शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • देश
  • डाेटिमा परीक्षणबिना घर पठाएका १४ जनामा कोरोना संक्रमण पुष्टि

डाेटिमा परीक्षणबिना घर पठाएका १४ जनामा कोरोना संक्रमण पुष्टि

  • बिहिबार, असार ४, २०७७
डाेटिमा परीक्षणबिना घर पठाएका १४ जनामा कोरोना संक्रमण पुष्टि
फाइल फाेटाे

डोटी : कोरोना संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर पीसीआर परीक्षणबिना नै घर पठाउने निर्णयको आलोचना भइरहेका बेला डोटीमा क्वारेन्टाइनबाट घर गएका १४ जनाको कोरोना रिपार्ट पोजिटिभ आएको छ । जिल्लाको शिखर नगरपालिका-३ मा रहेको क्वारेन्टाइनबाट घर फर्केको चार दिनपछि उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो ।
गत जेठ १२ गते भारतबाट आएर शिखर नगरपालिका-३ मा रहेको अमरज्योति आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका उनीहरू मध्येका २५ वर्षीय एकजना पुरूषको जेठ १९ गते आएको पीसीआर रिपोर्टमा पोजिटिभ देखाएको थियो ।

उनी डोटीका पहिलो कोरोना संक्रमित व्यक्ति समेत हुन् । उनलाई पोजिटिभ देखिएसँगै कन्ट्याक्ट ट्रेसिङ्गको आधारमासँगै क्वारेन्टाइनमा बसेका अन्य २९ जनाको जेठ २० गते स्वाब संकलन गरिएको थियो । उनीहरुको स्वाब संकलन गरेपनि रिपोर्ट नआउँदै घर पठाएको थियो।

उनीहरुलाई जेठ ३० गते घर पठाएको हो । उनको रिपोर्ट १४ दिनपछि अर्थात असार १ गते मात्र आएको हो । घर गएका उनीहरुमा कोरोना रिपोर्ट पोजिटिभ आएपछि गाउँमा त्रास फैलिएको छ । ‘कोरोना रिपोर्ट पोजिटिभ आएका उनीहरुले गाउँका सम्पूर्ण व्यक्तिसँग घुलमिल गरिसकेका छन्,’ स्थानीय नविन जोराले भने, ‘कामको सिजन छ । सबैले सँगै काम गरेका छौँ । यसले गर्दा हामीमा त्रास पैदा भएको छ ।’

क्वारेन्टाइनमा बसेका उनीहरुले जनप्रतिनिधिका कारण घर फर्किएको बताएका छन् । एकजना कोरोना रिपोर्ट पोजिटिभ आएका व्यक्तिले भने, ‘हामीले रिपोर्ट नआएर घर जाँदैनौं भनेका थियौं । तर, वडाअध्यक्ष प्रेम जोराले क्वारेन्टाइनमै बस्न दिएनन्, त्यसपछि बाध्य भएर घर आएको हुँ ।’

कोरोना पोजिटिभ आएका ती व्यक्ति भन्छन्, ‘वडा अध्यक्ष ज्यूले डोटीका पहिलो संक्रमित व्यक्तिसँगै भारतबाट आएका व्यक्ति घर गइसकेका छन् । त्यसैले तपाईहरू पनि घर जाँदा केही हुँदैन भन्दै पाठाए।’

वडा अध्यक्ष प्रेम जोराले सबैको सल्लाह अनुसार नै घर पठाएको बताए। ‘क्वारेन्टाइनमा बसेको १९ दिन पुगिसकेकाले सबैको सल्लाह अनुसार नै घर पठाएका हौं,’ अध्यक्ष जोराले भने ।

‘अब फेरि क्वारेन्टाइनमा बस्न भनेका छौं, उनीहरूले नमानेका कारण होम क्वारेन्टाइनमै बस्न लगाएका छौं ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले १९ दिन क्वारेन्टाइनमा बसेका व्यक्ति घर फर्किएपछि कोरोना रिपोर्ट पोजिटिभ आएको बताए  ।

‘रिपोर्ट ढिलो गरी आउँदा उनीहरु घर गएका छन् । उनीहरुलाई होम क्वारेन्टाइनमै बस्न सल्लाह दिइएको छ,’ उनले बिहीबार संक्रमितको कन्ट्याक्टमा आएका व्यक्तिको स्वाब संकलनका लागि स्वास्थ्यको टोली गाउँ जाने भएको छ।’ #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार