहमत भएको थियो।

महाभूकम्पपछि अमेरिकाले नेपालको प्राकृतिक प्रकोपमा सघाउन आवश्यक रहेको भन्दै त्यसका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराउने निर्णय लिएको हो। सोही निर्णयभित्र चार स्काई ट्रक पनि परेको हो। अमेरिकाले दिन लागेको चारवटै स्काई ट्रकको अन्तर्राष्ट्रिय बजारमूल्य करिब चार अर्ब रुपैयाँ पर्नेछ। एउटा स्काई ट्रकको मूल्य ६ देखि ८ मिलियन अमेरिकी डलर पर्छ। पेन्टागन र कम्पनीबीच कति रकममा सम्झौता भएको निश्चित छैन। अमेरिकी दूतावासले यस विषयमा बुझेरमात्र जानकारी दिन सक्ने बताएको छ। अमेरिकाबाट आएका उच्च सैन्य अधिरकारी तथा सहकायकमन्त्रीले नेपाललाई सैन्य सहयोग निरन्तर रहने बताइरहेका छन्।

यसअघिका दुई प्रधानसेनापति राजेन्द्र क्षत्री र गौरवशमशेर राणाको अमेरिका भ्रमणका क्रममा रोक्का सैन्य सहायता पुनः आरम्भ हुने सहमति भएको थियो।

अमेरिकाले भूकम्पको समयमा गरेको सहयोग अतुलनीय रहेको नेपाली सेनाले जनाउँदै आएको छ। अन्य दुईपक्षीय सहयोगमा पनि अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत ५० अर्बभन्दा बढी रकम सहयोग गरेको छ। पूर्वाधार विकासका लागि उपलब्ध गराइएको उक्त सहयोगलाई अमेरिकाले इन्डो प्यासिफिक सहकार्यको संज्ञा दिएको छ।

चर्चामा

सम्बन्धित समाचार