काठमाडौं : उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । नेपाल स्काउट, चिकित्सक संघ र हिसानको सहकार्यमा बस सञ्चालन गरिएको हो । पछिल्लो समय कोरोना संक्रमण को संख्या अत्याधिक बढेको र करिब २ सातादेखि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीका लागि अस्पताल आवतजावत गर्न निःशुल्क बस सेवा सुरु गरिएको हो ।
स्वास्थ्यकर्मीको यातायात सहजताका लागि निःशुल्क बससेवा सुरु गरिएको नेपाल स्काउटका राष्ट्रीय संयोजक तथा हिसानका महासचिब लोक बहादुर भण्डारीले जानकारी दिए । बस सञ्चालनका लागि स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग छलफल भएको थियो । ढकालले समेत अभियानको प्रशंसा गरेपछि अभियान अघि बढाइएको हो । अभियानमा नेपाल नेशनल अस्पताल कलङ्की, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्सको पनि सहकार्य छ । भण्डारीका अनुसार सोमबारदेखि बस सञ्चालन गरिएको हो । सेवा निःशुल्क हो ।
सवारी साधनका कारण स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीमा कुनै बाधा नपरोस भनेर निःशुल्क बससेवा सुरु गरिएको हो । सुरुमा ३ वटा बसले सेवा दिएका छन् । आवश्यकताका आधारमा बस थपिने भण्डारीले बताए ।
सबै बसहरुमा स्काउटका स्वयमसेवकहरू परिचालित भइरहेका छन् । बस बिहान ६:३० बजेदेखि ८ :३० बजेसम्म र साँझ ५ :३० बजेदेखि ७ :३० बजेसम्म संचालनमा आउनेछन् । यी बसहरुले अस्पताल क्षेत्रको रुटबाट सेवा सुरु गर्नेछन् । बाँसबारीबाट सुरु हुने बस टिचिङ, कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म पुग्नेछन् । यस्तै दोस्रो बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै पुनः बाँसबारीसम्म चल्नेछ । यसैगरी तेस्रो बसले बस चक्रपथ परिक्रमा गर्नेछ ।
बसबारे आवश्यक जानकारी लिनु परेमा वा केही समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत सम्बन्धित संस्थाहरुले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । यस किसिमको बस सेवाले स्वास्थ्यकर्मीले ठूलो राहतको अनुभव गरेको अभियानकर्मीले बताए।