राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री रेकर्ड गराएको राससले जनाएको छ । आज साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा पहिल्यै रेकर्ड गराएका थिए ।
गीतमा कर्ण दासको स्वर र छ । घिमिरेका नातिनीज्वाइँ डा प्रकाश भट्टराईले उक्त बोलको गीतको अडियो सबै सञ्चारमाध्यमलाई उपलब्ध गराएका छन् । डा भट्टराईले केही अनलाइनले आफ्नो मात्रै एकाधिकार र स्वामित्व जस्तो अर्थ लाग्ने गरी गीत सार्वजनिक गराएकामा आपत्ति प्रकट गरे ।
राष्ट्रकविको गीत :
“त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।
…
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।
…
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंँमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।
…
अमरापुरी सभामा आफैंँलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।”