प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताएका छन्।
शुक्रबार अपरान्ह विज्ञप्ति निकालेर उनले प्रधानमन्त्री ओलीलाई आजदेखि ठोस आहार खुवाउन सुरू गरिएको जानकारी दिएका हुन्।
‘आजदेखि उहाँलाई हिँड्डुल गराउन थालिएको छ,’ खड्गाले भनेका छन्, ‘ठोस आहार पनि दिन थालिएको छ। उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार भइरहेको छ।’
साथै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलालाई पनि ठोस आहार दिन थालिएको उनले बताए। संग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेको उनले बताए।
प्रधानमन्त्रीको आत्मबल मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडिको जस्तै रहेको र स्वास्थ्यमा पनि क्रमिक सुधार हुँदै आएको मिर्गौला प्रत्यारोपण सर्जन डाक्टर प्रेम ज्ञवालीले सेतोपाटीलाई बताए।
आजमात्रै प्रधानमन्त्रीसँग उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले फोनमा कुराकानी गरेका थिए। प्रधानमन्त्रीले निजी चिकित्सक दिब्यासिंह शाहको मोबाइलबाट रिमालसँग कुरा गरेका थिए।
प्रधानमन्त्री पत्नी राधिका शाक्यले भने खाना खुवाउने र आवश्यक परेको बेला भेट गरिरहेकी छन्।