हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ।
सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै मंगलबार प्रदेश १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।
प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भूभागहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बुधबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको रहेको छ।