• होमपेज
  • समाचार
  • मनसुनी रेखा नेपाल नजिक, तीन दर्जन जिल्ला ‘रेड जोन’मा

मनसुनी रेखा नेपाल नजिक, तीन दर्जन जिल्ला ‘रेड जोन’मा

  • सोमवार, साउन २१, २०८१
मनसुनी रेखा नेपाल नजिक, तीन दर्जन जिल्ला ‘रेड जोन’मा

मंगलबार र बुधबार नेपालमा मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाट अति प्रभावित हुने सम्भावना रहेका तीन दर्जन जिल्लामा रेड अलर्ट जारी गरिएको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला रेड जोनमा परेका छन् । यसैगरी गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा जिल्ला पनि अति खतराको रेड जोनमा परेका छन् ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि रेड जोनमा राखिएको छ । मनसुन न्यून चापीय रेखा मंगलबारदेखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।

साउन २२ गतेदेखि २३ गतेसम्म सम्म भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन महाशाखाले भनेको छ । मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।

‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ बुलेटिनमा लेखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार