• होमपेज
  • समाज
  • कोरोनाले मृत्यु भएको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय

कोरोनाले मृत्यु भएको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय

  • बुधबार, भदौ १७, २०७७
कोरोनाले मृत्यु भएको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय

भैरहवा : घटना १ : रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय पुरुषको छतबाट लडेर घाइते भए। उपचारका लागि भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा ल्याइयो। उनको टाउकोमा रगत जमेको थियो। उपचार अघि भदौ ५ गते कोरोना संक्रमणको परिक्षण गरियो। ८ गते रिपोर्ट पोजिटिभ आयो। मेडिकल कलेजले खासै उपचार नगरी चार दिनपछि सरकारी कोभिड भिम अस्पतालमा रिफर गरिदियो। जबकी विरामी उपचार भिममा सम्भव नै थिएन। विरामीलाई आईसियू (सघन कक्ष) मा राखेर न्युरो चिकित्सकले उपचार गर्नुपर्ने थियो। तर, भीम अस्पतालमा न त आईसियू थियो न न्यूरो चिकित्सक नै। उपचारको अभावमा मेडिकल कलेज रेफर गरेको केही घण्टामै विरामीको मृत्यु भयो। उनको मृत्युलाई विना कुनै प्रमाण कोरोनाबाट मृत्यु भएको बताइयो।
घटना २ : रुपन्देहीको रोहिणी गाउँपालिका ३ का ५३ वर्षीय पुरुष मधुमेह, उच्च रक्तचापका विरामी थिए। रोहिणीको स्वास्थ्य शाखाका प्रमुख रामनिवास चौधरीका अनुसार उनीमा मधुमेहको मात्र ५ सय बढी मिलिग्राम पर डेसिलिटर पुगेपछि भदौ ६ गते उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गए। चिकित्सकहरुका अनुसार यो अवस्था समान्य होइन। यस अवस्थामा विरामीको मृत्यु वा कोमामा जाने सम्भावना हुन्छ। कोरोना परिक्षणका लागि उनले बुटवलमा स्वाब दिए। अस्पतालले काठमाडौं रिफर गर्‍यो। तर, भारतको लखनउ सहज हुने भन्दै सोही दिन सीमाबाट आफै हिडेर भारतमा प्रवेश गरे। सीमावर्ती भारतीय बजार नौतनवासम्म पुग्दा उनको मृत्यु भयो। ७ गते दाहसंस्कार गर्ने क्रममा उनको कोरोना परिक्षण रिपोर्ट पोजिटिभ आयो। तर, उनको मृत्युलाई पनि विना कुनै प्रमाण कोरोनाबाट मृत्यु भएको बताइयो।

घटना ३ : रुपन्देहीको बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषलाई भदौ १४ गते स्वास्थ्य समस्या उत्पन्न भयो। उनी बिहान साढे चार बजे लुम्बिनी प्रादेशिक अस्पतालमा आए। उपचार अघि उनी कोरोना परिक्षण गरियो। रिपोर्ट पोजिटिभ आएपछि बेडको अभावमा अस्पतालको ज्वरो क्लिनिकमै उनलाई राखियो। मुटुरोगको शाल्यक्रिया गरेका, मधुमेह, उच्च रक्तचाप लगायतका दिर्घरोगी रहेका उनलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने थियो। तर, कोभिड विशेष अस्पतालमा आईसियु बेडको अभावमा उनको उपचार हुन सकेन। र, दिउँसो १२ बजे उनको मृत्यु भयो। यी पुरुषको मृत्युलाई पनि विना कुनै प्रमाण कोरोनाबाट मृत्यु भएको घोषणा गरियो।

यी प्रतिनिधीमूलक उदाहरणहरु मात्र हुन्। कोरोना कारण मृत्यु भएको भनिएका व्यक्तिहरुको मध्ये यहाँ अधिकांशको उपचारको अभावमा मृत्यु भएको देखिएको छ। कोरोना पुष्टि भएका मृतकहरु कुनै न कुनै रोगबाट ग्रसित थिए। तर, उनीहरुको मृत्यु के कारणले भएको हो भन्ने सरकार समेत अनविज्ञ छ। कोरोना पुष्टि भएका मृतकहरुको घटनालाई सरकारले पनि कोरोनाबाट मृत्यु भएको भन्ने सूचना प्रवाह गर्दा कोरोनालाई समाजमा हाउगुजी बनाइएको छ। मृत्युको ठोस कारण प्रमाणित नहुदाँ जनमानसमा कोरोनाको त्रास बढ्दो छ। मुलुकमा हालसम्म एक जनाको पनि मृत्युको कारण पत्ता लागेको छैन। र, सरकार पत्ता लगाउन तर्फ केन्द्रित पनि नरहेको पाइएको छ। भदौ १६ गते दिउँसो सम्म रुपन्देहीमा कोरोना संक्रमण पुष्टि भएको मृतकको संख्या १० पुगेको छ।

हाल रोगले पीडित भएका व्यक्तिहरु संक्रमण त्रासका कारण पनि अस्पताल जान सकेका छैनन्। जसकारण समान्य स्वास्थ्य समस्या पनि जटिल हुदाँ मृत्यु हुने सम्भावना पनि बढेको छ।

रुपन्देहीका १० जना मृतकमा कोरोना संक्रमण पुष्टि भए पनि उनीहरु मृत्यु कोरोनाका कारण नै भएको भन्ने कुनै पनि ठोस प्रमाण छैन। कुनै व्यक्तिको मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम वा अन्य विधीको प्रयोग गर्नुपर्छ। शवको पोस्टमार्टम विना व्यक्तिको मृत्युको ठोस कारण पत्ता लगाउन सकिदैन। र, कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएका वा मृत्युपछि संक्रमण पुष्टि भएका व्यक्तिहरुको पोस्टमार्टम हुने गरेको छैन।

कोरोना पुष्टि भएका मृतकहरुको मृत्युको कारण पत्ता लगाउनका लागि मुलुकमा हालसम्म कुनै विधी नअपनाइएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारी बताउँछन्।

उनले कोरोना पुष्टि भएका व्यक्तिहरुको मृत्यु कोरोनाले मात्र नभई अन्य कारणले पनि भएको हुन सक्ने बताए।

उनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार अन्य कुनै रोगले मृत्यु भएको व्यक्तिमा कोरोना संक्रमण देखिएमा उक्त व्यक्तिको मृत्यु कोरोना संक्रमणले नै भएको मान्नुपर्ने र मृतकलाई कोरोनाकै कारण मृत्यु भएको सूचीमा समावेश गर्नुपर्ने हुन्छ।

डब्लुएचओको यो त्रासपूर्ण मापदण्ड अनुसार सरकार अघि बढ्दा जनमानस त्रास बढेको छ। र, त्रासका कारण पनि व्यक्तिको मृत्यु हुन सक्ने मनोविज्ञ चिकित्सकहरु बताउँछन्। हाल मनोविज्ञ चिकित्सकको क्लिनिकमा परामर्श लिन जानेहरु सर्वसाधरणहरुको ताँती छ।

कोरोना विषयमा अन्तराष्ट्रिय स्तरमा विभिन्न आरोप खेपिरहेको डब्लुएचओको मापदण्ड अनुसार सरकार अघि बढ्दा उसले आफ्नो नागरिकको मृत्युको कारण समेत पत्ता लगाउन सकेको छैन।

रुपन्देहीमा कोरोना पुष्टि भएका मृत्यु भएका व्यक्तिहरुको कोरोना संक्रमणकै कारण मृत्यु भएको भन्ने कुनै प्रमाण नरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाह बताउँछन्।

उनका अनुसार मृतक मध्ये दुई जना मृगौलाको गम्भिर विरामी, एक जना दुर्घटनामा परेको र अन्य ७ जना मधुमेह, उच्च रक्तचाप, मुटुरोग, लगायतका दिर्घ रोगबाट ग्रसित थिए।

‘मृतक सबै अन्य कुनै न कुनै दिर्घ रोगबाट ग्रसित थिए’ भेक्टर कन्ट्रोल निरिक्षक शाहले अन्नपूर्णसगँ भने, ‘तर, उनीहरु सबैको कोरोनाले नै मृत्यु भएको भन्ने ठोकुवा गर्न सकिदैन।’

कोरोना पुष्टि भई उपचारत अवस्थामा रहेका व्यक्तिहरु अन्य रोगबाट पनि ग्रसित छन् भने कोभिड अस्पतालमा उनीहरुको अन्य रोगको उपचार हुदैन। जसकारण उनीहरु अन्य रोगबाट ग्रसित हुदै जाने गरेका छन्। कोभिड अस्पतालहरुमा चिकित्सकहरु संक्रमितको अवस्था चिन्ताजनक नभएसम्म नजिक पर्दैनन्।

‘कोरोना पुष्टि भएका मृतकहरुको मृत्यु फरक फरक कारणले भएको हुन सक्छ , कोरोनाले नै मृत्यु भएको प्रमाण छैन’ मन्त्रालयका सह प्रवक्ता अधिकारीले अन्नपूर्णसगँ भने, ‘तर, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना पुष्टि भएका व्यक्तिहरुको अन्य कारणले मृत्यु भएपनि अहिले कोरोनाकै कारण मान्नुपर्ने हुन्छ।’

चर्चामा

सम्बन्धित समाचार