नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सुदूरपश्चिममा नेकपा एमालेको सरकार ढाल्नको लागि आफूले नै नेपाली काँग्रेसलाई प्रस्ताव गरेको खुलासा गरेका छन् ।
शनिवार जन सांस्कृतिक महासङ्घको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुदूरपश्चिम सरकार ढाल्न मैले नै नेपाली काँग्रेस कुरा गरेको हुँ, अन्य दलसँग पनि हाम्रो कुरा भइरहेको छ ।’
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वास मत नपाएपछि सरकार ढलेको थियो ।
सोही दिन संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री नियुक्त भएसँगै शाहले नेपाली कांग्रेसबाट एक र नेकपा (एस) बाट एक जना गरेर दुई सदस्यीय मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
अहिले सुदूरपश्चिम सरकारमा नेपाली काँग्रेस र नेकपा एस मात्र सहभागी भएको छ । नवनियुक्त मुख्यमन्त्री शाहले पनि नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
अध्यक्ष नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिन थालिएको भन्दै अब अन्यत्र पनि सत्ताबाट हटाइने दाबी गरेका छन् ।