मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • भीमदत्त राजमार्गको अवरोध हटेन, भासिएको सडक मर्मत गर्न कठिन

भीमदत्त राजमार्गको अवरोध हटेन, भासिएको सडक मर्मत गर्न कठिन

  • मङ्लबार, साउन ३०, २०८०
भीमदत्त राजमार्गको अवरोध हटेन, भासिएको सडक मर्मत गर्न कठिन

एक सातादेखि अवरुद्ध भीमदत्त राजमार्ग अझै नियमित सञ्चालनमा आउन सकेको छैन। शनिबारदेखि एकतर्फी यातायात चले पनि बेलाबेला अवरुद्ध भइरहेको छ। निरन्तर वर्षा भइरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सुचारु गर्न समस्या भइरहेको हो। कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा रुख ढलेर राजमार्ग पुनः अवरुद्ध हुन पुगेको छ। सोमबार दिउँसो रुख ढलेर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको हो। प्रहरीका अनुसार हालै पहिरो गएको क्षेत्रभन्दा दुई सय मिटरको दुरीमा रुख ढलेर राजमार्ग अवरुद्ध हुन पुगेको छ।

एकतर्फी खुलेको बाटोमा बेलाबेला पहिरो खसेर अवरुद्ध भइरहेको छ भने पहिरो पन्छाउँदै रित्ता गाडी ओराल्ने प्रयास भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर हरि सुवेदीले बताए। सोमबार पनि पटकपटक अवरुद्ध हुने र खोल्ने क्रम जारी नै छ। वर्षा रोकिएर घाम लागेपछि मात्रै पूर्ण रूपमा यातायात सुचारु हुन सक्ने उनले बताए। बुढीतोलाको भावर क्षेत्रमा पहिरो जाँदा झन्डै चार सय मिटर सडक बिग्रेको छ। सय मिटर भासिएको र ठूलो पहिरो खसेकाले तत्काल यातायात सुचारु गर्न सकिने अवस्था नभएको सुवेदीले बताए।

ठूलो भीर भएकाले सानोतिनो प्रयासले पहिरो रोकिने सम्भावना नभएको सडक डिभिजन कार्यालयले बताएको छ। भासिएको सडक बनाउनै ठूलो खर्च र समय लाग्ने देखिएको छ। पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएको सुदूरपश्चिममा भीमदत्त राजमार्ग पहाडी जिल्लाको लाइफलाइन हो। सोहि सडक पनि लामो समयदेखि अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। तराईका यात्रुहरू तराईमै रोकिएका छन्। पहाडी जिल्ला डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङबाट तराईतिर झर्ने यात्रु प्रभावित छन्।
एक सातादेखि सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुका साथै मालसामान ढुवानीमा समेत समस्या भइरहेको हो। पहाडी क्षेत्रतर्फ खाद्यान्न तथा तराईतर्फ तरकारी ढुवानीमा समस्या भएको छ। पहिरो गएको क्षेत्रमा मजदुरलाई भारी बोकाएर तरकारी ढुवानी भइरहेको छ। प्रदेशका सात पहाडी जिल्ला जोड्ने वैकल्पिक मार्ग नहुँदा यातायात ठप्प भएको हो। कैलाली र कञ्चनपुरबाट पहाडी जिल्ला जोड्ने आधा दर्जन सडक निर्माणाधीन अवस्थामा छन्। महाकाली करिडोर, दैजी–जोगबुडा–बुडर, बंक–नाइल–बुडर, सेती लोकमार्गलगायतका सडक निर्माणले गति लिन सकेको छैन्। पहाडी जिल्ला जोड्ने सबैभन्दा छोटो मानिएको कञ्चनपुरको दैजी जोगबुढा बुडर सडकखण्ड निर्माण सुरु भएको दुई दशकसम्म काम सकिएको छैन। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार