• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • पाठ्यपुस्तक वितरणमा ढिलाइ हुने

पाठ्यपुस्तक वितरणमा ढिलाइ हुने

  • आइतवार, चैत्र २, २०७६
पाठ्यपुस्तक वितरणमा ढिलाइ हुने

कैलाश जाेशी / धनगढी : सुदूरपश्चिम प्रदेशमा ढिलो गरी पाठ्यपुस्तक बिक्री वितरण हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६, ७ र ८ का किताब छाप्न ढिलाइ गरेपछि ढिलो गरी किताब वितरण हुने भएको हो । अघिल्लो वर्ष चैत पहिलो हप्ता नै वितरण सुरु गरेको जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष चैत अन्तिम हप्तामा मात्र वितरण गर्ने जनाएको छ ।

कक्षा ६, ७ र ८ कक्षाका लागि सुदूरपश्चिममा ५४ हजार सेट किताब आवश्यक पर्नेमा एक पनि सेट छैनन् । अन्य किताब भएपनि कक्षा ६, ७ र ८ का कम्प्युटर, पेशा, र गणित किताब नहुँदा सेट नपुगेको हो ।

किताब बिक्री वितरण गर्ने व्यवसायी दर्ता भएपनि किताब सबै आइनपुग्दा ढिलो गरी बिक्री वितरण गरिने जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालयका प्रमुख भुविन्द्र बोहराले बताए । ‘केहि किताब पुगिसकेका छन्,’ बोहराले भने, ‘कक्षा ६, ७ र ८ कक्षाको नेपाली र अंग्रेजी बोहक किताब कलरमा छाप्ने भनेपछि धनगढी पुर्‍याउन ढिलाइ भएको हो ।’

सुदूरपश्चिम प्रदेशमा अंग्रेजी र नेपालीवाहेकका किताब कलरमा वितरण हुनेछन् । सुदूरपश्चिममा ९ र १० मा ५० हजार सेटको हाराहारीमा किताब आवश्यक पर्दछ । ९ र १० का ४० हजार सेट धनगढी गोदाममा रहेको केन्द्रले जानकारी दिएको छ । ५, ९ र १० कक्षाका लागि भएका अहिले किताबको पुरै सेट भए पनि अन्य कक्षाको सेट नहुँदा वितरण गर्नमा समस्या भएको केन्द्रका प्रमुख बोहराले बताए।

कक्षा ६, ७ र ८ कक्षाको समस्या सुदूरपश्चिममा मात्र नभएर देशभर नै भएको उनले जानकारी दिए । अघिल्लो वर्ष शैक्षिक सत्र सुरु नहुँदै दुई महिना अगाडि नै जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक बिक्री वितरणका लागि तयारी गरेको थियो । ‘अघिल्लो वर्ष जनक शिक्षा सामग्री केन्द्रको गोदाम भरिएर भाडामा लिएर किताब स्टेक राखेको हो, बोहराले भने, ‘यस वर्ष भएको किताबका पनि पुरै सेट आएका छैनन् । त्यसले गर्दा जेठ महिनासम्म सबै जिल्लामा पुर्‍याउन सकिन्छ होला ।’

उनले किताबको पुरै सेट आए पुगेपछि दुर्गमलाई प्राथमिकता दिएर वितरण सुरु गर्ने जानकारी दिए । धनगढीको गोदाम साँघुरो हुँदा थप समस्या हुने गरेको बोहराले बताए । शैक्षिक सत्र आउन एक महिना बाँकी रहेकाले अन्तिममा भए पनि पुरै सेट पुग्ने बोहराले विश्वास व्यक्त गरे । १ देखि ४ सम्मका किताब नीजिले बिक्री वितरण गर्ने जिम्मा दिएकाले केन्द्रसम्म कोहि पनि पुग्दैनन् ।

अन्नपूर्ण पाेष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार