बिहिबार, जेष्ठ २८, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कक्षा १२ को नतिजा १० असारभित्र सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा १० असारभित्र सार्वजनिक गर्ने तयारी

  • बिहिबार, जेष्ठ २८, २०८३
सेयर गर्नुहोस् :
कक्षा १२ को नतिजा १० असारभित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को नतिजा आगामी असार १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘उत्तरपुस्तिकाको सम्परीक्षण सकेर टेबुलेसनको काम भइरहेको छ । १० गतेभित्र नतिजा सार्वजनिक हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ । सोहीअनुसार कर्मचारीले काम गरिरहेका छन् । ‘४५ दिनभन्दा अगाडि नै नतिजा आउँछ,’ उनले भने । यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा २९ दिनमै सार्वजनिक गरिएको थियो ।

एसएसलीईको परीक्षा गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो । परीक्षाका लागि ४ लाख १८ हजार ८ परीक्षार्थीहरूले फारम भरेका थिए । नियमिततर्फ ३ लाख ३२ हजार १७८ (जसमध्ये छात्र १ लाख ७२ हजार १२ छात्रा १ लाख ६० हजार १३७ र अन्य २९) तथा आंशिकतर्फ ८५ हजार ८३० विद्यार्थी थिए । नेपालभर १४२० र जापानमा एकसमेत गरी कूल १४२१ परीक्षा केन्द्रबाट परीक्षा भएको थियो ।

एसएलसीई र एसईईमा के फरक छ ?

विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुन्छ । जसको सञ्चालन राष्ट्रिय परीक्षा बोर्डले गर्ने गरेको छ । धेरैलाई थाहा छैन विद्यालय तहको अन्तिम परीक्षाको नाम एसएएलसीई हो भनेर । तर शिक्षा ऐनको दफा २ (छ) मा परीक्षाको नाम स्पष्टरुपमा उल्लेख गरिएको छ ।

‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कुल लिभिङ सर्टिफिकेट एक्जामिनेसन) भन्नाले माध्यमिक शिक्षाको अन्त्यमा हुने परीक्षा सम्झनु पर्छ,’ उक्त दफामा भनिएको छ, जसलाई सर्टकटमा एसएलसीई भनिन्छ ।

२०७३ देखि कक्षा १० मा हुने अन्तिम परीक्षालाई माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) भनिँदै आएको छ । एसईई सुरु हुनुअघि भने कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिँदै आएको थियो ।

१९९० सालदेखि एसएलसी सुरु भएको थियो । तर २०७३ सालदेखि एसएलसी हटाएर एसईईको सुरुवात गरिएको हो । हालको शिक्षा ऐनले एसएलसीई र एसईई दुवै परीक्षा लिने व्यवस्था गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार