शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा संयुक्त खोज तथा उद्धार कृतिम अभ्यास कार्यक्रम सम्पन्न

बाजुरामा संयुक्त खोज तथा उद्धार कृतिम अभ्यास कार्यक्रम सम्पन्न

  • शुक्रबार, असार ५, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा संयुक्त खोज तथा उद्धार कृतिम अभ्यास कार्यक्रम सम्पन्न

बाजुरा– विपद् व्यवस्थापन तथा आपत्कालीन अवस्थाहरूमा प्रभावकारी खोज तथा उद्धार कार्यलाई थप सुदृढ बनाउने उद्देश्यले बाजुरामा संयुक्त खोज तथा उद्धार प्रतिकार्य घटनाकाे कृतिम अभ्यास (सिमुलेसन) कार्यक्रम सम्पन्न गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षा निकायहरूको संयुक्त अभ्यास गरिएकाे हाे ।  कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षा निकायहरूको संयुक्त सहभागितामा  विपद्का बेला आवश्यक पर्ने उद्धार सीप, समन्वय, सञ्चार तथा प्रतिकार्य क्षमताको अभ्यासका लागि सिमुलेसन प्रदर्शन गरिएको थियो।

 कार्यक्रमका अध्यक्ष तथा  प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निरौलाले विपद् व्यवस्थापनमा सबै सुरक्षा निकायबीचको समन्वय र सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले यस्ता अभ्यासले वास्तविक विपद्को समयमा उद्धार कार्यलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने उल्लेख गरे। “नागरिकको सुरक्षा राज्यको प्रमुख दायित्व हो, त्यसका लागि सुरक्षा निकायहरू सदैव तयारी अवस्थामा रहनुपर्छ,” उनले भने।

प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले विपद् जोखिमका हिसाबले बाजुरा संवेदनशील जिल्ला भएकाले खोज तथा उद्धारसम्बन्धी यस्ता कार्यक्रम अत्यन्त उपयोगी रहेको बताए। उनले स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्यलाई अझ सशक्त बनाउँदै नागरिकको जीवन र सम्पत्तिको सुरक्षामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे।

स्वागत मन्तव्यका क्रममा प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराले विपद् व्यवस्थापनका लागि आवश्यक तयारी, समन्वय र दक्ष जनशक्तिको विकासमा यस्ता सिमुलेसन कार्यक्रम प्रभावकारी हुने बताइन्। उनले नागरिकको सुरक्षालाई केन्द्रमा राखेर सुरक्षा निकायहरू निरन्तर सक्रिय रहेको जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रमको स्वागत मन्तव्य प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराले राखेकी थिइन् भने सञ्चालन प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले गरेका थिए।

कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले संयुक्त खोज तथा उद्धार अभ्यासले विपद्का बेला अपनाउनुपर्ने प्रक्रियाबारे व्यावहारिक अनुभव प्राप्त भएको बताएका थिए। कार्यक्रमले सुरक्षा निकायहरूबीचको सहकार्य, समन्वय र प्रतिवद्धतालाई थप मजबुत बनाउँदै नागरिक सुरक्षाप्रति साझा जिम्मेवारीलाई उजागर गरेको आयोजकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार