
टेक बहादुर बुढा–बाजुरामा गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८९.१७ प्रतिशत बजेट खर्च भएको छ । जिल्लाका ९ वटा स्थानीय तह, १३ वटा संघीय कार्यालय तथा १० वटा प्रदेश सरकारअन्तर्गतका कार्यालयको खर्च विवरणअनुसार अधिकांश बजेट कार्यान्वयन भएर खर्च भएको हो।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाजुराका लेखापाल धनबहादुर थापाका अनुसार संघीय कार्यालय तथा स्थानीय तहको चालूतर्फ विनियोजित ४ अर्ब १७ करोड ८५ लाख ८० हजार रुपैयाँमध्ये ३ अर्ब ७२ करोड ६३ लाख २१ हजार ७२३ रुपैयाँ खर्च भएको छ । जुन कुल चालू बजेटको ८९ प्रतिशत हो। यस्तै, पुँजीगततर्फ विनियोजित ३५ करोड १६ लाख ६८ हजार रुपैयाँमध्ये २३ करोड ९२ लाख ५० हजार ५४२ रुपैयाँ खर्च भएको छ, जुन ६८ प्रतिशत हो ।
प्रदेश सरकारअन्तर्गतका कार्यालयको चालूतर्फ ७२ करोड ७७ लाख ९८ हजार ३८० रुपैयाँ बजेटमध्ये ५१ करोड ७६ लाख ४९ हजार ९२० रुपैयाँ खर्च भएको छ, जुन ७१ प्रतिशत हो । त्यस्तै, पुँजीगततर्फ विनियोजित ४८ करोड १२ लाख १२ हजार रुपैयाँमध्ये ३२ करोड १९ लाख ३१० रुपैयाँ खर्च भएको छ, जुन ६६ प्रतिशत रहेको कोलेनिकाले जनाएको छ।
गत आवको बजेट खर्च विवरण हेर्दा संघीय कार्यालय तथा स्थानीय तहको बजेट कार्यान्वयन प्रदेश सरकारअन्तर्गतका कार्यालयको तुलनामा प्रभावकारी देखिएको छ । संघीय तथा स्थानीय तहमा चालूतर्फ ८९ प्रतिशत बजेट खर्च हुँदा प्रदेशतर्फ ७१ प्रतिशत मात्रै खर्च भएको छ । पुँजीगत खर्चमा पनि संघीय तथा स्थानीय तह ६८ प्रतिशतसहित प्रदेशको ६६ प्रतिशतभन्दा केही अगाडि रहेका छन्। यद्यपि, दुवै तहमा विकास निर्माणसँग सम्बन्धित पुँजीगत बजेट खर्च चालू खर्चको तुलनामा उल्लेख्य रूपमा कम देखिएको तथ्यांकले देखाउँछ। विकास आयोजना समयमै सम्पन्न नहुनु, ठेक्का व्यवस्थापनमा देखिने समस्या तथा आर्थिक वर्षको अन्त्यतिर मात्रै खर्च गर्ने प्रवृत्तिले पुँजीगत खर्च प्रभावित हुने गरेको सरोकारवालाहरू बताउँछन् ।
४ करोड ४३ लाख बढी राजश्व संकलन
गत आर्थिक वर्ष २०८२/८३ मा बाजुराका सरकारी कार्यालय तथा ९ वटै स्थानीय तह (आन्तरिक राजश्व बाहेक) मार्फत ४ करोड ४३ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका अनुसार मालपोत, दर्ता दस्तुर, सेवा शुल्क, जरिवाना तथा अन्य विभिन्न शीर्षकबाट उक्त राजश्व संकलन भएको हो। अघिल्ला वर्षहरूको तुलनामा राजश्व संकलनमा सुधार देखिएको कार्यालयले जनाएको छ ।


