पेसा तुलना गर्दा दुवै क्षेत्रका पेसाकर्मीबीच समानता छन्। वकिल भन्दा पनि कानुन व्यवसायी भनियो भने अझै बृहत् सुनिएला । किनभने यो शब्दले हामी न्यायाधीशहरुलाई पनि समेट्छ । यी दुवै क्षेत्रका पेसाकर्मीहरू तरबारभन्दा कलम शक्तिशाली हुन्छ भन्ने सिद्धान्तका कट्टर विश्वासी हुन्। दुवै पेसाका व्यवसायिक खतरा पनि साझा नै छन्। धेरै मानिसले दुवै पेसा मन पराउँदैनन्। तर दुवै पेसाकर्मीहरू आफ्नो पेसाले एक दिन वाहवाही पाउने र पेसामा बदलाव आउने आशामा कर्मप्रति तल्लीन छन् ।
पत्रकारहरूले आफ्ना पेसामा सामना गर्ने विषयबारे जिके चेस्टर्नको भनाइ म स्मरण गर्दछु। उनी भन्थे, “पत्रकारिता लर्ड जोन्सबारे थाहै नभएका व्यक्तिलाई समेत उनको मृत्युबारे जानकारी दिने पेसा हो।’
यसको अन्तर्य के हो भने पत्रकारहरू जटिल सुचनालाई सरल रूपमा पस्किन्छन्। विषयबारे अन्जान सर्वसाधरणलाई पनि त्यस विषयमा कौतुहल जगाइदिन्छन्। सूचनालाई सरल बनाउने बहानामा सत्यमाथि सम्झौता गरिनुहुँदैन। यो पेसाको संवेदनशीलता नै सत्यमा टिकेको छ र यसलाई जोगाउनु विश्वभर चुनौतीपूर्ण छ।
मिडियाले सिर्जना गर्ने बहस नै कुनै कार्य थालनीको पहिलो खुड्किलो हो। हरेक समाज आफूलाई पर्ने समस्याप्रति प्रतिरोधका लागि सुस्त हुन्छन्। पत्रकारितानै यस्तो पेसा हो जसले यस्ता जडत्वबाट समाजलाई बाहिर निकाल्छ।
सञ्चारमाध्यमले वर्तमान र इतिहासका घटनाक्रमलाई आकार दिन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
हालसालै मि टू अभियान चर्किंदा त्यसलाई सञ्चारमाध्यमले राम्रो स्थान दिएका थिए। अमेरिकाबाट सुरू भएको यो अभियानले विश्वलाई नै तरंगित बनायो।
भारतमा पनि ज्योति र निर्भयाको बलात्कारबारे मिडियाले समाचार प्रकाशन गरेपछि आन्दोलन चर्किएको थियो। त्यस आन्दोलनका कारण फौजदारी कानुनमा व्यापक सुधार भयो। अहिले पनि सञ्चारमाध्यममा प्रकाशित सामाचारका आधारमा संसदमा खरो सवाल जवाफ हुन्छ।
मिडिया राज्यको चौथो अंगमात्रै नभएर लोकतन्त्रको अभिन्न अंग हो। एक स्वस्थ लोकतान्त्रिक मुलुकमा सरकारलाई कठिन सवाल तेर्स्याउन वा भनौं शक्तिशाली सामु समेत निर्भीक रूपमा प्रश्न गर्न प्रेसको उपस्थिति अनिवार्य छ। प्रेसलाई यस्तो प्रश्न सोध्ने कर्मबाट रोक्ने मुलुकमा लोकतन्त्र फस्टाउँदैन। लोकतन्त्र कायम राख्दै बलियो बनाउने हो भने प्रेस स्वतन्त्र हुनैपर्छ।
भारतको सन्दर्भमा सामाजिक र राजनीतिक परिवर्तनमा अखबारको महत्वपूर्ण विरासत छ। स्वतन्त्रता संग्रामको समयमा सामाजिक सुधारक र राजनीतिक अभियन्ताहरूले अखबार चलाउँथे । जनतामा जागरण र चेतना फैलाउनु उनीहरूको उद्देश्य थियो।
उदाहरणका लागि डा अम्बेडकरले जनता, प्रबुद्ध भारत, मुकनायक जस्ता अखबारबाट बहिष्करणमा परेका समुदायका अधिकारबारे चेतना फैलाउथे।
स्वतन्त्रता संग्रामको समयमा प्रकाशित अखबारहरूले हामीलाई इतिहासबारे पनि प्रस्ट तस्वीर दिन्छन्। ती अखबारहरू अहिले इतिहासका गतिला ज्ञान सामग्री हुन्। स्वतन्त्रताका लागि आतुर आत्माहरू जगाउने काम तिनै अखबारले गरेका थिए।
भारत र धेरै राष्ट्रहरूमा पत्रकारहरूले निकै कठिन परिस्थितिमा काम गर्दै आएका छन्। जस्तोसुकै कठिन परिस्थितिमा पनि उनीहरूले प्रतिपक्षीको दरिलो कर्म निर्वाह गर्दछन्। पत्रकारिताको यो विशेष गुण कायमै रहनुपर्छ।
नागरिकका रूपमा सञ्चारमाध्यमले निकाल्ने निष्कर्षप्रति हामी सहमत हुनैपर्छ भन्ने जरूरी छैन। कतिपय सवालमा म स्वयंले प्रेसका निष्कर्षलाई स्वीकार गरेको छैन। तर यसको अर्थ म प्रेससँग असहमत हुँदैमा उसप्रति घृणा फैलाउनुपर्छ भन्ने होइन । घृणाले केवल हिंसालाई प्रोत्साहन गर्छ।
प्रेसको अधिकारबारे भारतको सर्वोच्च अदालतले धेरै फैसला गरेको जगजाहेर छ।
सर्वोच्चको एउटा फैसलामा भनिएको छ, ‘भारतमा स्वतन्त्रता त्यसबेलासम्म बलियो र सुरक्षित रहन्छ जुनबेलासम्म प्रेसले शक्तिसामु सत्य उजागर गर्दा धम्की वा दमनको सामना गर्नुपर्दैन।’
प्रारम्भिक चरणमा पत्रकारिता अखबारमा मात्रै केन्द्रित थियो।तर अहिले यसको आयाम विस्तार भएको छ। सन् १९८२ मा म अध्ययनका लागि अमेरिका उड्दै गर्दा भारतमा रंगीन टेलिभिजन सार्वजनिक भएको मलाई स्मरण छ। अहिले सामाजिक सञ्जालका माध्यमहरु पत्रकारिताका लागि महत्वपूर्ण पाटो बनेका छन्।
अब पेसाबारे सचेत रहेको कसैले पनि अनलाइन पोर्टल चलाउन सक्ने भयो। यो सुविधाले प्रेसको लोकतान्त्रिकरणमा सघाउ पुर्याएको छ । अहिलेका पाठकसँग पूर्ण विवरण पढ्ने धैर्य छैन। रिल, युट्युब क्लिप्सबाट सुचना प्रवाह भइरहेछन्। सामाजिक सञ्जालका कारण हाम्रो संवेदनशीलता वा धैर्य गुम्दैजाँदा सुचनाहरू पनि २८० क्यारेक्टरमा आउन थालिसके। तर यतिको भरमा खोजमुलक पत्रकारिता प्रतिस्थापन हुन सक्दैन भन्ने मेरो बुझाइ छ।
सामाजिक सञ्जालमा फैलिएका सुचनाबाट सत्य निकाल्न पनि पत्रकारहरूका निम्ति चुनौतीपूर्ण बन्दै आएको छ।
पत्रकारिताको सबैभन्दा महत्वपूर्ण पाटो सत्य उजागर गर्दै सद्भाव फैलाउनु पनि हो। स्थानीय र समुदायमा आधारित पत्रकारिताले सामाजिक सद्भाव र राजनीतिक सक्रियतालाई प्रोत्साहन गरिरहेका छन्।
नागरिकहरूलाई सूचित बनाउने मात्रै होइन नीतिगत तहमा बहस सिर्जना गर्नसक्ने तागत यी सञ्चारमाध्यमले राख्छन्।
मूलधारका सञ्चारमाध्यमले स्थान नदिएका वा वेवास्ता गरेका विषयलाई स्थानीय सञ्चारमाध्यमले सशक्त रूपमा उठाउन सक्छन्।
धेरै अध्ययनका अनुसार मूलधार मिडियाको संरचनाले सबै समुदायलाई समेटेको छैन। त्यसैले सीमान्तकृत समुदायका मुद्दा सशक्त बनाउन स्थानीय सञ्चारमाध्यम नै बढी प्रभावकारी हुन्छन्।
मिडियाले ध्यानै नदिएका वा वेवास्ता गरेका विषयलाई सशक्त ढंगले बाहिर ल्याउन सामाजिक सञ्जालले सहयोग गरिरहेका छन्।
मिडियाको सान्दर्भिकता कोभिडपछि झनै बढ्न गएको छ । सबै प्रकारका सञ्चार माध्यमले सरकारको लकडाउन नीति र कानुनबारे जनतालाई सूचित गराए।
कोभिडबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीबारे सूचित गराए। प्रशासनिक कमजोरीबारे सरकारलाई खबरदारी गरे । सञ्चारमाध्यमा आएका सूचनालाई आधार बनाउँदै सो मोटो प्रयोग गरेर अदालतहरूले मानवअधिकार रक्षाको पक्षमा फैसला गरे। (सार्वजनिक सरोकारका विषयमा कहीँ कतैबाट मुद्दा नपरे पनि अदालत स्वयम्ले चासाे देखाएर आदेशका लागि अग्रसरता लिनुलाई ‘सो मोटो’ सिद्धान्त भनिछ )
