आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाज
  • कारागार फोडेर कैदीबन्दी भगाउने ६ जना पक्राउ

कारागार फोडेर कैदीबन्दी भगाउने ६ जना पक्राउ

  • बुधबार, अशोज १, २०८२
कारागार फोडेर कैदीबन्दी भगाउने ६ जना पक्राउ

म्याग्दीको बेनीमा रहेको जिल्ला कारागार तोडफोड गरी कैदीबन्दी भगाउने ६ जनालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा आएको फोटो भिडियो र सीसीटिभी क्यामेराको सहायताले उनीहरूलाई पहिचान गरेको हो ।प्रहरीले विज्ञप्ति जारी गरी घटनामा संलग्न पक्राउ परेको जानकारी दिएको हो ।

उनीहरूलाई कारागार ऐन २०१९ विपरीतको कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भदौ २५ गते बिहान साढे ७ बजे एक समूहले कारागारको मुलढोका फोडेर ६६ कैदीबन्दीलाई भगाएका थिए ।

कारागारमा ८८ जना कैदीबन्दी रहेकोमा पुरुष कैदीबन्दीहरु भागेका हुन् । पक्राउ पर्नेमा बेनी २ का २१ वर्षीय अर्जुन जिसी, सोही ठाउँमा २६ वर्षीय दिबहादुर सापकोटा, बेनी १ का २६ वर्षीय कृष्णबहादुर मगर छन् । यस्तै, बेनी १ कै २७ वर्षका सुनिल थापा मगर, ३१ वर्षका सुसन थापा मगर, र २१ वर्षका अभिषेक परियार पनि पक्राउ परेका छन् ।

सबैलाई म्याग्दी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको सूचना अधिकारी सागर पौडेलले जानकारी दिए । उनका अनुसार अरू फरारको खोजी भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार