• होमपेज
  • समाचार
  • संसद जिउँदो रहेको भन्दै ४ सांसदले गरे रिट दायर

संसद जिउँदो रहेको भन्दै ४ सांसदले गरे रिट दायर

  • मङ्लबार, पुस ७, २०७७
संसद जिउँदो रहेको भन्दै ४ सांसदले गरे रिट दायर

संसद विघटन असंवैधानिक भएकाले अझै संसद जिउँदो रहेको जिकिरसहित नेकपाका ४ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

नेकपाका प्रमुख सचेतक देव गुरूङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार रिट दायर गरेका सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। उनले नेकपाका सांसदको रिट तयार गरेका हुन्।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित ९० सांसदको नामबाट रिट दिने तयारी थियो। तर सबैको नागरिकता लगायतका आवश्यक डकुमेन्ट भेला गर्न गाह्रो भएकाले चार जनाले मात्र रिट दिएको सांसद पोखरेलले बताए।

उनका अनुसार रिटमा प्रतिनिधि सभा विघटनपछि विभिन्न दलहरूले निकाले विज्ञप्ति र संयुक्त छलफलपछि दलहरूले गरेका निर्णय पनि समावेश गरिएका छन्।

अधिवक्ता गोविन्द बन्दीका अनुसार ९० जनाले रिटमा समर्थन गरेर हस्ताक्षर गरेका छन्। रिटमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको भन्दै अझै संसद जीवित रहेको आदेश गर्न सर्वोच्चसमक्ष माग गरिएको छ।

‘मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको भनिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले प्रतिनिधि सभा जीवितै रहेको कुरा सर्वोच्चले भनिदिनुपर्‍यो भन्ने माग रिटमा छ,’ बन्दीले सेतोपाटीसँग भने।

यसअघि सोमबार नेकपा अध्यक्ष प्रचण्डले दुई सय बढी सांसदसहित आफूहरू सर्वोच्च अदालत जाने बताएका थिए। बानेश्वरमा प्रचण्ड-माधवकुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले प्रतिनिधि सभा जीवितै रहेको जानकारी सर्वोच्च अदालतलाई दिन आफूहरू त्यसरी जान लागेको बताएका थिए।

चर्चामा

सम्बन्धित समाचार