आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • क्रिकेट
  • सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले अन्तिम खेलअघि नै जित्यो सिरिज

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले अन्तिम खेलअघि नै जित्यो सिरिज

  • आइतवार, कार्तिक ४, २०८१
सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले अन्तिम खेलअघि नै जित्यो सिरिज

नेपालले अमेरिका विरूद्धको तीन खेलको टी-२० सिरिज अन्तिम खेलअघि नै जितेको छ। आइतबार विहान दोस्रो खेलमा अमेरिकालाई सुपर ‌ओभरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो। यसअघि नेपालले पहिलो टी-२० १७ रनले जितेको थियो। अब अन्तिम टी-२० भोलि बिहान हुनेछ। सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गरेको थियो। अमेरिकाका शायन जाहान्गिर र आन्द्रेस गस ब्याटिङमा थिए। बलिङमा नेपालका सोमपाल कामीले पहिलो दुई बलमा दुई रन मात्र दिँदा त्यसपछिका दुई बलमा शायन र आरोन जोन्सलाई आउट गरे। सुपर ओभरमा दुई विकेट गएपछि लक्ष्य पाउने नियमअनुसार नेपालले केवल ३ रनको लक्ष्य पाएको थियो।

जसमा नेपालका कुशल भुर्तेल र कप्तान रोहित पौडेल ब्याटिङ हुँदा अमेरिकाका सौरभ नेत्रभाल्कर बलिङमा थिए। पहिलो बलमा रोहितले एक रन लिए। दोस्रो बलमा कुशलले एक रन नै लिए। तेस्रो बलमा रोहितले रन लिएनन्। चौथो बलमा एक रन भए पछि नेपालले खेल जित्यो। त्यसअघि खेलमा स्कोर बराबरी भएको थियो। आइतबार अमेरिकाको टेक्सासस्थित डलासमा भएको खेलमा दुवै टोलीले समान स्कोर बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोड्यो। अमेरिकाका लागि आन्द्रेस गसले अर्धशतक प्रहार गरे। नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्समा आबद्ध भइसकेका उनले अन्तिम ओभरको दुई बल बाँकी छदा आउट हुनुअघि ६२ रन जोडे। उनले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

त्यसअघि नेपालले दोस्रो ओभरमै अमेरिकाका ओपनर तथा कप्तान मोनाक पटेललाई १ रनमा आउट गरेको थियो। उनलाई करण केसीले दोस्रो ओभरको करण केसीले बोल्ड गरेका थिए। अर्का ओपनर मुक्कामालाले भने ४७ रन जोडे। उनले ४१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। आरोन जोन्सलाई सोमपाल कामीले ७ रनमा एलबिडब्लूको धरापमा पारे।

१७औं ओभरको दोस्रो बलमा करण केसीले मिलिन्ड कुमारलाई १५ बलमा रिजन ढकालको हातबाट क्याच गराएका थिए। तर त्यसपछिका चार बलमा अमेरिकाले करण केसीविरुद्ध अमेरिकाले १२ रन जोड्यो। अमेरिकाका जहानगिरले अन्तिम दुई बलमा चौका र छक्का प्रहार गरेका थिए। तर उनी अर्को ओभरको अन्तिम बलमा सागर ढकालको बलमा दीपेन्द्रसिंह ऐरीबाट १४ रनमा क्याच भए। उनले ६ बलमा १ चौका र १ छक्काको मद्दतमा १४ रन जोडे।

१९औं ओभरको तेस्रो बलमा करण केसीले हर्मित सिंहलाई २ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए। अन्तिम ओभसमा अमेरिकालाई जितका लागि ७ रन चाहिएको थियो। बलिङमा नेपालका सोमपाल कामी थिए। जसमा तीन रन चाहिएको अवस्थामा अमेरिका आन्द्रेस गस चौथो बलमा आउट भए। त्यसपछि अन्तिम दुई बलमा अमेरिकालाई दुई रन चाहियो। पाँचौ बलमा अली खानले एक रन लिदा अन्तिम बलमा दुई रन चाहिएको थियो। जसमा दुई रन लिने क्रममा जस्दिप सिंह रनआउट भए।

बलिङमा नेपालका करण केसीले ३ विकेट र सोमपाल कामीले २ विकेट लिए। त्यसअघि नेपालले कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन जोड्यो। अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ९२ रन जोडे। उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे।

नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोड्दा अर्का ओपनर आसिफ शेख एक रनमै आउट भएका थिए। गुल्सन झाले १२ बलमा १९ रन बनाए। कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट भए। दिपेन्द्र सिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के। करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए। बलिङमा अमेरिकाका जस्दीप सिंह र केन्जिगेले दुई दुई विकेट लिए।

चर्चामा

सम्बन्धित समाचार