हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर –४ जोमसोममा शनिबार राति एक घरमा आगोलागी हुदा करिव ७० लाख बरामरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । स्थानीय मनोज गोतामेको घर भाडामा लिई फेन्सी पसल संञ्चालन गरेकी स्थानीय सोममाया ल्वागुनको पसलमा गएराति १० बजे आगोलागी भएको प्रहरी निरीक्षक बिनोद सुवेदीले जानकारी दिए । फेन्सी पसलमा बिद्युत सट भई आगोलागी भएको हुनसक्ने प्रहरी निरीक्षक सुवेदीको अनुमान छ । आगोलागीबाट भुईतलाको फेन्सी पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घर भित्रका फर्निचर तथा लत्ताकपडा क्षति भएको प्रहरी निरीक्षक सुवेदीले नेपाल दुत अनलाईनलाई बताए । ढुङ्गा,माटो र काठले बनेको २ तले ४ कोठा भएको कच्ची घरमा क्षती भएको हो । उद्दार टोली समयमै उपस्थित भएकाले थप मानवीय क्षती हुन नपाएको प्रहरीले जनाएको छ ।घरमा आगोलागी पीडित सोममायासहित एक छोरा र एक छोरी थिए ।
यसअघि आगोलागी भएको खबर पाएपछि स्थानीयबासी तत्काल आगो निभाउन घटना स्थलमा पुगेको नेपाल बिद्यार्थी संघ मुस्ताङका अध्यक्ष असिम शेरचनले जानकारी दिए । नेपाली सेना ,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयीबासीको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा आएको उनले बताए । रातिको समय खाना खाई माथिल्लो तलामा सुत्ने क्रम भईतलाबाट आगोलागी भएको पीडित सोममाया ल्वागुनले प्रहरी समक्ष बताएकी छिन् । आगोलागी घटनाको क्षति विवरण संकलन गर्ने प्रहरीले जनाएको छ ।