
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो। मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ।
रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छः
१) प्रधानमन्त्रीको तत्काल राजीनामा,
२) निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन,
३) सर्वपक्षीय नागरिक सरकार गठन,
४) प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिने र दोषीमाथि कडा कारबाही,
५) संविधान संशोधनको प्रक्रिया आरम्भ।
रास्वपाले संघीय संसदले वैधता गुमाएको निष्कर्ष निकाल्दै आगामी राजनीतिक निकासका लागि अन्तरिम नागरिक सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ।

त्यसै गरि राप्रपाको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामाको तयारी थालेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिनका लागि उच्चस्तरीय परामर्श थालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले संविधानको औचित्य नै समाप्त भएकाले सांसद रहिरहन उचित नदेखिएकाले राजीनाको तयारी थालिएको बताए । सम्भवतः आजै राजीनामा हुने बताइएको छ।


