शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाचार
  • जुम कन्फ्रेन्समार्फत शिक्षा सम्बन्धी छलफल

जुम कन्फ्रेन्समार्फत शिक्षा सम्बन्धी छलफल

  • बिहिबार, बैशाख १८, २०७७
जुम कन्फ्रेन्समार्फत शिक्षा सम्बन्धी छलफल

 सुशीला रेग्मी — पाल्पा कोरोना भाइरस त्रासका बीच शिक्षाको लागि राष्ट्रिय अभियान पाल्पाको आयोजनामा बुधबार वर्तमान अवस्थामा शिक्षामा परेको प्रभाव र शिक्षामा सिर्जना भएको बर्तमान शुन्यता तोड्नका लागि गर्न सकिने सम्भाव्य उपायहरुको सम्बन्धमा प्रविधि (जुम कन्फे्रन्स) को प्रयोग गरी बैठक सम्पन्न भएको छ । बैठकले कोभिड–१९ को विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा पनि त्यसको असर परेकाले बालबालिकालाई शिक्षामा सहभागिता गराउनेतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने निष्कर्ष निकालेको छ ।

विद्यार्थीलाई पढ्ने वातावरण तयार पार्न सबैको दायित्व भएकाले यसमा आगामी दिनमा विद्यार्थीलाई घरमै पनि विभिन्न माध्यमबाट पढ्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिइएको छ । नतिजा प्रकाशन गर्ने, विद्यार्थीलाई पढ्ने वातावरण बनाउने, पाठ्यपुस्तकको उपलब्धता र विद्यार्थीलाई पढ्न हौसला दिने शिक्षकले विद्यार्थीलाई कुन माध्यमबाट सम्पर्कमा राख्ने र घरमा कार्य गर्ने वातावरण बनाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

रेडियो, टेलिभिजिन, अनलाईनबाट पनि पढाई भइरहेकाले त्यसतर्फ स्थानीय तहले पनि ध्यान दिनुपर्नेमा वैठकमा छलफल भएको छ । कतिपय प्रावि तहमा विद्यार्थी संख्या थोरै भएकाले सामाजिक दुरी कायम गरेर, मास्क प्रयोग गरेर पनि कक्षा संचालन गर्न सकिनेतर्फ ध्यान दिनुपर्ने बताउँदै कक्षाकोठामा बेन्च, डेस्क पनि दुरी कायम गर्नुपर्ने छलफल चलेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेशराज पौडेलले बतानुभयो । अभिभावकले पनि बालबालिकालाई पढ्ने वातावरण मिलाउनुपर्ने र अनलाइन कक्षा संचालनतर्फ पनि ध्यान दिनुपर्ने विषय प्रमुख पौडेल बताउनुहुन्छ ।

बैठकले विद्यालयका परीक्षाफल तत्काल निकाल्ने, भर्ना अभियान सुरु गर्ने, शिक्षकहरुलाई बालबालिका र तिनका अभिभावकसंग सम्पर्कमा रहन फोन सेवा उपलब्ध गराउनेतर्फ ध्यानाकर्षण गराएको छ । पुस्तक ढुवानी गर्न पहल गर्ने, घरमा बसेर गर्ने रचनात्मक क्रियाकलापहरु, वर्कबुक दिएर गर्ने कार्यहरु लगायतका उपायहरुको बारेमा छलफल गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

छलफलमा नेपाल शिक्षक संगठनका प्रदेश नेता विष्णुप्रसाद पोखरेल, नेपाल शिक्षक संघका अशोक घिमिरे, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष भरतप्रसाद न्यौपाने, शिक्षा पत्रकार एवं संचार मंचका अध्यक्ष माधव अर्यालले वर्तमान अवस्थामा भएका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सुझाव दिनुभएको छ ।

कार्यक्रममा रम्भा गाउँपालिका शिक्षा संयोज काशीराम बस्याल, एनसिई पाल्पाका सदस्य संस्थाका ओमकुमार श्रेष्ठ, सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देश चोपलाल गिरी, इन्द्रेणी समाज केन्द्रका रुद्र मश्रांगी, समाज उत्थान सहयोग केन्द्रका मेहरसिं थापा, रुम टु रिडका प्रकाश पाण्डे, पत्रकार सुशीला रेग्मी, राधाकृष्ण मा.वि.का प्रधानाध्यापक भेषबहादुर अधिकारी लगायतले भाग लिनुभएको थियो ।

कार्यक्रम अभियानका अध्यक्ष एवं बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेको अध्यक्षतामा चलेको बैठक बेस नेपालका कार्यक्रम संयोजक प्रकाश पाण्डेयले सुरुवात गर्नुभएको थियो । बैठकको सहजिकरण ओमकुमार श्रेष्ठले गर्नुभएको हो ।

चर्चामा

सम्बन्धित समाचार