
बाजुरा–बाजुराको लाम्पाटा क्षेत्रमा स्थानीय, जनप्रतिनिधि, प्रहरी र कर्मचारीमाथि भएको आक्रमण घटनामा संलग्न २१ जनालाई प्रहरीले अदालतबाट म्याद थप गरी नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ परेका व्यक्तिमध्ये २० जनालाई ९ दिन र एक जनालाई १० दिनको म्याद थप गरिएको हो।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै उनीहरूविरुद्ध शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप तथ्य संकलन, संलग्नताको स्तर र अन्य सम्भावित अभियुक्तहरूको खोजी कार्य पनि जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। यसअघि जेठ ३ र ५ गते हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थालीका स्थानीय बाजुराको हिमाली गाउँपालिका- ३ लाम्पाटा-च्याचौर पुगेर स्थानीयमाथि कुटपिट गर्दै बन्धक बनाउने काम गरेका थिए। उनीहरुको कुटपिटमा परेर लाम्पाटाका पाँच जना घाइते भएका थिए।
लाम्पाटा क्षेत्र बाजुरा सदरमुकाम मार्तडीबाट कम्तीमा तीन दिनको दूरीमा रहेको छ ।दुई जिल्ला बीच बाजुराको लाम्पाटामा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी स्थापना गर्न सुरु गरे पछि विवाद सुरु भएको थियो ।हुम्लाका बासिन्दाहरुले बाजुराका भोटे समुदायमाथि कुटपिट तथा दुर्व्यवहारसँगै गोठमा आगजनी गरेको विषय समेत बाहिरिएको थियो । त्यसपछि केन्द्रीय सुरक्षा समितिको बैठकले नै विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको केन्द्रीय संयुक्त सुरक्षा बेश स्थापना गर्ने निर्णय गरेको थियो। यस्तै जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्ल, कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहितको टोलीमाथि समेत आक्रमण भएको थियो ।
कुटपिटपछि स्थानीय दश परिवार हिमाली गाउँपालिकाको गुम्बास्थित आफन्तहरूको घरमा आश्रय लिएर बसेका थिए। सरकारले लाम्पाटामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस क्याम्प राखेपछि अहिले विस्थापित परिवार गाउँ फर्किन थालेका छन् ।