पत्रकारिताको अभिन्न पाटोका रूपमा मैले कार्टुनलाई लिने गर्छु। म निश्चित व्यक्ति वा पत्रकारलाई नभएर कार्टुनिस्टलाई पच्छ्याउँछु। मेरो मन पर्ने कार्टुनिस्ट थिए आरके लक्ष्मण। चित्रको सहायताले सशक्त सन्देश दिन उनी माहिर थिए। उनले सबैलाई पिरोल्थे। कोही उनको कार्टुनबाट अछुतो रहेन। आज कसको पालो होला भन्ने कौतुहल उनले सिर्जना गर्थे।
मेरो सबैभन्दा मनपर्ने पत्रकारचाहिँ नायक फिल्मका अनिल कपुर नै हुन्। यो चलचित्र नहेरेका कमै पत्रकार होलान्। र यहाँ उपस्थित युवा पत्रकारहरूमा म नायकका अनिल कपुरको जुनुन देख्छु।
केही वर्षयता कानुन विधामा आधारित पत्रकारिताप्रति रुचि बढेको देख्छु। यो विधा न्यायप्रणालीप्रति हामीलाई झकझक्याउने र कानुनबारे जनतालाई चेतना जगाउने विधा हो। तर यसमा सीमित न्यायाधीश र कानुन व्यवसायीको मात्र भनाइ राख्दा सूचना तोडमोड हुनसक्ने खतराबारे तपाईंहरू सचेत रहनुपर्छ।
न्यायाधीशका फैसला जटिल र पट्टयार लाग्दा हुन्छन्। त्यस्ता फैसलालाई सरलीकृत गर्दै सत्यता पस्किनु निकै संवेदनशील पाटो हो।फैसलामा त्रुटि हुँदा प्रश्न गर्ने र सही फैसला गर्दा प्रशंसा गर्ने सामर्थ्य पत्रकारितामा हुनुपर्छ।
हरेक पेसाले झैं पत्रकारिताले पनि धेरै चुनौती व्यहोरिरहेको छ। अफवाहपूर्ण समाचार वा सुचनाले प्रेसको निष्पक्षता र स्वतन्त्रताप्रति प्रश्न खडा भइरहेका छन्। अफवाहपूर्ण समाचार न्यायिक हुँदैनन्।
पत्रकारिताले आफ्नो पेसागत न्याय निर्वाह गर्नैपर्छ। अदालत र प्रेस दुवैले न्याय रक्षा गर्नैपर्छ। त्यसैले कुनै पनि सूचनालाई प्रमाणीकरण नगरी सम्प्रेषणका लागि हतारो गर्नुहुँदैन।
अफवाहपूर्ण सुचनाले धेरैलाई गलत कर्मतर्फ प्रोत्साहन गर्नसक्ने हुँदा यसमा प्रेस संवेदनशील हुनैपर्छ। प्रेस बलियो नभइकन लोकतन्त्र बलियो हुँदैन र अफवाहपूर्ण समाचारले प्रेसलाई कमजोर बनाउने हुनाले यसप्रति संवेदनशील रहनैपर्छ।
प्रेसलाई असर पार्ने अर्को पाटो भनेको मानव संशाधनको विविधता पनि हो। समाचार कक्ष जति विविध भयो त्यतिनै धेरै खारिएका विचार र सवाल प्रेसले पस्किन पाउँछ।
एउटै घटनाक्रमलाई बहुआयामिक रूपमा नियाल्दा वा विश्लेषण गर्दा त्यसको निष्कर्ष सशक्त हुनेगर्छ। तसर्थ मानव संशाधनको विविधता मिडियाको दीर्घकालीन हितका लागि अत्यावश्यक छ। कुनै वर्गलाई बहिष्कार गर्ने पेसाका पत्रकारिता हुन सक्दैन।
भन्नैपर्छ मिडिया परीक्षणले हाम्रो प्रणालीलाई विशेष प्रभाव पारेको छ। कानुनी रूपमा प्रमाणित नहुँदासम्म कुनै पनि अभियोग लागेको व्यक्ति निर्दोष नै हुन्छ भन्ने न्यायिक सिद्धान्त छ। तर भीडको आँखामा दोषी रहेको व्यक्तिलाई चोख्याउन खोजियो भन्ने कोणबाट हामीमाथि बारम्बार प्रश्न खडा गरिन्छ।
न्यायप्रणालीलाई त्रुटिरहित बनाउन तपाईंहरूको आलोचना स्वीकार्य छ। तर अदालतले भीडको इशारामा न्याय गर्दैन भन्ने हेक्का तपाईंहरूले राख्नुपर्दछ। मिडिया र न्यायिक स्वतन्त्रताको सम्बन्धका सवालमा म्याड्रिड सिद्धान्तले भन्छ, ‘मुद्दा चलिरहेको समयमा निर्दोषताको अनुमानलाई उल्लंघन नगरीकन नागरिकलाई मुद्दा र न्याय प्रशासनका कामबारे सुचना सम्प्रेषित गरिनुपर्छ।’
उत्तरदायी पत्रकारिता आजको आवश्यकता हो । लोकतन्त्र बलियो बनाउनका लागि बलियो प्रेस अनिवार्य सर्त हो।