• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिम प्रदेशभर भोली सार्वजनिक विदा नहुने

सुदूरपश्चिम प्रदेशभर भोली सार्वजनिक विदा नहुने

  • बुधबार, मंसिर २५, २०७६
सुदूरपश्चिम प्रदेशभर भोली सार्वजनिक विदा नहुने

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले भोली सार्वजनिक विदा नरहेको जनाएको छ। मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले दिनेश खबरसँग भोली प्रदेशमा सार्वजनिक विदा नरहेको बताए। उनले संघिय सरकारले धर्म, संस्कृति र भौगोलिक क्षेत्र अनुसार विदा दिईएको भएपनि प्रदेशभरी नभएको जनाए।

भोली परेको उधौली पर्व, धान्य पुर्णिमा र योमरीपुका अवसरमा विदा हुने नहुने भन्ने अन्यौलता रहेका बेला प्रदेश सरकारले विदा नरहेको जनाएको हो। यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले पनि भोली सार्वजनिक विदा नरहेको स्पष्ट पारेका छन्।

के हुन् उधौली,  धान्य पूर्णिमा र योमरी पूर्णिमा पर्व ?
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन भोली याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाईने भएको छ। तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने भोली संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन्।

किरातभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिन्छ।     किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन्।

बाली लगाउने बेलामा भने किरात जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ। भूमिपूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ।

ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ।  किरातहरूको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा किरात चाड विशेष रुपमा मनाइन्छ ।  लिम्बुहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किरातहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन्।

तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ। पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन्। पर्व मनाउन त्यहाँ भेला भएका किरातहरूले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ।

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरातले उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्। जसलाई पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिइन्छ। उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला  लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वास समेत किरात जातिमा छ। पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किरातले मनाउँछन्।

धान्य पूर्णिमा
यस्तै मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन भोेली धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ। मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ।

यसअघि नवअन्नप्राशन नगरेकाले नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवी लगायत स्थानमा मेलासमेत लाग्दछ।
योमरी पूर्णिमा 
नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले भोली नै योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाईदैछ। योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ।

योमरी बनाउन  बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन्। नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन  छ। योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल समेत राखेर डल्लो बनाइन्छ।   नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्।

साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी  सगुन भनेर उपहार पठाउने चलन पनि छ।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार