आइतवार, असार १४, २०८३
  • होमपेज
  • त्रिवेणी
  • बाजुरामा ‘द लास्ट माइल डिजिटल हेल्थ सम्मेलन २०२६’ काे आयाेजना

बाजुरामा ‘द लास्ट माइल डिजिटल हेल्थ सम्मेलन २०२६’ काे आयाेजना

दुर्गममा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने राष्ट्रिय अभियानको थालनी

  • आइतवार, असार १४, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा ‘द लास्ट माइल डिजिटल हेल्थ सम्मेलन २०२६’ काे आयाेजना

बाजुरा– दुर्गम भौगोलिक अवस्थाका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित हुन बाध्य नेपाली नागरिकलाई प्रविधिमार्फत गुणस्तरीय उपचारको पहुँचमा ल्याउने उद्देश्यसहित ‘द लास्ट माइल डिजिटल हेल्थ सम्मेलन २०२६’ बाजुरामा आयाेजना गरिएकाे छ। सम्मेलनले स्थानीय तहमा अभ्यास भइरहेको डिजिटल स्वास्थ्य सेवालाई राष्ट्रिय नीति, साझेदारी र दीर्घकालीन लगानीसँग जोड्ने लक्ष्य सहित सम्मेलनकाे आयाेजना गरिएकाे हाे ।

बडीमालिका, बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिकाको संयुक्त नेतृत्वमा आयोजित सम्मेलन स्वास्थ्य खबर फाउण्डेशनको सहकार्य तथा अष्ट्रेलियास्थित स्मार्ट हेल्थ ग्लोबलको मुख्य अगुवाइमा सञ्चालन भइरहेको हो। सम्मेलनमा बाजुरा, अछाम र दार्चुलाका स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नीति निर्माता, विकास साझेदार तथा विभिन्न सरोकारवालाको उल्लेख्य सहभागिता रहेको छ।

सम्मेलनको मुख्य उद्देश्य टेलिमेडिसिन, भिडियो परामर्श र मोबाइल प्रविधिको प्रयोगमार्फत दुर्गम तथा विपन्न समुदायलाई विशेषज्ञ चिकित्सकसँग जोड्नु हो। आयोजकका अनुसार डिजिटल स्वास्थ्य सेवा कुनै भविष्यको अवधारणा नभई अहिले नै प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको अभ्यास भएकाले त्यसलाई अझ व्यवस्थित, दिगो र विस्तारयोग्य बनाउने दिशामा सम्मेलन केन्द्रित छ।

सम्मेलनका संयोजक अमर खड्काले डिजिटल स्वास्थ्य सेवाले दुर्गम क्षेत्रमा उपचारको पहुँच विस्तार गरिरहेको उल्लेख गर्दै अब स्थानीय सरकार, स्वास्थ्य संस्था, विकास साझेदार र नीति निर्माताबीच साझा सहकार्य आवश्यक रहेको बताए। कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले प्रविधि अब विलासिताको विषय नभई नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको माध्यम बनिसकेको बताए। उनले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका लागि डिजिटल प्रणाली प्रभावकारी विकल्प बन्न सक्ने धारणा राखे।

स्मार्ट हेल्थ ग्लोबलका प्रमुख मनोज खड्काले आर्थिक अभाव, विकट भूगोल र विशेषज्ञ चिकित्सकको पहुँच नहुँदा उपचारबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न डिजिटल स्वास्थ्य सेवा महत्वपूर्ण माध्यम बन्न सक्ने बताए। उनका अनुसार टेलिफोन र भिडियोमार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श दिने सेवा हाल बाजुरासहित सुदूरपश्चिमका नौ जिल्ला र कर्णाली प्रदेशको एक जिल्लामा सञ्चालनमा छ।

बाजुराको चुथी स्वास्थ्य चौकीबाट पहिलो पटक सुरु गरिएको टेलिमेडिसिन सेवा अहिले धेरै बिरामीका लागि आशाको केन्द्र बनेको छ। पहिले सामान्य स्वास्थ्य परामर्शका लागि पनि दिनौँ यात्रा गर्नुपर्ने नागरिक अहिले स्थानीय स्वास्थ्य संस्थामै बसेर विशेषज्ञ चिकित्सकसँग परामर्श लिन थालेका छन्। यसबाट उपचारमा ढिलाइ कम हुनुका साथै समय र खर्च दुवै बचत भएको अनुभव सहभागीहरूले सुनाएका छन्।

आयोजकहरूको भनाइमा डिजिटल स्वास्थ्य सेवा केवल नयाँ प्रविधिको प्रयोग मात्र होइन, स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने सामाजिक अभियान पनि हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव विक्रम गुयाल, नेपाली कांग्रेसका उपसभापति पदम बडुवाल, नेकपा (एमाले)का उपाध्यक्ष जनककुमार बोहरा तथा नेकपाका जिल्ला संयोजक पुरबहादुर रावतले शुभकामना व्यक्त गर्दै अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाकी उपाध्यक्ष विन्दु रावलले नेपालमा डिजिटल स्वास्थ्य सेवाबारे लामो समयदेखि बहस भइरहे पनि बाजुराबाट सुरु भएको अभियानलाई परिणाममुखी बनाउनु आवश्यक रहेको बताइन्। उनका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा अस्पतालसम्म पुग्न सक्नेहरूको विशेषाधिकार मात्र नभई देशको अन्तिम गाउँमा बस्ने नागरिकको पनि समान अधिकार हो।

कार्यक्रममा स्वागत बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले गरेकी थिइन् भने सञ्चालन स्वास्थ्य खबर फाउण्डेशनका धनबहादुर खड्काले गरेका थिए। सम्मेलनमा नगरपालिका, प्रदेश सरकार तथा पीसविन, गिफ्ट, एचआरसी, महिला विकास मञ्चलगायत विभिन्न गैरसरकारी संस्थाको पनि सहकार्य रहेको छ।

‘द लास्ट माइल डिजिटल हेल्थ सम्मेलन २०२६’ तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरण बाजुरामा सम्पन्न भइरहेको छ भने दोस्रो चरण प्रदेशस्तरीय सम्मेलन धनगढीमा र अन्तिम राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गरिनेछ। सम्मेलनले स्थानीय अनुभव, प्रदेशस्तरीय स्वास्थ्य प्रणाली, राष्ट्रिय नीति, विकास साझेदार तथा लगानीकर्ताबीच साझा संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यस सम्मेलनका लागि स्मार्ट हेल्थ ग्लोबलको टोली अष्ट्रेलियाबाट नेपाल आएको छ भने **विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)**का प्रतिनिधिको समेत सहभागिता रहेको छ। दुर्गम बस्तीका नागरिकलाई गाउँमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु भएको यो अभियानले नेपालको स्वास्थ्य प्रणालीलाई थप समावेशी, पहुँचयोग्य र प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ। ‘द लास्ट माइल डिजिटल हेल्थ सम्मेलन २०२६’ केवल एउटा कार्यक्रम मात्र नभई नेपालको डिजिटल स्वास्थ्य रूपान्तरणको राष्ट्रिय अभियानका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार