• होमपेज
  • समाचार
  • रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

  • मङ्लबार, पुस २, २०८१
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

पोखरा —सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

अदालतका स्रेस्तेदार राजन खनालले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेलाई थप ४ दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति दिएको जानकारी दिए।

लामिछानेसहित चारजनामाथि अनुसन्धान गर्न अदालतले यसअघि दिएको म्याद सकिएपछि उनीहरूलाई आज पुन:अदालत उपस्थित गराइएको थियो। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने,छविलाल जोशी,रामबहादुर खनाल र लिला पछाइलाई अदालत उपस्थित गराइएको हो।

कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेमाथि अनुसन्धान गरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। प्रहरीले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेसहित ५१ जनालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन बुझाएको हो।

उनीविरुद्ध प्रहरीले सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको हो। अब सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन गरेर मुद्दा दर्ता गर्ने कि नगर्ने भन्नेबारे निर्क्योल गर्नेछ।

सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पाँच जिल्लामा उजुरी परेको थियो। उनीविरुद्ध कास्की,काठमाडौं,चितवन,रुपन्देही र पर्सामा उजुरी परेको थियो। पाँचवटै जिल्लामा उनीसँग बयान लिइसकेको छ। बयान सकिसकेकाले प्रहरीले उनीविरुद्ध अनुसन्धानको प्रतिवेदन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाउँदैछ।

चर्चामा

सम्बन्धित समाचार